जोकोभिचले २५ ग्रान्डस्लाम जित्नेछन्



न्युयोर्क, (एजेन्सी) । 

टेनिसमा सबैभन्दा बढी ग्रान्डस्लाम उपाधि महिला खेलाडी मार्गारेट कोर्टले जितेकी छन् । अस्टे«लियाकी पूर्व खेलाडी कोर्टले कुल २४ ग्रान्डस्लाम उपाधि जितेकी हुन् । उनको यो कीर्तिमान तोड्न अमेरिकाकी सेरेना विलियम्स निकट छिन् । तर, उनको ढल्दै गरेको उमेरले गर्दा उनले कोर्टको कीर्तिमानी बराबरी समेत गर्न सकिरहेकी छैनन् । ३९ वर्षीया सेरेनाले २३ ग्रान्डस्लाम जितेकी छन् ।

अमेरिकाका लिजेन्ड टेनिस खेलाडी जोन म्याकन्रोले भने सर्बियाका नोभाक जोकोभिचले कोर्टको कीर्तिमान छिटै तोड्ने दाबी गरेका छन् । विश्व नम्बर एक खेलाडी जोकोभिचले गत आइतबार मात्रै करियरको २० औं ग्रान्डस्लाम जितेर मेन्स सिंगल्सतर्फ कीर्तिमान बराबरी गरेका थिए । मेन्स सिंगल्सतर्फ सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्नेमा स्विट्जरल्यान्डका रोजर फेडरर, जोकोभिच र स्पेनका राफाल नाडाल संयुक्तरूपमा पहिलो स्थानमा छन् । टेनिस जगतमा बीग थ्री उपनामले चर्चित यी तीनै दिग्गज खेलाडीले २०-२० ग्रान्डस्लाम जितेका छन् ।म्याकन्रोले यदि जोकोभिचले २५ ग्रान्डस्लाम जित्न नसकेमा यो ठूलो आश्चर्यको कुरा हुने बताए । करियरमा ७ ग्रान्डस्लाम जितेका उनले बीबीसी स्पोर्टलाई बताए–‘जोकोभिचले पहिले भन्दा राम्रो खेलिरहेका छन् । मलाई लाग्छ उनले चार वा पाँच भन्दा बढी उपाधि जित्नेछन् । यसको लागि उनको स्वास्थ्य र फिटनेसमा पनि भर पर्नेछ ।’

समग्रमा सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने सूचीमा जोकोभिचभन्दा माथि स्टेफी ग्राफ, सेरेना र कोर्ट रहेका छन् । जर्मनीका प्रख्यात महिला खेलाडी ग्राफले २२ ग्रान्डस्लाम उपाधि जितेकी छन् । १९९९ मा टेनिसबाट संन्यास लिएकी ग्राफले १९८८ मा ‘गोल्डेन स्लाम’ को उपलब्धि हासिल गरेकी थिइन् । एउटै क्यालेन्डरमा चार ग्रान्डस्लामसहित ओलम्पिकमा स्वर्ण पदक जितेमा गोल्डेन स्लाम हुन्छ । यसैक्रममा ग्राफले सो वर्ष चारवटै ग्रान्ड स्लाम जितेकी र साथै ओलम्पिकमा स्वर्ण पदक जितेपछि उक्त उपलब्धि हासिल गरिन् ।जोकोभिच पनि ग्राफको सो उपलब्धि नजिक छन् । यस वर्ष जोकोभिचले तीन वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् । उनले यदि आगामी यूएस ओपन र टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेमा गोल्डेन स्लामको उपलब्धि हासिल गर्न सफल हुनेछन् । तर, उनी टोकियोमा खेल्ने आधामात्र सम्भावना छ ।

सर्वाधिक ग्रान्डस्लाम जित्नेहरु
 मार्गारेट कोर्ट २४
 सेरेना विलियम्स २३
 स्टेफी ग्राफ २२
 नोभाक जोकोभिच २०
 रोजर फेडरर २०
 राफाल नाडाल २०

प्रतिक्रिया दिनुहोस्