गेलको टी–२० क्रिकेटमा कीर्तिमान



लन्डन, (एजेन्सी) । 

वेस्टइन्डिजका क्रिस गेलले क्रिकेट संसारमा अर्को एउटा कीर्तिमान कायम गरेका छन् । गेल टी–२० क्रिकेटमा १४ हजार रन बनाउने विश्वका पहिलो क्रिकेटर बन्दै एक कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । उनले यो कीर्तिमान आफ्नो अलग अन्दाजमा छक्का हानेर रचेका हुन् । उनले अष्ट्रिलियाविरुद्धको तेस्रो टी–२० खेलमा सो उपलब्धि हासिल गरे ।

वेस्ट इन्डिज र अष्ट्रिलियाबीच ५ टी–२० खेलको सिरिज भइरहेको छ । जसमा वेस्ट इन्डिजले तेस्रो खेलमा अष्ट्रिलियालाई ६ विकेटले हराएर सिरिज २ खेल खेल्न अगावै हासिल गरेको छ । खेलमा अष्ट्रिलियाले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले १४.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४२ रन जोडेर जित हासिल गरेको थियो ।गेलले ६७ रनको शानदार इनिङ खेलेका थिए । प्लेयर अफ द म्याच घोषित भएका उनले इनिङको नवौं ओभरको पहिलो बलमा छक्का लगाएर १४ हजार रन पूरा गरेका थिए । उनले लेग स्पिनर एडम जम्पाको बलमा छक्का लगाएका थिए । गेलले टी–२० मा ४ सय ३१ खेल खेलेर २२ शतकसहित १ हजार २८ छक्का प्रहार गरेका छन् ।

अहिलेसम्म टी–२० क्रिकेटमा १० हजारभन्दा बढी रन चार जना क्रिकेटरले बनाएका छन् । यसमा क्रिस गेल १४ हजार ३८ रन बनाएर पहिलो स्थानमा छन् । उनीपछि वेस्ट इन्डिजकै खेलाडी कीरोन पोलार्ड दोस्रो स्थानमा छन् । पोलार्डले १० हजार ८ सय ३६ रन बटुलेका छन् । पाकिस्तानका शोयब मालिक १० हजार ७ सय ४१ रनसहित तेस्रो तथा अस्टे«लियाका डेभिड वार्नर (१००७१ रन) चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्