कोभिड–१९ ले थला परेको नेपाली चलचित्र



रमेशकेशरी वैद्य ।

अहिलेको समय हाम्रो देशको दुर्भाग्य नै भौगोलिक वातावरण, दैवी प्रकोप, रोगको महामारी आदि हुन् । यही कारणले पनि नयाँ चलचित्रहरु थला परेका छन् । तैपनि तीन दशकदेखि अहिलेसम्मको नेपाली चलचित्र हेर्दा सय–पचासवटा नेपाली चलचित्र हिन्दी चलचित्रभन्दा राम्रा र रमाइला छन् । तर समयअनुसार प्रायः चलचित्रहरु अहिले हेर्दा ‘भेज फास्ट फुड’ खाएको अनुभव हुन्छ । यसका मुख्य कारणहरु पटकथा कमजोर, एक टेकमा लामो दृश्य, दुखियारी दृश्य, धेरै द्वन्द्व, धेरै गाउँको दृश्य तथा शिक्षाप्रद कुराहरु कम हुनु नै हो । तैपनि केही चलचित्रहरु भने हेरुन्जेल कहानी खास नभए पनि रमाइला नै छन् ।

अब भने चलचित्र निर्माण गर्नेहरुले यो सोच्न जरुरी छ कि चलचित्रलाई कसरी नौलो र रमाइलो बनाउने हो भन्ने कुरा । हुन त लगानीकर्ताहरुको चलचित्र बनाउने शैली आफ्नो मर्जी हो । किनकि चलचित्रमा उसले रकम खर्चेको हुन्छ । तर अरुको राय–सुझाव लिएर चलचित्र बनाउँदा चलचित्र झन् राम्रो हुनसक्छ । यसमा लगानीकर्ताहरुले अन्यथा सम्झनुहुँदैन । कारण नेपाली दर्शकहरुले नौलो चलचित्र हेर्न मन पराउँछन् । त्यसकारण चलचित्र बनाउनेहरुले प्रायः एकैनासको चलचित्र नबनाई विभिन्न प्रकारका जस्तै– एक्सन, कलियुगका नारीप्रद, रोजगार, कानुन, शिक्षा, स्वास्थ्य, राजमार्ग, केटाकेटी तथा कुसंस्कार आदिलाई समेटेर चलचित्र बनाउँदा राम्रो हुन्छ । यस प्रकारका कहानीलाई समेटेर केही निर्माता, निर्देशकहरुले चलचित्र बनाएका पनि छन्, जुन अपुग छन् ।

माथिका कुरा त छँदै छन् । ती बाहेक चलचित्रको पटकथाको छनोट नै राम्रो हुनुपर्दछ । यसको लागि चलचित्र लगानीकर्ताले सधैँ आफूले पटकथा नलेखी विज्ञापनमार्फत पटकथाको छनोट गर्नुपर्दछ । यसो गर्नाले चलचित्रमा नयाँ स्वाद हुन्छ । नेपाली चलचित्रको कुरा गर्दा चलचित्रलाई यदि सफल बनाउने हो भने चलचित्रका लागि राम्रा व्यक्तित्व भएका नायक–नायिका हुनु जरुरी छ । जसले गर्दा नामले नै चलचित्र सफल हुन जान्छ । यो सबैलाई थाहा भएको कुरा पनि हो । तैपनि चलचित्र बनाउनेहरुले बेवास्ता गरेको पाइन्छ ।

प्रायः नेपाली चलचित्रहरु स्लो मोसनमा गइराखेका हुन्छन् । यसलाई फास्ट मोसनमा कसरी लग्न सकिन्छ ? त्यसमा विचार पु¥याउनु आवश्यक छ । अहिलेको परिप्रेक्ष्यमा लगानीकर्ताहरुले लो बजेटमा चलचित्र बनाइराखेका हुन्छन् । यस्तो बजेटमा चलचित्र बनाउँदा चलचित्रको पटकथा नै राम्रो हुनु जरुरी छ, अन्यथा चलचित्र बनाउनुको अर्थ आउँदैन । त्यसकारण यस्तो अवस्थामा पनि पटकथा विज्ञापनमार्फत नै छान्नु जरुरी छ । अनि मात्र चलचित्रमा सफलता हासिल हुनसक्छ । साथै लगानीकर्ताले लागत बढाउनु जरुरी छ । जति बढी लागत हुन्छ त्यति उत्कृष्ट चलचित्र बनाउन सकिन्छ ।

अहिले हाम्रो मुलुकमा पनि चलचित्रका निकायहरु धेरै छन् । जस्तै– नेपाल निर्माता संघ, चलचित्र विकास बोर्ड, नेपाल चलचित्र संघ, नेपाल कलाकार संघ आदि । यी सब चलचित्र निकायहरुको समन्वयमा टेलिचलचित्रहरुको पनि विकास गर्दै लैजानुपर्छ । सामाजिक टेली सिरियलहरुको विकास हुनु पनि टेलिभिजन च्यानलहरुको उत्थान हुनु हो । साथै रोजगारको हिसाबले पनि राम्रो हुन आउँछ । तर यो क्षेत्रमा कोही अग्रसर भएको देखिँदैन । आफ्नोे लगानीअनुसार विज्ञापनबाट रकम नउठ्ने हुँदा प्रायः चलचित्र लगानीकर्ताहरु यो क्षेत्रमा आउन चाहँदैनन् । तर जहाँसम्म लाग्छ, अहिले समय बदलिएको छ । सबै पक्ष मिलेर यसको विकासमा अग्रसर हुन जरुरी छ । अन्यथा मानिसहरु टाइम पासका लागि ग्रामीण चलचित्र मात्र बनाउन बाध्य हुनुपर्ने हुन्छ ।

वास्तवमा भन्ने हो भने, हाम्रो सानो मुलुक भए पनि यहाँ पनि सयौं, हजारौं मात्रामा चलचित्र बनिसकेका छन् । एकपल्ट फेरि भन्नुपर्दा जुनसुकै चलचित्र प्रायः उस्तै लाग्छ, कारण दुखियारी दृश्य, ग्रामीण दृश्य, धेरै दौरा–सुरुवाल आदिलाई मात्र महत्व दिइराखेको हुन्छ । यो भन्दा महत्वपूर्ण कुरा मनोरञ्जन र शिक्षा नै हो । एउटा सत्य कुरा के छ भने, हाम्रो समाजमा सोझासाझा व्यक्ति धेरै भए पनि लड्डुलाल, भरौटेलाल, बाँकेलाल, छट्टुलाल, नटवरलालजस्ता मानिसहरु पनि धेरै छन् । जसले गर्दा राम्रो काम गर्ने व्यक्तिहरुको कदर छैन । खेलाडी हुन् वा नेता, सिनेकर्मी हुन् अथवा कुनै अन्य व्यक्ति नै किन हुन्, जतिसुकै राम्रो काम गरे पनि उनीहरुको कदर भएन भने उनीहरुमा हौसला मरेर जान्छ । ‘मर्ने बेलामा हरियो काँक्रो’ भनाइको मतलब जब यस्ता राम्रा व्यक्तिहरुको मृत्यु हुन्छ तब मात्र उनीहरुको गुनगान हुन थाल्छ । थाहा छैन यस्तो समाजलाई के भन्ने ?

अहिले कोभिड–१९ को मौसम छ । यसले गर्दा संसार नै महामारीले व्याप्त छ । यसले गर्दा हामी सोच्न बाध्य छौं कि प्रकृतिलाई अझै संसारमा मानिसहरुको रवैया मन परेको छैन, शायद यही कारणले होला हाम्रो देशमा पनि अनावश्यक धेरै नेता र कार्यकर्ताले गर्दा डामाडोल भइराखेको छ । यिनीहरुको मुख्य लक्ष्य नै देश बनाउनुभन्दा अकुत सम्पत्ति कमाउने हो । अब हामीले सोच्नुपर्ने कुरा, खाली हामी बचेर हिँड्ने हो । सकिन्छ भने अरुलाई बचाउने हो र सिकाउने हो । कोभिड–१९ को पनि एकदिन सिद्धिने समय पक्कै आउँछ । यसका लागि मानिसमा धैर्यधारण हुनु जरुरी छ ।

यसै गरी चलचित्रकर्मीले पनि समयलाई पर्खेर धैर्य गर्दै चलचित्र निर्माण गरी अघि बढ्नुपर्दछ । हाम्रो जस्तो मुलुकमा मनोरञ्जनका साथै शिक्षाप्रद चलचित्रले नै समाजलाई परिवर्तन गर्नेछ । अन्त्यमा एउटा कुरा के छ भने, चलचित्र निर्माताहरुलाई सिनेमा हलमा आफ्नो चलचित्र देखाउन पाइएला कि नपाइएला भन्ने चिन्ताले सताइराखेको हुन्छ । यसको उपाय धैर्य नै हो । यसबाहेक लगानीकर्ताहरुले दुई–तीन कुरामा गभ्मीर हुनु जरुरी छ । त्यो हो, सिनेकर्मीहरुको बलियो संगठन, पाइरेसी र सिनेकर्मी/कलाकारहरुलाई पारिश्रमिकमा उदार दिल । यति गर्दा चलचित्र बनाउन सजिलो हुनुका साथै सफलता हासिल गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्