चेस बोर्डभित्रका ‘छट्टु स्यालहरु’



बालकृष्ण मैनाली ।

छट्टु स्यालको कथा धेरैलाई थाहा छ तर केही युवाहरु यो कथाबारे अझैँ अञ्जान छन् । प्रायः ज्येष्ठ नागरिकहरुको तहमा पुगिसकेका व्यक्तिहरु जसले त्यति बेला कुनै पनि कारणबाट शिक्षा ग्रहण गर्ने अवसर पाए, त्यति बेलाका १० कक्षासम्म पढ्ने विद्यार्थीले अनिवार्यरुपमा अंग्रेजी र नेपालीमा छट्टु स्यालका कथा पढ्नुपथ्र्यो । त्यसमध्ये नेपालीमा दन्त्यकथा भन्ने किताब नै छुट्टै थियो । त्यो किताबमा थुप्रै कथा समावेश भएका थिए । त्यो दन्त्यकथाको किताबमा ‘राजकुमार दिक्पाल’ भन्नेदेखि लिएर ‘छट्टु स्याल’ सम्मका शीर्षकहरु समावेश भएका कथाहरु समावेश गरिएका थिए । अनि अंग्रेजीमा चाहिँ ‘ब्लु ज्याकल’ भन्ने शीर्षकको कथा पढ्नुपथ्र्यो ।

सम्भवतः पढ्न अल्छी गर्ने, पढाइमा ध्यान नजाने विद्यार्थीका लागि पनि नेपाली दन्त्यकथाको पुस्तक ज्यादै रोचक थियो । साँच्चै भन्ने हो भने, त्यो दन्त्यकथामा उल्लिखित सबै कथाहरु प्रायः सबैलाई कण्ठै आउँथ्यो । नेपाली, अंग्रेजी दुवै किताबहरुभित्र थियो छट्टु स्यालको कथा । नेपालीमा पढ्नुपर्ने कथाको सारचाँहि एकातिर गाँउलेहरुलाई चील आयो चील आयो भन्दै गाउँलेहरुलाई छक्याउँदै आकाशमाथि हेर्न लगाउने र गाउँलेहरुले आकाशमा हेरेको मौका पारेर गाउँलेको कुखुरा चोरी भाग्ने स्यालको धुत्र्याइँ छ भने अर्कोतिर त्यो सँगसँगै आकाशमा हेर्दा–हेर्दा आँखा टट्टाएपछि थकित भई गाउँलेहरुले भुइँतिर हेरेर जब आ–आफ्ना कुखुरा गन्न थाल्छन् कुनै न कुनै गाउँलेको कुखुरा घटिसकेको पत्ता लागेपछि आपूm मूर्ख बनेकोमा पश्चात्ताप गर्छन् ।

त्यस्तै खाले अंग्रेजीको ‘ब्लु ज्याकल’ अन्तर्गतको कथा पनि रमाइलै मानेर पढ्थे विद्यार्थीहरु । कुनै एउटा स्याल आहारा खोज्ने सिलसिलामा कतै जाँदा कुकुरद्वारा लखेटिन पुगेपछि लुक्नको लागि एउटा घरमा छिर्न पुग्छ । त्यहाँ नीर रंग भएको भाँडोमा डुबुल्की मार्न पुग्दा शिरदेखि पैतालासम्म निलाम्य हुन्छ । निलाम्य भएको कारणबाट जंगलमा छिर्दा आफ्ना वर्गलगायत अन्य जनावरहरुले विभिन्न शंका–उपशंका गर्ने भएकाले ऊ जुक्ति रच्छ । उसले आफूलाई भगवान्बाट आशिर्वाद अर्थात् वरदान प्राप्त भएकोले आफू यसरुपमा अवतरण भएको जनाउँदै जंगलमा भएका सबै जनावरहरुलाई सुख–शान्ति प्रदान गर्ने कुराको उद्घोष गर्छ । यसै क्रममा जंगलका राजा सिंहसमेतलाई छक्याउन ऊ सफल हुन्छ । छट्टु स्यालहरुसम्बन्धी कथाहरुको सार यही हो ।

हाम्रो देश दुई ठूला देशहरुको बीचमा अवस्थित छ । दुवै देशमा हुने सामान्य परिवर्तन तथा ती छिमेकी देशहरुबाट बेलाबेलामा लिइने नीतिहरुले हाम्रो देशमा ठूलो अर्थ राख्छ । ठूला छिमेकीहरु भएका साना देशहरुको विशेषता नै हो । यो विषय सत्ताधारीदेखि लिएर दलको अनावश्यक झोला बोक्नेसम्म र बौद्धिक जमातदेखि लिएर सामान्य जनजनसम्म विदित भएकै कुरा हो । यस मानेमा पनि यी दुई छिमेकी देशको नेपालप्रति आ–आफ्नो रणनीतिक स्वार्थ रहेको कुरा कतैबाट छिपेको छैन । नेपाल, भारत र चीन तीनवटै देशहरु मात्र होइनन्, नेपालमा भैरहेको दृश्य वा अदृश्य खाले हस्तक्षेपबारे विश्व परिचित छ । नेपाली भूमि छिमेकी देशहरुको लागि मात्र होइन, विश्वशक्ति देशहरुको लागि पनि बेलाबेलामा क्रीडास्थल बनेको खबर बजारमा छताछुल्ल भैरहेकै छ । विभिन्न समयदेखि वर्तमानसम्मका परिघटनाहरुले यो कुरालाई प्रमाणित गरिरहेका छन् । हाम्रो देश एउटा चेस बोर्डको रुपमा सदियौँदेखि रहँदै आएको कुरामा कतै विमति छैन । नेपाली चेस बोर्डमा खेल्न खेलाडीहरु नेपाली नै हुनुपर्ने हो । निर्वाचन परिणामले कोही हार्ला, कोही जित्ला, त्यो ठूलो समस्या होइन । समस्या अन्य देशको बहकाउमा आएर चेसमा परिकल्पना नै नगरिएको स्यालको प्रवेश र त्यसले मच्चाएको उधुम हो । दुई ठूला छिमेकी मुलुकहरुको आ–आफ्नो रणनीतिलगायत अन्य स्वार्थ बाझिनेबित्तिकै दुवै देशले नेपालको चेस बोर्डमा स्याल छिराइदिएर आ–आफ्नो चाल चाल्न थाल्नु समस्याको जड हो । दृश्य, अदृश्यरुपमा बारम्बार देखिइरहने यो समस्याको सार्थक सम्बोधन गर्न सक्ने नेतृत्व आजको दिनसम्म पनि नदेखिनु विडम्बना हुन पुगेको छ ।

हाम्रो देशको चेस बोर्डमा रहेको चौसठी कोठाहरुमध्ये प्रत्येक कोठामा छिमेकीहरुका आ–आफ्ना स्वार्थअनुरुप चल्नको निमित्त स्यालहरुको प्रवेश गराइएको बारेमा जुगौं साक्षी छ । चेसमा देखाइएका पात्रहरु पनि चेसको नियमअनुसार नचल्ने भएपछि स्याल छिर्नु र छिराइनु ठूलो कुरो भएन । प्रत्येक कोठामा थरी–थरीका स्यालहरुले विध्वंश मच्चाएको मच्चायै छन् । चेसका हरेक कोठामा सदैव नजर गाडेको गाड्यै छन् । थाहा पाएर पनि चेसका प्रमुख र त्यसका सदस्य एवं वर्गहरु त्यसलाई न्यूनीकरण गर्नतिर अझैँ दह्रोसँग लागिपरिरहेका छैनन् ।

देश वर्तमानमा बहुत उकुसमुकुसबाट गुज्रिँदै छ । एउटा पक्का कुरा के हो भने, नेपालरुपी चेसमा दुवै छिमेकी सशक्तरुपमा आ–आफ्नो चाल चाल्न रणनीतिक योजनामा अभ्यस्त छन् । यस्तो समयमा दुवै छिमेकी देशप्रति अपनाइनुपर्ने असलंग्नताको रणनीतिक योजना बनाएर सोअनुसार अगाडि बढ्नुपर्ने थियो । विकास तथा व्यापारदेखि लिएर विविध रणनीतिक हिसाबले उत्तरले दक्षिणलाई माथ गर्ने कि दक्षिणले उत्तरलाई माथ गर्ने भन्ने कुरामा दुवै पक्ष होसियारीपूर्वक हाम्रो चेस र्बोडमा गोटी चाल्ने जमर्काे गरिरहेका छन् । हामी पनि हाम्रो आफ्नो देशको चेस बोर्डमा अन्यलाई समावेश हुन नदिने र आफ्नो देशको चेस बोर्डमा कल्पना नगरिएको स्याललाई प्रवेश गर्नबाट रोक लगाउने विषयमा ध्यान केन्द्रित हुनुपर्ने थियो, जसमा हामी विगतदेखि असफल हुँदै आएका छौं ।

हुन त चेसको खेलमा स्यालको परिकल्पना गरिएको छैन । सम्भवतः स्यालहरु धुर्त हुने हुनाले यसको परिकल्पना नगरिएको होला भन्ने अनुमानचाहिँ गर्न सकिन्छ । अन्यथा हात्ती, उँट र घोडाको त्यो पनि एउटा मात्र होइन दुई–दुईवटाकै परिकल्पना गरिएको ठाउँमा एउटै भए पनि स्यालको परिकल्पना किन गरिएन ? सोधको विषय बन्न सक्छ । सम्भवतः देशको चेसमा बाहिरको स्यालभन्दा देशकै स्याललाई विभिन्न लोभलालचमार्फत अदृश्यरुपमा छिराउन सकियो भने जुनसुकै बेला आफ्नो नीतिअनुसार सम्बन्धित देशको राष्ट्रिय खेललाई नै भताभुंग पार्ने र आफ्नो नीतिलाई अनुशरण गराउने बाध्यात्मक स्थितिको सिर्जना गर्न सजिलो हुने विश्वासमा विभिन्न रंगका स्यालहरुको चेसमा प्रवेश गराउने गरिन्छ । चेसभित्र स्याल प्रवेश गरेपछि चेसका कुनै पनि गोटीहरुले आफ्नो सीमाभित्र रहेर खेलको नियमअनुसार अगाडि बढ्ने वा परिस्थितिअनुसार पछाडि फर्किने कार्य गर्न सक्दैनन् । उनीहरुको मार्ग सब लथालिंग पारिन्छ । अहिले देशमा देखिएको परिदृश्य र चेसमा स्याल छिरेपछि देखिन जाने परिदृश्यमा कतै अन्तर देखिँदैन । चेसमा छिरेको स्यालले कहिले कताको लाई जिल्याउने र कहिले कताको लाई जिल्याउने प्रयास गरिरहेका छन् । चेसका सक्कली गोटी अभैm अलमलमा छन् ।

अहिलेसम्म चेसको कोठामा खेलिरहेका स्वदेशी वा विदेशी छट्टु स्यालबारे सत्ताधारीहरुमध्ये कसैले मुख खोलेर भन्न सकेका थिएनन् । बरु जनजनले समय–समयमा सडकमा मुर्दावादको नारा लगाएर छट्टु स्यालहरुलाई खबरदारी गर्ने गर्थे । पछिल्लोपटक देशमा पहिलोपल्ट पदमा रहेका प्रधानमन्त्रीले नै देशको सर्वोच्च अदालतले हालै मन्त्री पद खुस्काएको विषयमा गरेको फैसलालाई लिएर धादिङ जिल्लामा स्याल कराएको बारे पत्रकारहरुका माझ नै अभिव्यक्ति दिए । तथापि प्रधानमन्त्रीको त्यो अभिव्यक्तिले जनजनचाहिँ कत्ति पनि आश्चर्यचकित भएनन् । किनकि जनजन के कुरामा विश्वस्त भैसकेका छन् भने, देशको चेस बोर्डमा छट्टु स्यालहरुको रजाइँ चलेको थुप्रै समय भैसकेको छ । समयअनुसार स्यालहरुको रुप परिवर्तन मात्र हो । स्यालहरु कहिले कुनरुपमा चेस बोर्डमा छिर्छन् त कहिले कुनरुपमा । कहिले निलाम्य भएर आउँछन् त कहिले राताम्य भएर आउँछन् । कहिले छिर्बिरेरुपमा पनि आउँछन् । जनजन यसबारेमा अभ्यस्त भैसकेका छन् ।

राजनीतिमा कहिलेकाहीँ सोझो मात्र होइन समय परिस्थितिअनुसार जनताको हितको लागि बांगो पनि हिँड्नुपर्छ भनेर चेसमा बांगोे हिँड्नकै निमित्त भए पनि घोडाको व्यवस्था गरिएको हो । बांगै हिँडे पनि चेसको नियमानुसार नै हिँड्नुपर्ने बाध्यता छ घोडालाई । सेतो कोष्ठमा रहेको घोडा बांगै हिँड्छु भनेर सेतै कोठामा प्रवेश गर्न पाउँदैन । सेतो कोठामा प्रवेश गर्न पहिला कालो कोठामा जानै पर्छ । त्यस्तै कालो कोठामा रहेको घोडा पनि बांगो हिँड्छु भन्दैमा उफ्रेर तत्काल कालै कोठामा जान मिल्दैन, कालो कोठामा जान पहिला सेतो कोठामा जानै पर्छ ।

विडम्बना ! हाम्रो देशको चेस बोर्डमा यस्ता यस्ता छट्टु स्यालहरुले रजाइँ गर्न पुगे, जसलाई न जनजनले चेस बोर्डभित्र आउन अनुमति दिएको थियो, न त कुनै पनि स्यालको परिकल्पना नै गरिएको थियो । तैपनि दृश्य, अदृश्यरुपमा छिरेर बत्तीस कोष्ठभित्र आ–आफ्ना स्थानमा रहेका सबै चेसका गोटीहरुलाई छिन्नभिन्न पार्न विभिन्न रंगका स्यालहरु सफल भएका छन् । रंगिबिरंगी स्यालहरुलाई न त प्याउसोले छेक्न सके, न त उँट, हात्ती, घोडाले नै छेक्न सके । उँट, हात्ती, घोडाले छेक्न नसकेको स्यालको धुत्र्याइँलाई देशमा आगो लाग्दा बाँसुरी बजाएर रमाउने मन्त्री र राजाले धुर्त र कपटी स्यालहरुलाई छेक्न सक्ने कुरै आएन ।

वर्तमानमा पनि रंगिबिरंगी धुर्त र छट्टु स्यालहरुको बिगबिगी जारी नै छ । चेसमा कल्पना गरिएका मन्त्री र राजा निःसहाय प्रतीत भैरहेका छन् । चेसले परिकल्पना गरेको मार्गबाट चेसका मन्त्री र राजा विचलित भैदिएका कारण अहिले आ–आफ्नो बाटोमा हिँड्छु भन्ने अलि चेत आएका पात्रहरुलाई पुनः धुर्त र छट्टु स्यालहरुले प्रत्येकपल्ट गिजोलेका कारण चेसका सन्तानहरुले आफ्नो फोहोर भएको बाटो सफा पार्न सकेका छैनन् । बाटो सफा पार्न अब जनजन पुनः जाग्नुपर्ने अवस्थाको सिर्जना भएको छ । वर्तमानलाई विस्थापित गरी जनजन आपैmं पहरेदारको रुपमा चेसको चौसठी कोष्ठभित्र प्रवेश गर्न ढिला भैसकेको छ । जनजनले बुझेर वा नबुझेर अभैm पनि ढिला गरिरहने हो भने दृश्य, अदृश्यरुपमा छिरेका छट्टु स्यालहरुले सबै कोष्ठ ध्वस्त बनाउन बेर लगाउँदैनन् ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्