आँप सेवनका फाइदाबारे केही तथ्यहरु



गर्मी लागेसगैँ आँपको सिजन पनि शुरु भएको छ । आँप सबैको प्रिय फल पनि हो । हामी स्वादको लागि आँप खान्छौं । आँपको स्वाद मीठो हुन्छ भन्ने कुरा त सबैलाई थाहा नै छ । तर के तपाईंहरूलाई आँपको सेवन गर्दा हुने फाइदाहरूबारे थाहा छ ?

टेक्सास एग्रिलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरुले आफ्नो अनुसन्धानमा आँपलाई अन्य फलहरुको दाँजोमा स्तन क्यान्सरबाट बचाउ गर्नमा बढी फाइदाकारी मानेका छन् । यस्तै आँपलाई छालाको चाउरीपन रोक्नसमेत प्रभावकारी मानिन्छ । आँपमा हानिकारक स्याचुरेटेड फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन सी प्रशस्तै पाइन्छ ।

आँप खानुका अनेक फाइदा छन् । निकै दुब्लो तथा ख्याउटे भएकाहरुका लागि पनि आँप लाभदायक हुन्छ । यसले वजन बढाउनसमेत सहयोग गर्छ । आँपमा पोटासियम, म्याग्नेसियम, कपरजस्ता खनिज एवं लवण पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिनजस्ता शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु पनि आँपमा पाइन्छन् । यो एन्टिअक्सिडेन्टको पनि मुख्य स्रोत हो, जसले शरीरमा कोषको क्षयीकरण रोक्छ र शारीरिक तन्दुरुस्ती बढाउँछ ।

आँपको नियमित उपभोगले हृदयसम्बन्धी रोग, छिट्टै बुढ्यौली देखिने समस्या, क्यान्सरजस्ता स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्छ । आँपमा घुलनशील फाइबर पाइन्छ, जसले रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्ने र ग्रन्थिमा हुने क्यान्सरबाट समेत बचाउँछ । अपच तथा अम्लीयपनाजस्ता समस्या हटाउन पनि आँपको सेवन लाभदायक हुन्छ । गर्भवती र रक्तअल्पता भएका बिरामीहरुले आँप खानु फाइदाजनक हुन्छ ।

यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ । आँपमा एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउँछ । त्यस्तै फाइबर र भिटामिन सीको भण्डार, आँपमा हुने फाइबर र भिटामिन सीको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।

मुख्यरुपमा आँपका फाइदा यसप्रकार छन् । आँपले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ । यसले पाचन शक्तिलाई राम्रो बनाउँछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ । आँपमा उच्च मात्रामा भिटामिन सी हुने हुनाले शरीरलाई रोगप्रतिरोधी बनाउन मद्दत गर्छ ।

आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ । आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनर्जीवन दिन तथा पुनर्निर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउँछ । आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।

आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयघात हुनबाट बचाउँछ ।

यसै गरी आँपले छालाका लागि निकै राम्रो गर्छ । छालामा भएका काला धब्बा तथा दाग हटाउँछ र प्राकृतिक चमक ल्याउँछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ । यसमा भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाया हटाउछ र कपालमा चमक ल्याउँछ ।

– तुससी सुवदी, सर्लाही ।

जन्डिसबारे भ्रम र सत्यताबारे बुझौं

जन्डिस अर्थात् कमलपित्त आफैँमा रोग होइन । तर, यो कुनै रोगको लक्षण हो । जो मानव शरीरका विभिन्न भागमा पहेँलोपनाको रूपमा देखा पर्छ । समाजमा जन्डिसबारे आ–आफ्नै धारणा पाइन्छ । जन्डिस भनेको कुनै रोग होइन । यो रोगको लक्षण मात्र हो । जब रगतमा बिलिरुबिनको मात्रा बढेर आँखा र शरीर पहेँलो हुन्छ, त्यसलाई जन्डिस भनिन्छ । त्यसैले कसैको जन्डिसले मृत्यु भयो भन्नु ठीक हुँदैन । किनभने, जन्डिसले होइन, जन्डिस गराउने रोगले मृत्यु हुने हो । टाउको दुख्नु, ज्वरो आउनु, खुट्टा सुन्निनुजस्तै जन्डिस पनि धेरै रोगको लक्षण मात्र हो ।

हामीकहाँ जन्डिस भनेको रोग हो र यसका लक्षण वाकवाक लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने हो भन्ने भ्रम धेरैमा छ । र, यो भ्रमले गर्दा अधिकांश मानिस समयमा उपचार गर्न नजाने र गए पनि ढिला जाने गरेको पाइएको छ । त्यसैले यो कुरा बुझ्न जरुरी छ कि जन्डिस भनेको लक्षण हो र यसले केवल कुनै रोगको संकेत गर्छ ।

जन्डिस कुनै रोग होइन । यो विभिन्न रोगमा देखिने एउटा लक्षण मात्रै हो । जन्डिसको कुनै उपचार हुँदैन । किनकि यसको उपचार नै गर्ने होइन । जन्डिस के कारणले भएको हो ? त्यसको चाहिँ उपचार गर्नुपर्छ अनि मात्रै जन्डिस निको हुन्छ । कतिपय यस्ता रोगहरू छन् जसमा जन्डिस देखिन्छ । हेपटाइटिस ए भन्ने रोग जोसुकैलाई लाग्न सक्छ । तर हाम्रो देशमा १५ वर्षमुनिकालाई यो रोग लाग्छ । हेपाटाइटिस लागेमा जन्डिस देखिन्छ । तर यो जन्डिसको उपचार केही पनि छैन । खानेकुरा राम्रोसँग खान दिएर उसलाई अरू कुनै कुरा हुनबाट जोगाउने हो भने आफैं निको हुन्छ ।

तर हाम्रो समाजमा जन्डिस भएपछि उपचार गर्न विभिन्न ठाउँमा जान्छन् । जन्डिसको उपचार भन्छन्, निको पारें पनि भन्छन् । खासमा जन्डिस आफैं निको हुन्छ । आफैं निको हुनेमा हेपाटाइटिस ई पनि पर्दछ । यो वयष्कहरूमा देखिने रोग हो । यसमा पनि जन्डिस हुन्छ र साधारणतः आफैं निको हुन्छ ।

जन्डिस भएको दुई तरिकाले थाहा हुन्छ । आँखा पहेँलो भयो भने जन्डिस भएको हुन सक्छ । रगत जाँचेर पनि जन्डिस भए÷नभएको पत्ता लाग्छ । रगतमा बिलिरूबिन भन्ने तत्वको मात्रा बढी भयो भने त्यसलाई जन्डिस भनिन्छ । सामान्यतः मानव शरीरमा बिलिरूबिनको मात्रा १ भन्दा कम हुन्छ । जब यो बढ्दै जान्छ तब यसलाई जन्डिस भनिन्छ । आँखामा पहेँलो देखिन कम्तीमा पनि दुईभन्दा माथि बिलिरूबिन हुनुपर्छ । यो तीनभन्दा माथि भयो भने राम्रोसँग देखिन्छ । बिलिरूबिन दुईभन्दा तल हुँदा पनि जन्डिस हुन्छ तर बाहिर देखिँदैन।

– कमलेश यादव, जनकपुर ।

प्रतिक्रिया दिनुहोस्