देवपतनमा त्रिशूल जात्राको रोचक पक्ष



  • प्रेममान डंगोल

नेपाल तान्त्रिकहरुको देश हो भनेर पहिलादेखि नै प्रख्यात हुँदै आएको कुरा त सबैलाई ज्ञात नै छ । नेपाल नेवारहरुको देश, त्यसमा पनि तान्त्रिक विधिअनुसार नेवारहरुले विभिन्न किसिमका चाडपर्व मान्दै आइरहेको कुरा नेवारी संस्कृतिको इतिहासले देखाइरहेको छ ।

परापूर्वकालदेखि नेपालका नेवारहरुको मुख्य पेसा भन्नु नै खेती हो । आँखाले नभ्याउने खेतका फाँट भइरहने तर खेती गर्ने मानिसहरुको कमी भएर खेती गर्न गाह्रो भइरहेको अवस्थामा पनि तान्त्रिकहरुले भूत साधना गरेर भूतहरुलाई खेतीको काम गराइरहेको कुरा नेवारी संस्कृति र परम्पराले देखाइरहेको छ । त्यस्तै नेपालमा १२ वर्षसम्म वर्षा नभई अनिकाल भएर हाहाकार भएको अवस्थामा पनि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचाजु र ललितपुरका ललित ज्यापु रथचक्र तीनजनाले भारतको कामरुप कामाक्षबाट करुणामयलाई साधना गरेर कलशमा राखी ल्याएका हुन् भनिन्छ । करुणामयलाई नेपालमा ल्याएपछि मात्र वर्षा भई अनिकाल हटेको हो भनिन्छ । यसरी तान्त्रिकहरुको बाहुल्यता भएको हाम्रो देश नेपालमा विभिन्न देवताका जात्रा तान्त्रिक विधिअनुसार मान्दै आइरहेको छ ।

आषाढ कृष्णपक्ष भलभल अष्टमीमा देवपतनमा मनाइने त्रिशूल जात्रामा पनि तान्त्रिककै मुख्य भूमिका भएको देखिन्छ । एउटा किंवदन्तीअनुसार नागार्जुन पहाडबाट राक्षसहरु देवपत्तनमा आई केटाकेटीहरुलाई जबर्जस्ती लुटेर लाने र बीभत्स तरिकाले मारेर खाने गरिरहेका थिए । देवपतनका मानिसहरुचाहिँ डर–त्रासमा बाँच्नुपर्ने भइरहेको थियो । राक्षसहरु अहिले आउँछन् कि भरे आउँछन् कि भनी पीर मानिरहनुपर्ने अवस्थामा थिए सबै मानिसहरु ।

राक्षसहरुका अत्याचार बढ्दै गएपछि देवपतनका सबै मानिस मिलेर के गर्नुपर्ला र कसरी राक्षसको भयबाट मुक्त हुन सकिएला भनी भुवनेश्वरी देवीको पुजारी भूमि आचाजुकहाँ हारगुहार माग्न गए । भूमि आचाजु पनि तान्त्रिक भएकाले लोक कल्याणका लागि उनले राक्षसका केटाकेटीहरुलाई तन्त्रशक्तिको प्रभावले मारेर त्रिशूलमा रोपी नगर परिक्रमा गराई प्रतिशोध लिएका रहेछन् । राजा अमर मल्लको पालमा देवपतनमा अष्टमातृका देवी जगाई त्रिशूल जात्रा चलाएकाले देवपतनका मानिसहरुले नागार्जुनका राक्षसहरुसँग डराउनुपरेन । त्यसै बेलादेखि नागार्जुनका राक्षसहरु पनि देवपतनमा आउन छाडे ।

त्रिशूल जात्रामा मंगलेश्वरी, भूवनेश्वरी, जय बागेश्वरी, बच्छलेश्वरीका साथै त्रिशूल, लुसी, बलि, छुरा, पास आदिको पनि खट बनाई जात्रा गरिन्छ । यसका साथै बालबालिकाहरुलाई त्रिशूलले घोपेर पनि परिक्रमा गराई जात्रा मनाउने गरिन्छ ।

हरेक वर्ष असार कृष्ण भलभल अष्टमीका दिन श्रेष्ठ जातका नेवारको नेतृत्वमा हुने यो त्रिशूल जात्राका लागि वैशाख पूर्णिमाका दिन जय बागेश्वरीको वर्षवद्र्र्धन पूजाको रातमा बालबालिका छनोट गर्ने परम्परा छ । नौवटा जातका नेवारहरुले चार दिनसम्म मान्ने यो जात्रामा देवपतनका भूवनेश्वरीको खटसँगै मरेका बालबालिकाहरुको खट पनि निकालिन्छ । भण्डारी थरका श्रेष्ठ जातिको नेतृत्वमा निकालिने यो जात्रामा पछि–पछि लागेर जानेहरुले काठमाडौंवासीहरुलाई जथाभावी गालीगलोज गर्दै नगर परिक्रमा गर्ने चलन छ ।

काठमाडौंका बासिन्दलाई गाली गर्दै देवपतनमा किन यसरी जात्रा मनाइन्छ भन्ने सन्दर्भमा एउटा किंवदन्ती रहेको पाइन्छ । देवपतन क्षेत्रमा अष्टमातृका पीठमध्ये एउटा भूवनेश्वरी देवीको पूजा गर्न पुजारी भूमि आचाजु जाँदा छोरा पनि पछि–पछि लागेर गएको रहेछ । तर आचाजुलाई यो कुरा थाहा थिएन । भूवनेश्वरीमा पूजा गरिरहेका भूमि आचाजुसँग देवीले तिम्रो पछि आइरहेकोलाई मलाई बलि चढाऊ भनी कबुल गरेर माग गरिन् । पछाडि फर्केर नहेरीकनै आचाजुले हुन्छ भनी कबुल गरिदिए ।

त्यसपछि भूवनेश्वरी देवीलाई बलि दिन पछाडि हेर्दा त आफ्नै छोरा पो परेछ । आचाजुलाई के गरुँ कसो गरुँ भयो । उनी अत्यन्तै दुखी भए । तर पनि देवीलाई कबुल गरिसकेकाले आचाजुले आफ्नो छोरा बलि दिएर देवीको पूजा गरे । पूजा गरिसकेपछि भूवनेश्वरी देवीसँग आफ्नो छोरा बचाइदिन पुजारी आचाजुले विन्तिभावसहित प्रार्थना गरे । भूवनेश्वरी देवीले पनि आचाजुलाई के कसो गरेमा छोरालाई बचाउन सकिन्छ भनी उपाय बताइदिएकी रहिछन् । भूवनेश्वरी देवीले बताएको उपायअनुसार मरेकोलाई बचाउने औषधि अमृतको घडा अमुक ठाउँबाट ल्याउनुपर्ने रहेछ । अनि भूमि आचाजुले आफ्नी श्रीमतीसँग म देवीस्थानभित्र चार दिनसम्म ध्यान गरेर बस्छु, ढोका खोलेर नहेर्नू भनी ढोका बन्द गरिदिएछन् ।

छोरा पनि हराएको र आचाजु पनि चार दिनसम्म देवीस्थानमा ध्यान गरेर बसेको कुरा आचाजुकी श्रीमतीले काठमाडौंका माइती खलकसँग भनिछन् । अनि आचाजुकी श्रीमतीले माइती खलकसँग मिलेर आचाजुको आदेश उल्लंघन गर्दै मन्दिरको ढोका खोलेर हेर्दा भित्र आफ्नो छोराको लास देखिन् । आचाजुले छोराको हत्या गरेर भागेको उनले ठानिछन् । त्यसपछि माइती खलकको मद्दतले मृत छोराको सद्गत गरिन् । उता भूमि आचाजुले अमृतको घडा ल्याइरहेको बेलामा हालको नयाँ बानेश्वर छक्कु बक्कु भन्ने ठाउँमा पुग्दा एउटा जोगीले तपाईंको छोराको लास त मसानमा जलाइसकेको बताए । यो कुरा सुनी भूमि आचाजु त्यहीँ बेहोस भई लडेछन् । त्यही ठाउँमा अमृतको घडासँगै भूमि आचाजु ढुंगामा परिणत भएर सिद्ध भए । सोही स्थानमा छक्कु बक्कु अजिमा मन्दिर स्थापना गरिराखेको छ ।

श्रीमान्को आदेश नाघेर देवीको ढोका खोली हेरेको र श्रीमान्को विश्वास नगरी माइती खलकको कुरा सुनेर छोराको ज्यान बचाउन नसकेको कुरालाई लिएर देवपतनमा बस्नेहरु काठमाडौंवासीसँग धेरै क्रोधित भए ।

भूमि आचाजुको स्मृतिमा देवपतनका बासिन्दाहरुले त्रिशूल जात्रा मनाउन थाले । अनि यो जात्रा गर्दा काठमाडौंवासीहरुलाई गालीगलौज गर्ने सन्दर्भमा जथाभावी मुख छोड्ने गर्न थालियो । यही परम्पराअनुसार त्रिशूल जात्रामा देवपतनमा बस्नेहरुले काठमाडौंवासीहरुलाई जथाभावी मुख छोड्ने गर्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्