नेपालमा जलउत्पन्न प्रकोप व्यवस्थापन



  • धनपति सापकोटा 

नेपालको भौगोलिक अवस्था हेर्दा करिब ८५ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ । बाँकी भाग तराईको समथर भागले ओगटेको छ । विश्वकै सबैभन्दा कान्छो पर्वतीयमाला हिन्दुकुश पर्वतको काखमा अवस्थित नेपालको भौगोलिक क्षेत्रलाई कमजोर भूगर्भ क्षेत्रको रुपमा लिइन्छ । बंगालको खाडीबाट बहने जलवाष्पयुक्त वायुका कारण हिमालय खण्डभन्दा तलका भागमा करिब जेठ महिनाको अन्त्यदेखि आश्विन महिनासम्म मनसुन भइरहन्छ, जसलाई हामी वर्षायाम भनेर बुझ्छौं ।

यसपालिको मनसुन वर्षाको सन्दर्भमा मौसमविद्हरुले अधिक वर्षा हुने तथा कतै–कतै असन्तुलित वर्षासमेत हुनसक्ने भनी अनुमान सार्वजनिक गरेका छन् । यस्तो अनुमान सार्वजनिक भइसकेपछि हाम्रो जस्तो भौगोलिक विषमता भएको देशका बासिन्दाहरुले विशेष सावधानी अपनाउन जरुरी छ । प्रथमतः काठमाडौं उपत्यकाको सन्दर्भमा जल उत्पन्न प्रकोप र त्यसबाट बच्ने उपायको सन्दर्भमा कुरा गरौं । काठमाडौं उपत्यकाका चारैतिर रहेका अग्ला पहाडहरु नै उपत्यकाका जलाधार क्षेत्र हुन् । सुमद्रबाट आएको जलवाष्पयुक्त वायु हिमालय पर्वतमालामा ठकर खाई फर्कने क्रममा यस उपत्यकामा पानी पर्ने गर्दछ । सामान्यतया उपत्यकामा ३३/३४ डिग्री तापक्रम चढ्नेबित्तिकै वर्षा हुन्छ भन्ने पुरानो मान्यतासमेत रहिआएको छ र सामान्यतया त्यस्तै हुन्छ पनि ।

काठमाडौं उपत्यकामा द्रुत गतिमा वृद्धि भइरहेको शहरीकरणका कारण यहाँ बग्ने वाग्मती, धोबीखोला, विष्णुमती, मनोहरा, कर्मनाशा, बल्खु, नखु, टुकुचा आदि नदी तथा खहरेहरु दिनानुदिन अतिक्रमणको चपेटामा पर्न गई यिनको बहाव क्षेत्र साँगुरिँदै गएको छ । वर्षाको पानीलाई सहजरुपमा ग्रहण गर्ने खुला जमिन, खेतबारी, कान्लाहरु मानवबस्तीमा रुपान्तरण हुँदै जाँदा वर्षातको पानीलाई जमिनले ग्रहण गर्ने क्षमता गुमाउँदै गइरहेको छ । शहरीकरणसँगै निर्माण भएका भौतिक संरचना तथा पक्की सडकहरुमा परेको पानी ढलको माध्यमबाट ठूलो क्षमतामा नदीसम्म पुग्ने गर्दछ । भवन क्षेत्रमा परेको पानी त झन्डै शतप्रतिशत नै ढलको माध्यमबाट अन्ततोगत्वा नदीमै प्रवाह हुन पुग्छ ।

पानीको बहावको यस स्वाभाविक प्रक्रियाका कारण काठमाडौं उपत्यकाका जलाधार क्षेत्रमा आधा घण्टामा परेको पानीले नै हाम्रो शहरी जीवन प्रभावित गर्न सक्छ । वर्षादअघि नै पानी पास हुने सडककिनारका मेनहोल धूलो तथा प्लास्टिकजन्य पदार्थले बुजिन पुगगेको हुन्छ । त्यसैले पानी परेपछि सकडहरु जलमग्न भई आवागमन अवरुद्ध हुनुको साथै सडक संरचना ध्वस्त हुन सक्छ ।

नदीको बहाव क्षेत्रमा भइरहेका निर्माण कार्यका कारण पानीको बहाव अवरुद्ध हुन पुग्दा नदीको पानीको स्तर स्वतः माथि उठ्न सक्छ । नदीकिनारका रुख, बुट्यान तथा अन्य अवरोधक सामग्री नदीको बहाव क्षेत्रमा पर्न जाँदा पनि स्वाभाविकरुपमा नदीको पानीको स्तर माथि उठ्न जान्छ, जसको कारण आवासीय क्षेत्र डुबानको चपेटामा पर्न गएका घटना विगतमा पनि भएकै छन् । यस्ता मसिना कारणले पनि शहरी जीवनमा तुरुन्तै प्रतिकूल अवस्था सृजना हुन सक्छ ।

घरबाहिर जाँदा घरको छतबाट पानी निकास हुने प्वालहरु खुल्ला राख्नु, घर कम्पाउन्डको पानी निकास हुने मेनहोल सफा गरिराख्नु पूर्वसावधानी हो । ठूला–ठूला भवन संरचना आसपासबाट निष्कासन हुने पानी तथा ढलको गलत जडान तथा गलत इन्जिनियरिङका कारण पनि काठमाडौं उपत्यकाभित्र डुबानको समस्या पैदा हुने गरेको छ । कम क्षमताका ढल पूर्वाधारको भरमा ठूला–ठूला भवन संरचना निर्माण गरेर निकास दिन खोज्दा पनि यस्ता डुबानका समस्या पैदा हुने गरेका छन् । तसर्थ वर्षात शुरु हुनुपूर्व नै निकास पूर्वाधारको सुपरिवेक्षण गर्न जरुरी छ ।

काठमाडौं उपत्यकाबाहिरका हिमनदीहरुमा वर्षातको पानीले पहिरो गई नदी थुनिन जाँदा अस्वाभाविक पानी जम्मा हुने र पानी निकास भएका बखत तल्लो तटीय क्षेत्रका मानवबस्ती तथा विकास पूर्वाधारहरुमा एकै पटकमा अकल्पनीय क्षति हुन सक्छ ।

नेपालको पहाडी इलाकामा निर्मित सडक पूर्वाधार, जलविद्युत् परियोजना जाने सडक तथा ड्याम निर्माणको क्रममा विष्फोटक पदार्थ प्रयोग गरेर भत्काइएका पहराहरुका आसपासका पर्वतहरुको पनि भित्री भागसम्म कम्पन पुग्न गई पर्वतको गर्भभागमा असन्तुलन पैदा भएको हुन सक्छ । त्यस्ता पर्वतहरुमा वर्षातको समयमा परेको झरीले पर्वतका धाँजाहरुमा पानी पस्न गई गाउँबस्ती तथा खेतीयोग्य जमिनहरु नै पहिरोको चपेटामा पर्न सक्छ । यसबाट पनि पहाडी जनधनमा व्यापक क्षति हुन पुग्छ ।

नेपालका भित्री मधेस तथा तराईहरुमा वर्षातको समयमा मात्र पानी बग्ने खहरे खोलाहरु प्रशस्तै मात्रमा मेचीदेखि कालीसम्म रहेका छन् । खास गरी महाभारत पर्वतमाला तथा शिवालिक शृङ्खलाबाट उत्पन्न हुने यस्ता खहरे खोलाहरुमा वर्षातको समयमा आउने रोडा, गिटी, बालुवा, गेग्रेन तथा रुखबिरुवाको अवशेषहरुसहित बगेर आउने मिश्रित बाढीको कारण नदीका आसपासका बस्तीहरुमा मानवीय तथा पशुधनहरुमा क्षति पुर्‍याउनुको साथै जमिन कटान तथा खेतीबाली डुबानका कारण बर्सेनि अर्बौंको क्षति व्यहोर्नुपर्ने अवस्था रहेको छ ।

तराईका क्षेत्रहरुमा खास गरी सडक पूर्वाधार निर्माणका कारण जमिनमा वर्षातको समयमा परेको पानी तथा उत्तर पहाडी भागबाट बगी आएको पानीको सहज निकास अवरुद्ध हुन जाँदा खेतबारीमा लगाएको बालीनाली डुबानमा पर्ने गरेको छ । तराईका हजारौं घरगोठहरु डुबानमा पर्दा मानवजीवनमा क्षति पुग्ने गरेको छ । साथै अर्बौंको सम्पत्तिमा समेत क्षति पुग्ने गरेको छ । तराईमा अवस्थित विभिन्न उद्योगधन्दा तथा कलकारखानाबाट निस्केको प्राणीहरुलाई प्रतिकूल असर पार्ने केमिकलजन्य पदार्थ तराईका कृषिजन्य क्षेत्रमा विस्तार हुन जाँदा नजानिदो ढंगबाट बर्सेनि अर्बौंंको क्षति हुने गरेको छ । त्यस्ता केमिकलजन्य जलीय पदार्थले तराईको उर्वर जमिनको मौलिक गुणमा नै प्रहार गर्ने भएको हुँदा उत्पादनमा प्रतिकूल असर पर्न गइरहेको छ ।

तराईबाट भारततर्फ बग्ने नदीहरुको पर्याप्त तटबन्धन गर्ने, नदीकिनारका खालि बगरहरुमा पर्याप्त वृक्षरोपण गर्ने, नदीकिनारका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, हुलाकी सडकहरुको उचाइ कम गरी पानी निकासको लागि पर्याप्त कल्भर्ट निर्माण गर्ने, संरचनागत विकास पूर्वाधार निर्माण गर्दा पानीको निकासको पर्याप्त व्यवस्था गर्ने, तराईका शहरहरुमा पानी निकासको लागि गहिरो नालाको निर्माण गर्ने गरेर पनि जलउत्पन्न प्रकोपलाई न्यूनीकरण गरी जनधनको रक्षा गर्न सकिन्छ ।

भौगोलिकरुपमा रहेको विषम अवस्थितिको मौलिक चरित्रलाई बुझेर हामीले भौतिक विकास निर्माण र पहाडी तथा तराईका क्षेत्रमा भू–उपयोग नीति एवं योजनालाई जनमुखी ढंगले सञ्चालन गर्न सक्नु हाम्रो अहं कर्तव्य हो । नागरिक तथा नागरिकको सम्पत्तिको सुरक्षाका लागि प्रथमतः पानीजन्य प्रकोपको बारेमा आमनागरिकमा उत्थानशीलता कायम गर्न सक्नु आजको आवश्यकता हो । सरकारले सञ्चालन गरेका विकास पूर्वाधारहरुले वातावरणमा पार्ने प्रतिकूल प्रभावबारे गहिरो अध्ययन गरेर मात्र दिगो विकासमा जोड दिनु हाम्रो कर्तव्य मात्रै हुन आउँदैन कि अकालमा जीवन गुमाउनबाट बचाउने सन्दर्भमा गतिलो प्रयास हुन सक्छ ।

(लेखक सापकोटा नगर प्रहरी महाशाखा प्रमुखमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्