अर्जेन्टिनाको शानदार जित



रियो दि जेनेरियो, एजेन्सी । 

ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले शानदार जित निकालेको छ ।मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४–१ गोलअन्तरको जित निकालेको हो । यो समूह चरणको अन्तिम खेल हो ।

हाल कोपा खेलिरहेका १० टिममध्ये बोलिभिया सबैभन्दा कमजोर टिम हो । फिफा वरीयतामा ८१औं स्थानमा रहेको बोलिभियाविरुद्ध शानदार जित निकाल्नेक्रममा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले दुई गोल गरे । जारी प्रतियोगितामा अर्जेन्टिनाले एकै खेलमा एकभन्दा बढी गोल गरेको यो नै पहिलोपटक हो । यसअघिका तीन खेलमा अर्जेन्टिनाले एकभन्दा बढी गोल गर्न सकेको थिएन । कोपामा अर्जेन्टिनाले यसअघिको तीन खेलमध्ये दुईमा साँघुरो गोलअन्तरले जित्दा एक खेल बराबरी गरेको थियो ।तर, समूहचरणको अन्तिम खेलमा अर्जेन्टिनाले तुलनात्मकरूपमा निकै कमजोर टोलीविरुद्ध चार गोल गर्दै अन्तिम आठमा समूह विजेता बनेर प्रवेश गर्न सफल भयो । अर्जेन्टिनाको जितमा कप्तान मेसीले एक पेनाल्टीसहित दुई गोल गर्दा बाँकी दुई गोल अन्य खेलाडीले गरे । लौटारो मार्टिनेजले पनि यसै खेलबाट गोलको खडेरी तोड्न सफल भए ।अर्जेन्टिनाले खेलको छैटौं मिनेटमा अलेजान्द्रो पापु गोमेजको गोलबाट अग्रता लिएको थियो । सो गोलमा कप्तान मेसीले नै असिस्ट गरेका थिए । त्यसपछि, खेलको ३३औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो, जसमा मेसीले प्रहार गर्दै गोल गर्न सफल भए ।

त्यसपछि, खेलको ४२औं मिनेटमा अर्जेन्टिनाले अग्रता तेब्बर बनायो । यसपटक सर्जियो अगुरोको पासमा मेसीले गोलकिपरलाई बिट गर्दै निकै सुन्दर गोल गरेपछि अर्जेन्टिनाले पहिलो हाफमा ३–० को अग्रता बनायो । त्यसपछि, खेलको ६०औं मिनेटमा बोलिभियाका लागि इर्विन साभेद्रले गोल गरेर खेल ३–१ मा छोट्याएका थिए ।तर, खेलको ६५औं मिनेटमा सब्स्टिच्युट फरवार्ड लौटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिना फराकिलो जिततर्फ अघि बढेको थियो । उनी ६२औं मिनटमा अगुएरोको स्थानमा मैदान छिरेका थिए । त्यसको दुई मिनेटभित्र नै गोल गर्न सफल भएका थिए । त्यसपछि, खेलमा थप गोल भएन र खेल अर्जेन्टिनाले ४–१ ले जित्यो । कप्तान मेसीले पटक–पटक ह्याट्रिक गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।मंगलबारको नतिजापछि अर्जेन्टिना समूह ‘ए’ बाट चार खेलपछि कुल १० अंकका साथ क्वार्टरफाइनल पुग्दा उरुग्वेले सात अंक बनायो । तेस्रो स्थानमा रहेको पाराग्वेले ६ अंक बनायो भने चौथो स्थानमा रहेको कोलम्बियाको पाँच अंक रहेको छ । पाँचौं स्थानमा रहेर चार वटा खेल हारेको बोलिभिया भने प्रतियोगिताबाटै बाहिरिएको छ ।

मंगलबारै भएको समूह ‘बी’ को अन्तिम चरणको खेलमा उरुग्वेले पेनाल्टी गोलको मद्दतमा साँघुरो जित निकाल्यो । उरुग्वेले बलियो टोली पाराग्वेमाथि पेनाल्टी गोलको मद्दतमा १–० को जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । मंगलबार बिहान भएका दुई खेलपछि क्वार्टरफाइनल चरणको समीकरण पनि पूरा भएको छ ।उरुग्वेका लागि एक मात्रै विजयी गोल खेलको २१औं मिनेटमा पेनाल्टीमार्फत् एडिन्सन काभानीले गरेका थिए । अन्ततः उरुग्वेले सोही गोलको अग्रता खेलभरि बचाएर खेल १–० ले जित्यो । जारी कोपामा गोलको चर्को खडेरीबाट गुज्रिरहेको उरुग्वेका लागि यो खेल पनि राम्रो भने रहेन । यस खेलमा पनि उरुग्वेले गोलका लागि ठूलै संघर्ष ग¥यो । पाराग्वेविरुद्ध उरुग्वेले बलमा बलियो नियन्त्रण जमाएर खेले पनि पेनाल्टीमा बाहेक अर्को गोल गर्न सकेन ।जितसँगै उरुग्वे चार खेलपछि सात अंक बनाएर दोस्रो स्थानमा रहँदै अर्को चरण पुगेको छ । उरुग्वेले समूह चरणमा खेलेका चार खेलमध्ये दुई खेल जितेर एक खेल बराबरी गरेको छ भने एक खेल हारेको छ ।

रफाइनल समीकरण पूरा

मंगलबारका खेलहरूपछि कोपा अमेरिका २०२१ को क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । अब सेमिफाइनलमा साविक विजेता ब्राजिलले त्यसअघि दुई संस्करणमा उपाधि जितेको चिलीको सामना गर्नेछ । उपाधि दावेदार मानिएको अर्जेन्टिनाले भने इक्वेडरको सामना गर्नेछ । उरुग्वेले कोलोम्बियाको सामना गर्दा पेरू र पाराग्वे पनि सेमिफाइनल प्रवेशका लागि भिड्नेछन् ।

क्वाटरफाइनल खेल नेपाली समयअनुसार:

जुलाइ ३, शनिबार – पेरु विरुद्ध पाराग्वे – बिहान २ः४५ बजे
जुलाइ ३, शनिबार – ब्राजिल विरुद्ध चिली – बिहान ५ः४५ बजे
जुलाइ ४, आइतबार – उरुग्वे विरुद्ध कोलोम्बिया – बिहान ३ः४५ बजे
जुलाइ ४, आइतबार – अर्जेन्टिना विरुद्ध इक्वेडर – बिहान ६ः४५ बजे

प्रतिक्रिया दिनुहोस्