स्विट्जरल्यान्ड र स्पेन क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) । 

सोमबार राति भएका अन्तिम १६ का दुई सनसनीपूर्ण खेलमा स्विट्जरल्यान्ड र स्पेनले जितको नतिजा निकालेर जारी युरो कप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।स्विट्जरल्यान्ड सन् २०१८ को विश्वकप फुटबलको च्याम्पियन फ्रान्सलाई स्तब्ध पार्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो ।

स्विट्जरल्यान्डले यो जितसँगै युरो कपको इतिहासमा पहिलोपटक नकआउट चरणमा जित हासिल ग¥यो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक उक्त खेलमा पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डले ५–४ ले स्तब्ध बनाउँदै फ्रान्सलाई घर फर्कायो । फ्रान्सका लागि पाँचौं अर्थात् निर्णायक पेनाल्टी प्रहारमा युवा स्टार क्लियन एमबाप्पे चुकेपछि घर फर्कन बाध्य भएको हो । बराबरी गर्न एमबाप्पेले गोल गर्नैपर्ने अवस्थामा उनको पेनाल्टी स्वीस गोलकिपरले शानदार बचाउ गरेका थिए ।रोमानियास्थित नेसनल एरिना रंगशालामा भएको उक्त महाभिडन्तमा निर्धारित ९० मिनेटको समय र थप भएको ३० मिनेटको समयमा पनि खेल ३–३ को बराबरी सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जारी युरोको उपाधि दौडमा सबैभन्दा खतरनाक मानिएको फ्रान्सलाई स्वीस टिमले स्तब्ध बनाउँदा युरो च्याम्पियन बन्ने विश्व च्याम्पियनको सपना अन्तिम १६ मै समाप्त भयो ।

स्विट्जरल्यान्ड र फ्रान्स पेनाल्टीमा जानुअघि इन्ज्युरी समयमासमेत गरी कुल एक सय २६ मिनेट खेल्दा म्याचको अन्तिम नतिजा ३–३ ले बराबरी भएको थियो । निर्धारित ९० मिनेट र पाँच मिनेटको इन्ज्युरी समय गरी कुल ९५ मिनेटमा खेल ३–३ को बराबरी सकिएपछि खेल ३० मिनेटको थप समयमा धकेलिएको थियो । त्यसपछि, थप ३० मिनेट र एक मिनेटको इन्ज्युरी समय गरी खेल कुल एक सय २६ मिनेटसम्म चल्यो । यदि, खेलको ५५औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा गोल गरेको भए सम्भवतः ९० मिनेटभित्रै खेलले अर्कै मोड लिईसक्थ्यो ।यसअघि, स्विट्जरल्यान्ड खेलमा १–० ले अगाडि थियो । त्यसपछि फ्रान्सले पछि परेको अवस्था उल्टाएर खेलमा ३–१ को सहज अग्रता बनाएको थियो । तर, फ्रान्सले त्यसपछि लगातार दुई गोल बेहोरेपछि निर्धारित समयमा खेल ३–३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।स्विट्जरल्यान्डले खेलको शुरूवातबाटै फ्रान्सविरुद्ध आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको १५औं मिनेटमा ह्यारिस सेफेरोभिचले डीबक्स भित्रबाट हेडिङमार्फत् शानदार गोल गर्दै फ्रान्सलाई ठूलो झट्का दिएका थिए । फ्रेन्च डिफेन्डरले सो गोलको मुभमा ध्यान नदिँदा सेफेरोभिचले दर्शनीय गोल गरेका थिए ।

फ्रान्सले सो गोल बेहोेर्नुमा डिफेन्डर क्लेमेट लेङलेटले गल्ती गरेका थिए । उनले सेफेरोभिच अनमार्क अवस्थामा हेडिङ गर्न ठाउँ छाडिदिएका थिए, जसको फाइदा सेफेरोभिचले उठाउन सफल भए ।स्विट्जरल्यान्डले खेलको ५५औं मिनेटमा पेनाल्टीमार्फत् अग्रता दोब्बर बनाउने सुनौलो अवसर पाएको थियो । तर, स्वीस खेलाडी पेनाल्टीमा गोल गर्न असफल भए । रिकार्डो रोड्रिग्वेले हानेको पेनाल्टी फ्रान्सका कप्तानसमेत रहेका गोलकिपर ह्युगो लोरिसले सहजै बचाएपछि फ्रान्सले राहतको श्वास फेरेको थियो ।उक्त पेनाल्टी गोल गर्नबाट चुकेको दुई मिनेटपछि नै स्विट्जरल्यान्डले लगातार दुई गोल बेहो-यो । दुवै गोल फरवार्ड करिम बेन्जेमाले गरे । ५७ औं मिनेटमा उनले एमबाप्पेको पासमा गोल गरेर खेल बराबरीमा ल्याए । यसपछि, ५९औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गरेर फ्रान्सलाई २–१ को अग्रता दिलाए । सो गोलपछि फ्रान्स जितको बाटोमा अघि बढेको थियो । त्यसपछि खेलको ७५औं मिनेटमा फ्रान्सका लागि पाउल पोग्बाले डीबक्स बाहिरबाट खतरनाक प्रहारमा दर्शनीय गोल गरेपछि खेलमा फ्रान्सले ३–१ को अग्रता बनायो ।तर, त्यसपछि स्विट्जरल्यान्डले उत्कृष्ट पुनरागमन गर्न सफल भयो । खेलको ८१औं मिनेटमा पहिलो गोलकर्ता सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३–२ भयो र यसको बावजुद फ्रान्स जित नजिक पुगेको थियो । तर, ९०औं मिनेटमा स्विट्जरल्यान्डका लागि सब्स्टिच्युट खेलाडी मारियो गाभ्रानोभिचले तीव्र गतिमा सुन्दर गोल गरेपछि खेल ३–३ भयो । त्यसपछि, खेलमा ३० मिनेटको समय थपियो । जहाँ दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल टाइब्रेकरसम्म लम्बियो ।

पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्ड र फ्रान्सका शुरूवाती चार–चार जना खेलाडीले गोल गर्न सफल भए । त्यसपछि, पाँचौं पेनाल्टीमा पनि स्विट्जरल्यान्डका खेलाडीले गोल गर्न सफल भए । यता, फ्रान्सलाई खेलमा रहन पाँचौं पेनाल्टीमा गोल गर्नैपर्ने थियो । तर, पाँचौं पेनाल्टी प्रहार गर्न आएका एमबाप्पेको प्रहार स्वीस गोलकिपरले बचाएपछि फ्रान्सको युरो यात्रा टुंगियो । स्वीट्जरल्यान्डले खेल ५–४ ले जित्न सफल भयो । अब फ्रान्सलाई हराएकोे स्वीट्जरल्यान्डले क्वार्टरफाइनलमा क्रोएसियालाई हराएको स्पेनको सामना गर्नेछ ।क्रोएसिया बाहिरियो त्यसअघि भएको खेलमा सन् २०१८ को फिफा विश्वकपको उपविजेता टोली क्रोएसिया युरो कप–२०२० बाट नाटकीय तरिकाले बाहिरिएको थियो । लुका मोड्रिचको टिम क्रोएसियामाथि स्पेनले ५–३ को नाटकीय र सनसनीपूर्ण पुनरागमन जित निकाल्दै उपाधि होडमा एक कदम अघि बढाएको हो । यो जितका साथ पूर्व युरो च्याम्पियनसमेत रहेको स्पेन क्वार्टरफाइनलमा पनि प्रवेश गरेको छ । यसअघि, समूह चरणको अन्तिम खेलमा स्लोभाकियामाथि ५–० को शानदार जित निकालेको स्पेनले क्रोएसियाविरुद्ध पनि सोही लयलाई कायम राख्यो ।जारी युरो कपमा यसअघि नदेखिएका नाटकीय र रोमाञ्चक मोडहरू यस खेलमा देखिएको थियो । एकै खेलमा दुवै तर्फबाट आठ गोल भए । निर्धारित ९० मिनेट, त्यसमा थप ६ मिनेटको इन्ज्युरी समय अनि त्यसपछि ३० मिनेटको थप समय अनि एक मिनेटको इन्ज्युरी समय गरेर कुल एक सय २१ मिनेटसम्मको खेल चलेको थियो । हालसम्म एकै खेलमा

सर्वाधिक गोल भएको खेल पनि यही नै हो । यस खेलमा विजेता स्पेनले कठिन स्थितिमा दुई–दुईपटक नाटकीय पुनरागमन गरेको थियो ।
डेनमार्कको कोपेनहेगन सहरस्थित पार्केन रंगशालामा भएको खेलमा स्पेनले आत्मघाती गोल गरेका कारण पछि परेको थियो । क्रोएसियाले खेलको २०औं मिनेटमा उपहार गोलको मद्दतमा अग्रता लिएको थियो । स्पेनका गोलकिपर युनाइ सिमोनले अस्वाभाविक गल्ती गर्दा आफ्नै गोलपोस्टमा बल छिरेको थियो । उक्त गोल शुरूमा गोलकिपर सिमोनका नाममा दिइएको भए पनि पछि युवा खेलाडी पेड्रीका नाममा दर्ता भयो । पेड्रीले डीबक्सभन्दा निकै टाढाबाट आफ्ना गोलकिपरलाई दिएको ब्याक पासमा गोलकिपर सिमोनले खुट्टाले बल रोक्न खोज्दा बल चिप्लिएर सोझै गोलपोस्टमा छिरेको थियो ।आफ्नै गोलपोस्टमा गोल छिराएर दबाबमा परेको स्पेन खेलको ३८औं मिनेटमा खेलमा फर्कियो । आक्रामक खेल प्रदर्शन गर्दै स्पेनले लगातार आक्रमण मुभ बनाइरहँदा पाब्लो सराबियाले रिबाउन्ड बलमा शानदार गोल गरेर खेल १–१ बनाएका थिए । उनको शक्तिशाली प्रहारमा क्रोएसियन गोलकिपरले रोक्नका लागि कुनै मौका नै पाएनन् । सो गोलपछि खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।त्यसपछि, भने निर्धारित ९० मिनेट र ६ मिनेटको इन्ज्युरी समयमा गरी दुवैतर्फबाट गरी थप चार गोल भए । स्पेनले दोस्रो हाफमा लगातार दुई गोल गरेर खेलमा ३–१ को अग्रता बनायो । ५७औं मिनेटमा स्पेनले दोस्रो गोल गर्दै खेलमा २–१ को अग्रता दिलायो । त्यसपछि, ७६औं मिनेटमा फेर्रान टोरेजले गोल गरेपछि स्पेनले खेलमा ३–१ को सहज अग्रता बनायो ।

त्यसपछि, खेलमा नाटकीय मोड देखियो । जित नजिक पुगेको स्पेनलाई क्रोएसियाले ९० मिनेटभित्र फटाफट दुई गोल फर्काएर जित्न दिएन । क्रोएसियाका लागि ८५औं मिनेटमा मिस्लाभ ओसिचले गोल गरेर खेल ३–२ बनाए । क्रोएसिया त्यत्तिमै रोकिएन । ९० मिनेटपछि थप भएको ६ मिनेटको दोस्रो मिनेटमा क्रोएसियाका लागि सब्स्टिच्युट खेलाडी मारियो पासालिचले गोल गर्दै खेल ३–३ बनाएपछि खेल ३० मिनेटको थप समयमा गयो ।त्यसपछि, थप भएको ३० मिनेटमा लुइस इनरिकेको स्पेनले आफ्नो तीव्र गतिको खेल देखाउँदै दुई गोल गरेपछि स्पेनले जित आत्मसात ग-यो । स्पेनका लागि खेलको एक सयौं मिनेटमा अल्भारो मोराटाले शानदार गोल गरेर खेलको स्थिति परिवर्तन गरेका थिए । सो गोलपछि स्पेन जिततर्फ अघि बढेको थियो । त्यसलगत्तै तीन मिनेटमै स्पेनका लागि सब्स्टिच्युट खेलाडी मिकेल ओयारजबालले अर्को गोल थपेपछि खेलमा स्पेनले सनसनीपूर्ण ५–३ को पुनरागमन जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय ग-यो ।

स्पेन युरो २०१२ को उपाधि जितेपछि पहिलोपटक कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल रह्यो । यसअघि, विश्वकपको दुई संस्करण र युरो २०१६ मा स्पेनले अन्तिम आठको यात्रा गर्न सकेको थिएन । अन्तिम १६ बाट नाटकीय जित निकाल्दै क्वार्टरफाइनल पुगेको स्पेनले अब स्विट्जरल्यान्डसँग खेल्नेछ ।

गोल्डेन बुटका दाबेदारः
पाँच गोल क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
चार गोल प्याट्रिक शिक (चेक रिपब्लिक)
तीन गोल इमिल फोर्सबर्ग (स्वीडेन), रोमेलु लुकाकु (बेल्जियम), हेरिस सेफेरोभिच (स्विट्जरल्यान्ड)
(नोटः करिम बेन्जेमाले चार गोल गरे पनि फ्रान्स हारेपछि दाबेदारीबाट बाहिरिएका छन् । )

एकै दिन १४ गोल भए
अन्तिम १६ चरण शुरू भएसँगै जारी युरो कप २०२० को रोमाञ्स बढेको छ । सोमबार राति भएका दुई खेलमा कुल १४ गोल भएका थिए । यो प्रतियोगिताको इतिहासमा एक दिनमै भएको दोस्रो सर्वाधिक गोलसंख्या हो । २८ जुनमा भएको खेलमा फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल निर्धारित र अतिरिक्त समयसम्म ३–३ मा टुंगिएको थियो । अर्को खेलमा स्पेनले क्रोएसियालाई ५–३ ले हराएको थियो ।
साथै युरोकपमा २० वर्ष पुरानो कीर्तिमान पनि तोडियो । २१ ज्ुन २००० मा चार खेलमा १४ गोल भएका थिए । स्पेनले युगोस्लाभियालाई ४–३ ले हराउँदा चेक रिपब्लिकले डेनमार्कलाई २–० ले पराजित गरेको थियो । अर्को खेलमा नेदरल्यान्डस्ले फ्रान्सलाई ३–२ ले हराएको थियो । स्लोभानिया र नर्वेको खेल भने गोलरहित बराबरीमा रोकिएको थियो ।
एकै दिनमा सर्वाधिक गोल भएको कीर्तिमान यही युरो कपमा निर्धारित भएको हो । जुन २३ मा भएका चार खेलबाट १८ गोल भएका हुन् । उक्त दिनमा स्पेनले ५–० ले स्लोभाकियालाई र स्वीडेनले पोल्यान्डलाई ३–२ ले हराउँदा अन्य दुई खेलमा जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्स २–२ बराबरीमा रोकिए ।

प्रतिक्रिया दिनुहोस्