एफएम क्षितिजलाई उपाधि



दमक, (नेस) । 

दमक जेसिज खुल्ला राष्ट्रव्यापी अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् ।दमक जेसिज (२०२१) को आयोजना तथा डाइनामिक चेस एकाडेमी (दमक) को प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा काठमाडौँ जेसिजका भण्डारीले नवौँ चरणमा भक्तपुरका खेलाडी सुमन सुवाललाई पराजित गर्दै आठ अंकका साथ उपाधिमाथि कब्जा जमाए ।

त्यस्तैगरी, नेपालका पहिलो फिडे मास्टर मनिष हमाल ७.५ अंकका साथ दोस्रो स्थानमा रहे, हमालले अन्तिम चरणको खेलमा दमक जेसिजका राजन सुवेदीलाई पराजित गरेका थिए । क्यान्डिडेट मास्टर केशव श्रेष्ठ सात अंक जोड्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भए । केशवले नवौँ चरणको खेलमा युवा खेलाडी पुरुषोत्तम सिलवाललाई माथ खुवाउन सफल भए ।फिडे मास्टर रूपेश जैसवालले सात अंक जोडे पनि टाइब्रेकमा पछि पर्दै चौथो स्थानमा सीमित रहे, त्यस्तै अर्जुन घिमिरे पाचौं, सुमन सुवाल छैटाै, युवा खेलाडी सुदिप तामाङ सातांै, राजन दाहाल आठौं, राजन सुवेदी नवौं र महेश कुमार चौधरी दशौं स्थानमा रहन सफल भए । त्यस्तैः पुरुषोत्तम सिलवाल, आशिष फुयाल, हेराकाजी महर्जन, सुमन राई र प्रेमकृष्ण महर्जन क्रमसः एघारौंदेखि पन्ध्रौं स्थानमा रहेर नगद पुरस्कार प्राप्त गर्न सफल भए ।

महिला वर्गको उपाधि महिला फिडे मास्टर सुजना लोहनीले जित्न सफल भइन्, दोस्रो स्थानमा क्रितिसरा अधिकारी र तेस्रो स्थानमा विनिता कपाली रहन सफल भए, त्यस्तै सिनियर (भेट्रान) खेलाडीतर्फ पूर्व नेपाल च्याम्पियन पुण्यमान कर्माचार्य प्रथम, दोस्रो बद्रीलाल नेपाली र तेस्रो स्थानमा पञ्च कुमार साहु रहे ।२००० रेटिंङमुनि राजेन्द्र श्रेष्ठ प्रथम, १८०० रेटिंङमुनि सागर साई प्रथम, १६००रेटिंङमुनि गोपाल ज्ञवाली प्रथम र १४०० रेटिंङमुनि निरज ढुंगाना प्रथम हुन सफल भए ।जम्मा ८१ जना खेलाडीहरूले सहभागिता जनाएको प्रतियोगिता स्वीस लिगअन्तर्गत जम्मा नौ चरणसम्म खेलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्