ब्राजिल बराबरीमा रोकियो



रियो दि जेनेरियो, (एजेन्सी)  । 

कोपा अमेरिका फुटबलमा शानदार लयमा रहको ब्राजिल बराबरीमा रोकिएको छ ।सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा ब्राजिललाई इक्वेडरले १–१ गोलको बराबरीमा रोकेको हो । उक्त खेलमा ब्राजिलले पहिले अग्रता बनाए पनि त्यसलाई बचाउन नसक्दा लगातार चौथो जितबाट बन्चित भयो । यसअघि, नै क्वार्टरफाइनल प्रवेश गरिसकेको ब्राजिलले यस खेलमा केही मुख्य खेलाडीलाई आराम दिएका थिए ।

खेलमा ब्राजिलले ३७औं मिनेटमा पहिले अग्रता लिएको थियो । कर्नर किकबाट आएको बलमा डिफेन्डर इडर मिलिटाओले सुन्दर हेडिङ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । सोही गोलको अग्रता ब्राजिलले खेलको ५२औं मिनेटसम्म बचाएको थियो । अर्को चरण पुग्नका लागि अन्तिम खेलमा कम्तीका बराबरी नतिजाको दबाबमा रहेको इक्वेडरका लागि खेलको ५३औं मिनेटमा एन्जल मेनाले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि, बाँकी समयमा ब्राजिलले थप गोल गर्न सकेन र खेल १–१ को बराबरीमा टुंगियो ।सोमबार नै भएको दोस्रो खेलमा पेरुले भेनेजुएलालाई १–० ले पराजित गर्न सफल भयो । यो खेलमा पेरुले भेनेजुएलालाई हराउनु र आफ्नो खेलमा ब्राजिलसँग बराबरी खेल्दा इक्वेडर चौथो स्थानमा रहेर अर्को चरण सफल भएको हो ।

यदि पेरुसँग भेनेजुएलाले जितेको भए इक्वेडर प्रतियोगिताबाट बाहिरिने पक्का थियो । खेलको ४८औं मिनेटमा आन्द्रे क्यरिलोले गरेको गोल नै पेरुको जितमा निर्णायक बनेको थियो । यस जितले पेरु समूह बी को दोस्रो स्थानमा रहन सफल भयो । समग्रमा भने ब्राजिलले चार खेलमा १० अंक जोड्दै शीर्ष स्थान पक्का ग¥यो । पेरुले बाह्र खेलमा सात अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा चार अंक जोडेको कोलोम्बिया तेस्रो भयो । ब्राजिललाई बराबरीमा रोक्दै इक्वेडर कुल तीन अंकसाथ चौथो भयो । भेनेजुएला भने दुई अंकसाथ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्