के साउथगेटले जर्मनीसँग बदला लिन सक्लान् त ?



फिरोज राजोपाध्याय, काठमाडौं । 

गेरेथ साउथगेटले सन् १९९६ को युरोकपमा जर्मनीविरुद्धको खेलमा पेनाल्टी गोल गर्न नसक्दा इंग्ल्यान्ड फाइनल पुग्न वञ्चित भएको थियो । आफ्नै घरमा भएको सो युरोकपको फाइनलमा पुग्ने इंग्ल्यान्डबासीको ठूलो आस थियो । तर, सेमिफाइनलमा पेनाल्टी सुटआउटमा इंग्ल्यान्ड जर्मनीसँग हार्न पुग्यो र पुरै स्टेडियम शान्तसमेत भएको थियो ।

२५ वर्षपछि इंग्ल्यान्डले जर्मनीसँग खेल्न लाग्दा साउथगेट मेनेजरको रूपमा रहेका छन् । साउथगेटको लागि त्यो पुरानो नमिठो क्षणलाई भुलाउन मौका पाएको छ । यदि, जर्मनीलाई हराउन सकेमा साउथगेटको लागि त्यो १९९६ को युरोकपको खराब क्षणमा प्रायश्चित पनि गर्न पाउनेछन् । यसपटक पनि इंग्ल्यान्डले जर्मनीसँग आफ्नै भूमिमा खेल्नेछ ।समूह चरणमा हेर्ने हो भने इंग्ल्यान्डले दुई जित र एक बराबरी नतिजा आत्मसात गर्दै नकआउट चरणमा स्थान बनाएको हो । जबकी जर्मनीको लागि भने दुई खेल खेल्दासम्म अर्को चरण टाढै थियो । पहिलो खेलमा फ्रान्ससँग हारेपछि जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई हराएको थियो । समूहको अन्तिम खेलमा भने जर्मनी हंगेरीसँग हार्दाहार्दै २–२ बराबरी खेल्न सफल भएको थियो । यो नतिजाले नै जर्मनी नकआउटमा पुगेको हो ।

त्यसो त इंग्ल्यान्डले जर्मनीलाई १९६६ को विश्वकप फाइनलपछि कुनै पनि प्रमुख प्रसतयोगितामा हराउन सकेको छैन । तर, साउथगेटकै नेतृत्वमा इंग्ल्यान्ड रसियामा भएको विश्वकप २०१८ को सेमिफाइनलसम्म पुगेको थियो । उनले जर्मनीविरुद्धको खेलमा कुनै इतिहास लेख्न चाहेको बताउनुले पनि यसपटक इंग्ल्यान्डको मनोबल बढेको आभास हुन्छ । यसपटक वेम्बली रंगशालामा ४० हजार घरेलु दर्शक आउने पनि अपेक्षा गरिएको छ ।

जर्मनीले इंग्ल्यान्डसँग १९६६ को विश्वकप फाइनल हारेयता खेलेको चारै खेलमा इंग्ल्यान्डलाई हराएको छ । युरोकप १९९६ को सेमिफाइनलमा जर्मनीले इंग्ल्यान्डलाई हराएको थियो । यसपछि २०१० को विश्वकपको अन्तिम १६ मा जर्मनीले इंग्ल्यान्डलाई ४–१ ले हराएको थियो । सो खेलमा इंग्ल्यान्डका खेलाडी फ्रान्क लाम्पार्डले प्रहार गरेको बलले गोललाइन क्रस गरे पनि गोलको मान्यता दिएको थिएन ।इंग्लिस मेनेजर साउथगेट सतर्क पनि भएका छन् ।

उनले बताएका छन् कि जर्मनी वेम्बलीमा खेल्न डराउँदैन । उनले पेनाल्टीको लागि पनि तयार रहन भन्दै बताए–हामीले पेनाल्टी अभ्यास गरेका छौं । हामीले विश्वकप, नेसन्स लिगका लागि पनि पेनाल्टी अभ्यास गरेका थियौं । हामीले कोलम्बिया र स्विट्जरल्यान्डविरुद्धको पेनाल्टी सुटआउट जितेका थियौं । त्यसैले, राम्रो तयारी गरेमा ठूला प्रतियोगितामा जित्न सक्नेछौं ।

क्राउड भए पनि जर्मनीले नै जित्ने सम्भावना 

 

उपेन्द्रमान सिंह, पूर्व राष्ट्रिय गोलकिपर

जर्मनीको फुटबलको इतिहास राम्रो छ । इंग्ल्यान्ड र जर्मनीको खेल रोमाञ्चक पनि हुनेछ । अहिलेको जर्मनी नयाँ पुरानाको सम्मिश्रण भएको टिम हो । जर्मनीको एट्याकिङ राम्रो छ, तर डिफेन्स कमजोर छ । यसो भए पनि जर्मनीका दुवै विङ प्लेयर खुबै राम्रो छ । अझ तालमेल राम्रो छ ।
जर्मनीले पोर्चुगलसँग एकदमै राम्रो खेलेको थियो । फ्रान्ससँग आत्मघाती गोल खायो । जर्मनीले गोल ग¥यो भने गोल फटाफट थप्दै जान्छ, यसैले जर्मनीलाई खतरनाक टिम भनिएको हो । तर, इंग्ल्यान्ड पनि कम छैन । यो खेल फुटबलका महाराष्ट्रबीच भिडन्त हुँदैछ ।खेल त जर्मनीले नै जित्न सक्छ । अलिकति डिफेन्स कमजोर भएकोले मात्रै हो, नत्र भने जर्मनीले गोल नै खाँदैन । अहिले त किपर नेउर पनि अघि बढ्ने भएकोले गोल खाइरहेको छ । यसमा अलि ध्यान दिएमा जर्मनीलाई इंग्ल्यान्डले सक्दैन । नेउर २०१४ विश्वकपमा उत्कृष्ट थिए ।खेल इंग्ल्यान्डमै खेल्ने भएको हुँदा घरेलु दर्शकको समर्थन इंग्ल्यान्डले पाउनेछ । ४० हजार दर्शकलाई प्रवेश दिने भएको हुँदा क्राउड धेरै हुनेछ । तर, यसले जर्मनीलाई कुनै फरक पार्दैन । यति हो कि इंग्ल्यान्डलाई होम एडभान्टेज मिल्नेछ । जर्मनी ठूलो टिम भएको हुँदा त्यो क्राउडले मनोबल गिराउन सक्दैन । मेरो विचारमा जर्मनी नै जित्छ किनभने इंग्ल्यान्ड पनि यसपालि खासै राम्रो देखिएको छैन ।

आजको खेलः
जर्मनी विरुद्ध इंग्ल्यान्ड ९ः४५ बजे बेलुकी, लन्डन
स्विडेन विरुद्ध युक्रेन १२ः४५ बजे राति, ग्लास्गो

प्रतिक्रिया दिनुहोस्