बेल्जियम र चेक रिपब्लिक अन्तिम आठमा



लन्डन, (एजेन्सी) । 

बेल्जियम र चेक रिपब्लिक जारी युरो कप २०२० फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।प्रतियोगिताअन्तर्गत आइतबार राति भएको अन्तिम १६ को खेलमा बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोर्चुगलमाथि संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । बेल्जियमले पोर्चुगलमाथि १–० को कठिन जित निकाल्दै उपाधि होडमा एक कदम अघि बढेको छ । हाल फिफा वरीयताको पहिलो स्थानमा रहेको बेल्जियमले २०१६ को उपाधि विजेता क्रिस्टियानो रोनाल्डोको टिमलाई अन्तिम १६ बाटै घर फर्किन बाध्य बनायो ।

स्पेनको सेभिया शहरमा भएको उक्त खेलमा बेल्जियमले पहिलो हाफमा गरेको एक मात्रै गोलको मद्दतमा संघर्षपूर्ण जित निकालेको हो । सेभिया सहरस्थित इस्टाडियो डे ला कार्टुजा रंगशालामा भएको खेलमा बेल्जियमका लागि खेलको ४२औं मिनेटमा थ्रोगान हाजार्डले गोल गरेका थिए । मैदानको माथिल्लो भागबाट उनले हानेको शक्तिशाली प्रहारमा बलले सोझै जाली चुमेको थियो । उनको कडा प्रहारमा पार्चुगलका गोेलकिपर रुई प्याट्रिसियोले रोक्ने कुनै मौका नै पाएनन् । अन्ततः ४२औं मिनेटमा गरेको त्यही गोलको अग्रता बेल्जियमले अन्तिम समयसम्म बचाएर खेल १–० ले जित्यो । बेल्जियमलाई यसपटक प्रमुख उपाधि दावेदारमध्येको एक मानिएको छ ।निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलले खेलभरि नै बेल्जियममाथि चर्को दबाब बनाए पनि गोल भने गर्न सकेन । पोर्चुगलले खेलभरिमा कम्तीमा पनि तीनवटा सुनौलो अवसर सिर्जना गरेको थियो । छैटौं मिनेटमा डिएगो जोटा गोल गर्नबाट चुकेका थिए । त्यस्तै, क्रिस्टियानो रोनाल्डोको एक खतरनाक फ्रिकिक प्रहार बेल्जियन गोलकिपर थिबाउट कोर्टुवाले मुस्किलले बचाएका थिए ।

खेलभरिमा कुल ५८ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको पोर्चुगलको जम्मा चार वटा प्रहार अन टार्गेट भएको थियो । अर्कोतिर बेल्जियमले भने खेलभरिमा जम्मा ६ पटक मात्रै आक्रमण बुन्दा मात्रै एकपटक सट अन टार्गेट गरेको थियो । सोही एउटा प्रहार नै गोलमा परिणत भयो ।खेलको इन्ज्युरी समयमा सब्स्टिच्युट खेलाडी जुआओ फेलिक्सले हानेको कडा प्रहार अफ टार्गेट भएसँगै पोर्चुगलका लागि जारी युरो यात्रा सकिएको थियो । त्यसअघि, राफाएल गुरेरियोले हानेको शक्तिशाली लो सट पोलमा लागेर फर्किनु पोर्चुगलका लागि ठूलो दुर्भाग्य बन्यो । यता, अन्तिम आठमा प्रवेश गरेको बेल्जिमयले अब सेमिफाइनल प्रवेशका लागि इटालीको सामना गर्नेछ । इटालीले वेल्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो ।त्यसअघि, आइतबारै भएको अर्को अन्तिम १६ को खेलमा बलियो टोली नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिकले पनि जारी युरो कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश पायो । चेकले उपाधि दाबेदार डच टोलीमाथि २–० गोलअन्तरको एकपक्षीय जित निकाल्दै प्रतियोगितामा एक कदम अघि बढेको हो ।

खेलको ५५औं मिनेटमा टोलीका मुख्य युवा डिफेन्डर माथिस डि लिग्टले सोझै रातो कार्ड पाएर मैदान छाडेपछि नेदरल्यान्ड्सको संकट शुरू भएको थियो । अन्ततः सोही रातो कार्ड डच टोलीका लागि हारको मुख्य कारण बन्यो । खेल गोलरहित भएका बेला डि लिग्ट सोझै रातो कार्ड खाँदै मैदान छाडेपछि चेकले खेलमा एकाएक दबाब बढाएको थियो ।चेकका खेलाडी बल लिएर डीबक्सभित्र प्रवेश गर्न लाग्दा डच डिफेन्डर डि लिग्टले लड्दालड्दै जानी–जानी हात बलले पछाडि धकेलेपछि रेफ्रीले भिएआरमार्फत् जाँच गर्दै डि लिग्टलाई सोझै रातो कार्ड देखाएका थिए । सोही रातो कार्डले नेदरल्यान्ड्सलाई डुबायो । १० खेलाडीमा समेटिएपछि नेदरल्यान्ड्सले लगातार दुई गोल बेहो-यो ।१० खेलाडीमा झर्नुअघि नेदरल्यान्ड्सले खेलमा राम्रो पकड बनाएको थियो । खेलको ६८औं मिनेटमा चेकका लागि टोमास हुलेजले हेडिङमार्फत् गोल गरेर डच टोलीलाई ठूलो झट्का दिएका थिए । फ्रिकिकबाट आएको बल रोक्न गोलकिपर केही अघि बढेका बेला गोल लाइनमा चारजना डिफेन्डरकाबीच हुलेजले शानदार हेडिङ गर्दै बललाई सोझै जाली चुमाएपछि नेदरल्यान्ड्सको खराब समय शुरू भएको थियो ।

त्यसपछि, बराबरी गोलको खोजीमा रहेको बेला नेदरल्यान्ड्सले दोस्रो गोल बेहोरेपछि हारलाई स्वीकार्न बाध्य बन्यो । खेलको ८०औं मिनेटमा प्याट्रिक सिकले डीबक्सभित्रबाट अर्को गोल थपेर खेल २–० बनाए । उनका लागि जारी प्रतियोगितामा यो चौथो गोल हो । दोस्रो गोल बेहोरेपछि डच टोली खेलमा फर्किन सकेन ।यससँगै, समूह चरणमा तीन वटै खेल जितेर अन्तिम १६ मा पुगेको नेदरल्यान्ड्सको युरो यात्रा यसपटकलाई टुंगियो । नेदरल्यान्ड्सले समूह चरणमा सबैभन्दा धेरै आठ गोल गरेको थियो । तर, अन्तिम १६ मा नेदरल्यान्ड्सका कुनै पनि खेलाडीको जादु चेकसामु चलेन । यस खेलमा फरवार्ड मेम्फिस डिपे, फ्रेन्की डे जोङ, जर्निनियो विज्नाल्डुम खेलभरि नै फिका देखिएका थिए । अब क्वार्टरफाइनलमा चेकले डेनमार्कको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्