आज चल्ने सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू


काठमाडौं, नेस ।

काठमाडौं उपत्यकामा आज मंगलबारदेखि जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात पनि चल्ने भएका छन् ।काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले सो निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो । यसले काठमाडौं उपत्यकमा निषेधाज्ञा थप खुकुलो हुनेछ । कतिपय व्यवस्थाहरू थप खुकुलो पार्दै असार २१ गतेसम्म निषेधाज्ञाको लम्ब्याइएको छ ।

भौतिक दूरी कायम गरी र स्वास्थ्य सावधानी पालना गरेर अब २५ सिट माथिका सार्वजनिक सवारीसाधन पनि जोर–विजोर प्रणालीमा चल्न दिने निर्णय गरेका छौं ।’ –प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो । निजी सवारीसाधनमा जोर–विजोर प्रणाली यथावत् छ ।कोरोनाको दोस्रो लहर बढेपछि वैशाख १६ गतेदेखि उपत्यकामा लागू निषेधाज्ञा झन्–झन् खुकुलो बनाउँदै लगिएको हो । निषेधाज्ञाले सर्वसाधारण तथा आम मानिसको जनजीवन कठिन बन्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको निरौलाको भनाइ छ ।त्यसै गरी, बैठकले उपभोग्य सामग्री र पाठ्यपुस्तकको पसल साँझ ६ बजेसम्म खुल्ने र भाँडापसल, फेन्सी, हार्डवेयरजस्ता पसल ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको हो । खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेसनरी पसल साँझ ६ बजेसम्म खुल्ने निर्णय जारी आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै, डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोबाइल पाट्र्स पसल भने बिहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै, इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ । अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारीसाधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । त्यस्तै, सभा–सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङपुल, सैलुन, ब्युटीपार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने सञ्चालन गर्न नपाइने भएको छ ।त्यसै गरी, खुला स्थानमा भेला हुन, भीडभाड गर्न, सभा–जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि प्रतिबन्ध नै छ । विद्यालय, क्याम्पसमा भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षा सञ्चालन गर्न पनि नपाइने भएको छ ।

Skip This