शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोलालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार सोमबार सरुवा रोग विशेषज्ञ डा. बास्तोलालाई निर्देशक पदमा नियुक्त गरिएको हो ।

उमेरहदका कारण निर्देशक पदबाट डा. सागरराज भण्डारी अवकास भएसँगै रिक्त रहेको पदमा डा. बास्तोला निर्देशकमा नियुक्त गरिएको हो । डा. बास्तोला सन् २००८ देखि टेकू अस्पतालमा कार्यरत हुनुहुन्छ । पछिल्लो समय कोरोना संक्रमणलाई पहिलो बिरामी देखिनै उपचार तथा अनुसन्धानमा जुट्नुभएका डा.बास्तोलाले धेरै कोरोना संक्रमित बिरामीलाई बचाएर बिरामीको मनमुटुमा बस्न सफल हुनुभएको छ ।

टेकू अस्पताललाई कोरोना संक्रमितका लागि सुरक्षित र सेवामुखी अस्पताल बनाउँने कार्यमा डा.बास्तोलाको समूह सफल भएकै कारण कोरोना उपचारमा नमूना अस्पतालका रुपमा टेकूलाई लिईदै आएकोछ । डा.बास्तोलाले सोमबार देखिनै निर्देशकको जिम्मेवारी सम्हाली सकेको बताउँनुभयो ।

उहाँले आफु निर्देशकको जिम्मेवारी सम्हालेसँगै टेकू स्थित सरुवा रोग अस्पताललाई अझै व्यवस्थित बनाएर आम नागरिकलाई सहज रुपमा उपचार पाउने थलोका रुपमा बिकास गर्न सबै टीमलाई परिचालन गर्ने बताउँनुभयो ।

मैले पाएको जिम्मेवारीमा सम्पूर्ण अस्पतालका सहकर्मीहरुका साथै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको समेत सहयोग, सद्भाव र बिरामीका साथ बिरामीका आफन्तको साथ र समर्थन पाउने विश्वास लिएको छु । साथै आम संचारका माध्यमबाट पनि उत्तिकै सहयोगको अपेक्षा गरेको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्