युवराजको कीर्तिमान तेस्रो नम्बरमा



नयाँ दिल्ली, (एजेन्सी)

क्रिकेट जगत्मा सिक्सर किंगले परिचित अलराउन्डर युवराज सिंहले २००७ को टी–२० विश्वकपमा एक कीर्तिमान राखेका थिए । उनले एकै ओभरमा ६ छक्का प्रहार गरेर ३६२.५० स्ट्राइक रेटसँगै अर्धशतक लगाएका थिए । यो विश्व कीर्तिमान थियो । यो कीर्तिमान हाल तेस्रो नम्बरका परेको छ ।

युवराजको कीर्तिमान २०१९ मा अस्ट्रियाका मिर्जा अहसानले तोडेका थिए । उनले लक्जमबर्गविरुद्ध ३६४.२८ को स्ट्राइक रेटमा ५१ रन बनाएर भारतीय क्रिकेटरको कीर्तिमान तोडेका थिए । यसपटक रोमानियाका क्रिकेटर तथा टिमका उपकप्तान रमेश सतीसनले तोडेका हुन् ।अफ स्पिनरसमेत रहेका सतिसनले शनिबार सर्बियाविरुद्ध ३७३.३३ को स्ट्राइक रेटमा अर्धशतक बनाए र टिमलाई जित पनि दिलाए । विश्व क्रिकेटमा सबैभन्दा बढी स्ट्राइक रेट राखेर ५० रन बनाउनेमा सतीसन शीर्ष स्थानमा रहे भने मिर्जा दोस्रो स्थानमा र युवराज तेस्रो स्थानमा रहेका छन् ।

बुल्गेरियाको राजधानी सोफियामा टी–२० प्रतियोगिता खेल भइरहेको छ । शनिबारको एक खेलमा सर्बियाले पहिले ब्याटिङ गरेर सात विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो ।जवाफमा रोमानियाको टिमले विना विकेट गुमाएर ५.४ ओभरमै एक सय १६ रन जोडेर जित हासिल गरेको थियो । रोमानियाको जितमा तरनजित सिंहले १९ बलमा ५७ रन र सतीसनले १५ बलमा ५६ रन बनाएका थिए । तरनजीतको स्ट्राइक रेट तीन सय रहेको छ ।

युवराजले २००७ को टी–२० विश्वकपमा १२ बलमा अर्धशतक लगाएका थिए । यो कीर्तिमान अझै पनि युवराजसँग सुरक्षित छ । यो खेलमा उनले १६ बलमा ५६ रन बनाएका थिए । उनले इंग्ल्यान्डका बलर स्टुआर्ट ब्रोडको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । उनले सो खेलमा सात छक्का र तीन चौका प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्