डेनमार्क र इटाली क्वाटरफाइनलमा



लन्डन, (एजेन्सी) । 

डेनमार्क र इटली जारी युरो कप २०२० फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको अन्तिम १६ को खेलमा डेनमार्कले वेल्सलाई ४–० ले तथा इटालीले अस्ट्रियालाई २–१ गोलअन्तरले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

यससँगै प्रतियोगिताको पहिलो खेल दौरान अचानक मैदानमा ढलेका क्रिस्टिएन एरिक्सनको टिम डेनमार्क क्वार्टरफाइनल पुग्ने पहिलो टिम बन्यो । नेदरल्यान्ड्सस्थित घरेलु क्लब आयाक्सको घरेलु मैदानमा भएको खेलमा डेनिस टिमलाई जिताउन २३ वर्षका युवा खेलाडी कास्पर डलवर्ग नायक बने । टिमलाई जितको बाटोमा अघि बढाउन उनैले शुरूवाती दुई गोल गरेका थिए । उनकै दुई गोलको मद्दतमा डेनिस टिम जिततर्फ अघि बढेको थियो । खेलको २७औं मिनेटमा युवा खेलाडी कास्पर डलवर्गले निकै दर्शनीय गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।उनले डीबक्स बाहिरबाट हानेको प्रहारले गोलपोस्टको माथिल्लो बार च्यापेर शानदार ढंगले जाली चुमेको थियो । मात्रै २३ वर्षका फरवार्ड डलवर्ग अब युरो कप फुटबलमा डेनिस टिमका लागि २९ वर्षको अवधिमा पहिलोपटक नकआउट चरणमा गोल गर्ने खेलाडी बनेका छन् ।

सन् १९९२ पछि डेनमार्कका लागि युरो कपको नकआउट चरणमा कुनै पनि खेलाडीले २९ वर्षयता गोल पनि गर्न सकेका थिएनन् । डलवर्गले एकमात्र होइन दुई गोल गर्न सफल भए । खेलको २७औं मिनेटमा पहिलो गोल गरेका डलवर्गले दोस्रो हाफ शुरू भएको तीन मिनेटमै व्यक्तिगत दोस्रो गोल गरेर खेल २–० बनाए । यसपटक वेल्सका खेलाडीले डीबक्समा बल क्लियर गर्न नसक्दा बल सोझै आफ्नो खुट्टामा परेपछि अनमार्क रहेका डलवर्गले लो सटमा कडा प्रहार गर्दै बललाई जाली चुमाएका थिए । दोस्रो गोल गरेका उनलाई केहीबेरपछि सब्स्टिच्युट गरिएको थियो ।त्यसपछि, डेनमार्कका लागि खेलको ८८औं मिनेटमा जोकिम माइहेलले गोल गर्दै खेल ३–० बनाउँदा इन्जुरी समय ९४औं मिनेटमा मार्टिन ब्रेथवेटले चौथो गोल गरेपछि खेल डेनमार्कले जित्यो । ब्रेथवेटको गोललाई भने भिएआरले जाँच गरेर मान्यता दिएको थियो । उनको यस प्रतियोगितामा यो पहिलो गोल हो, जुन उनले चौथो म्याच खेल खेल्नेक्रममा आफ्नो नाममा दर्ता गराए ।

यससँगै डेनमार्क पछिल्ला ३३ वर्षको अवधिमा तेस्रोपटक युरो कपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ । त्यसैगरी, डेनमार्क सन् २००४ देखि यता १७ वर्षको अवधिमा पहिलोपटक अन्तिम आठसम्म पुग्न सफल भएको छ । अर्काेतिर सन् २०१६ को युरो कपको सेमिफाइनलसम्म पुगेको वेल्स यसपटक अन्तिम १६ बाटै घर फर्किएको छ । निर्णायक खेलमा वेल्सले सन् २०१६ को जस्तो जादु चलाउन नसक्दा वेल्सको उपाधि यात्रा डेनिस टिमसँगको हारबाट समाप्त भयो । अब, युरोको अन्तिम आठमा पुग्ने पहिलो टिम बनेको डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिक बीचको खेलको विजेतासँग भिड्नेछ ।

इटालीको कठिन जित

युरोपको अर्को सशक्त टोली इटालीले ९० मिनेटपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुई गोल गर्दै क्वार्टरफाइनलमा प्रवेश पायो । आइतबार बिहान भएको अन्तिम १६ को खेलमा इटालीले आफ्नो चिरपरिचित प्रतिस्पर्धी अस्ट्रियालाई २–१ को गोलअन्तरमा पराजित गर्दै प्रतियोगितामा एक कदम अघि बढेको हो ।निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समयमा दुवै पक्ष गोलविहीन हुँदा खेल गोलरहित बराबरीमा सकिएको थियो । सो समयमा दुवै टिमले गोल गर्न सकेनन् । अस्ट्रियाले ९० मिनेटमा एक गोल गरे पनि सो गोलले मान्यता पाएन ।

९० मिनेटमा हार–जित नभएपछि थप समयमा इटालीले बाजी मार्न सफल भयो । इटालीले लगातार दुई गोल गरेर खेलमा २–० को अग्रता बनाएर जितको बाटो समातेको थियो । इटालीका लागि दुई वटै गोल सब्स्टिच्युट खेलाडीले गरेका थिए । पहिलो गोल खेलको ९५औं मिनेटमा युवा स्टार फेडरिको किइजाले गरेका थिए । उनले डीबक्सभित्रबाट निकै शानदार गोल गरेका थिए ।उक्त गोलपछि जिततिर अग्रसर इटालीले खेलको १०५औं मिनेटमा इटालीका लागि अर्का सब्स्टिच्युट खेलाडी माटेओ पेसिनाले अर्को गोल थपेपछि इटालीले खेलमा २–० को अग्रता बनायो । उक्त गोल जारी प्रतियोगिताको सयौं गोलसमेत हो । तर, त्यसपछि खेलको ११४औं मिनेटमा अस्ट्रियाका लागि सब्स्टिच्युट खेलाडी सासाले कर्नर किकबाट आएको बलमा उत्कृष्ट हेडिङ गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

तर, त्यसपछि बाँकी रहेको समयमा अस्ट्रियाले दोस्रो गोल फर्काउन सकेन र इटाली २–१ ले जित्दै अन्तिम आठमा प्रवेश गर्न सफल भयो । यससँगै इटालीले जारी युरोमा पहिलोपटक गोल बेहोरेको छ । इटालीले पछिल्ला तीन खेलमा एक गोल पनि बेहोरेको थिएन भने विपक्षीविरुद्ध सात गोल गरेको थियो ।त्यत्तिमात्रै होइन, गोल बेहोरेपछि इटालीको १० खेलको क्लिन सिटको शानदार यात्रा पनि टुंगिएको छ । इटालीले सबैखाले प्रतियोगितामा खेलेका पछिल्ला १० खेलमा एक गोल पनि नबेहोरी १० वटै खल जितेको थियो । तर, इटालीले ११औं खेलमा एक गोल बेहोरेको छ । अन्तर्राष्ट्रिय फुटबलमा इटालीले आफैंले ८२ वर्षअघि राखेको ३० खेलसम्मको अपराजित कीर्तिमान यात्रालाई पनि भंग गरेको छ । इटालीले अपराजित यात्रा ३१ खेलसम्म लम्ब्याएको हो ।

इटालीले सन् १९३५ अक्टोबरदेखि सन् १९३९ जुलाइसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो । त्यसबेला टोलीका प्रशिक्षक भिटोरियो पोज्जो थिए । उनको नेतृत्वमा टोलीले लगातार दोस्रो विश्वकप तथा सन् १९३६ को ओलम्पिकमा स्वर्णपदकसमेत जितेको थियो । इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीलाई प्रशिक्षकको जिम्मेवारी दिएपछि जम्मा दुई खेल हारेको छ । पछिल्लोपटक टोलीले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता, टोलीले ३१ खेल जितेको छ ।पछिल्लो १२ खेलमा टोलीले ३२ गोल गर्दा एक गोल बेहोरेको छ । यससँगै, इटालीले धेरै खेलमा अपराजित रहेको अर्जेन्टिनासँग बराबरी गरेको छ । अर्जेन्टिनाले सन् १९९१ देखि सन् १९९३ सम्मा ३१ खेलमा अपराजित रहेको थियो । अब, इटालीले अन्तिम आठमा बेल्जियम र पोर्चुगलबीच हुने खेलको विजेताको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्