रोशी खोला रोकेरे क्रसरको डस्ट



मोतीराम तिमल्सिना , काभ्रे ।

साविक खार्पाचोक २ हाल रोशी गाउँपालिका वडा नम्वर ८ डिप्सामा रहेको नाङशाल ढुंगा रोडा उद्योग प्रा.लि को क्रसरमा उत्पादन भएको डस्टले रोशी खोला थुनिएको छ । रोशी खोलाको दुबैतिर थुपारिएको डस्टले खोला छेकिएको छ । जसका कारण विपी राजमार्ग र त्यस आसपासको बस्ति जोखिममा परेको छ ।

असार १ गते रोशी मेलम्ची र इन्द्रावती खोलाले बगाएको लेदोका कारण मेलम्ची बजार पुरिए जस्तै उक्त क्रसरले खोलामा थुपारेको डस्टका कारण सडक र रोशी खोला आसपासको बस्ति जोखिममा परेको छ । स्थानीय सरकारले पटक पटक उक्त अवरोध हटाउन अनुरोध गरे पनि जर्बजस्ति खोलामा डस्ट राखेर खोला छेकेको जानकारी दिएको छ । २०७६ माघ ११ गते उक्त क्रसरले विपी राजमार्ग रोकेर ‘डाईभर्सन’ सडक संचालन गरेको थियो । सडक छेकेको क्रसरले लगातार खोला छेकेर डस्ट गोदाम गरेको छ । ‘राजमार्ग नै अवरुद्ध गरेर डाईभर्सन गरेको विषयमा क्रसर संचालकहरुलाई कारवाहीको चेतावनी सहित स्पस्टिकरण सोधिएको थियो । कारवाहीको चेतावनी पछि डाईभर्सन रोकिएको थियो । तर लगातार क्रसरबाट उत्पादित डस्ट खोलामा थुपारिएको छ । खोलाको दायाँबायाँ थुपारिएको डस्टका कारण बस्ति र राजमार्ग दुबै जोखिममा परेको स्थानीयहरुले बताएका छन् । पटक पटक उक्त क्रसरका कारण विपी राजमार्ग र आसपासका बस्तिहरु जोखिममा परिरहँदा सरोकारवाला निकाय मौन छन् ।

क्रसरमा प्रयोग भएका मेशिनहरुको थर्काई कारण हिउँदमा समेत सुख्खा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध हुँदै आएको छ । २०७६ माघ २६ गते राति पहिरो जानु अघि माघ ११ गते रोशी खोलामा क्रसर बैकल्पिक सडक निर्माण गरिएको थियो । २०७६ असार २६ गते देखि परेको अविरल बर्षातका कारण पहिरो गई डस्ट बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । पुर्व माननियहरु तिर्थ लामा, शंकर भण्डारी सहितको लगानीमा संचालन भएको क्रसर उद्योगका कारण विपी राजमार्ग माघ ११ गते देखि अवरुद्ध छ । उद्योगको उद्घाटन भण्डारीले नै गर्नु भएको संचालक वाङचु लामाले जानकारी गराउनु भएको छ ।खानी तथा क्रसरमा नेपाली कांग्रेसका क्षेत्रिय सभापति एवं पुर्व सांसद तीर्थ लामाको २२ प्रतिशत, ग्राण्डी अस्पतालका संचालक दिपक कुँवरको ६३ प्रतिशत (सोहि प्रतिशतमा नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री शंकर भण्डारीको पनि शेयर छ ।, तीर्थ लामाका भाई नानिबाबु लामा २ प्रतिशत, नेकपा नेता सुजन लामा २ प्रतिशत, भिम लामा ५ प्रतिशत, सेराप लामा १ प्रतिशत, वाङचु लामा ४ प्रतिशत शेयर छ ।

उद्योगका संचालकहरुले थुपारिएको डस्ट खोलामा नभई ब्यक्तिको जमिनमा भएको बताएका छन् । क्रसरसँगै जोडिएको कुवेर सिं लामाको नाममा रहेको जग्गा संचालक सेराप लामाको बाबुको हो । २०६४ माघ देखि शुरु भएको क्रसरले पटक पटक सडकमा अवरोध पु¥याएको भन्दै कारवाहीका लागि पत्र काटिएको थियो । तत्कालिन प्रहरी प्रमुख एसपी पुजा सिंहले २०७२ सालमै उक्त उद्योगमा संचालन भईरहेको स्काभेटरको चावी थुतेर कारवाही प्रकृया अगाडी बढाउनु भएको थियो ।

राजनीतिक दबाबका कारण कारवाही नभई निरन्तर संचालन भएका कारण उक्त स्थानमा पहिरो गएको हो ।गाउँपालिका अध्यक्ष डिबी लामाले क्रसर तथा खानीहरुका कारण उत्पन्न समस्या समाधानका लागि पटक पटक छलफल गरेको बताउनु भयो । स्थानीयहरुले उजुरी दिएका आधारमा भएको छलफलमा वातावरण मैत्री उद्योग संचालन गर्ने प्रतिवद्धता ब्यक्त गरेको उहाँले बताउनु भयो । २०६६ साल असोज ६ गते घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरिएको उद्योगले बार्षिक १ करोड २८ लाख २० हजार क्युफिट रोडा, ढुगा उत्पादन गर्ने भने पनि उद्योग नै नविकरण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्