दलितले नै भने, सरस्वतीबाट जातीय विभेद सम्भव छैन



नेपाल समाचारपत्र, काठमाडौं ।

दलित भएकै कारण कोठा भाडामा नदिने भनी आरोप सहिरहेकी सरस्वती प्रधानको सम्बन्ध खेलकुदसँग गाँसिएको छ । स्कुल जीवनदेखि नै फुटबलमा लागेकी प्रधान महिला राष्ट्रिय फुटबल टिमकी सदस्यसमेत हुनु हुन्थ्यो । उहाँ हाल अखिल नेपाल फुटबल संघ एन्फा मा कर्मचारी हुनुहुन्छ ।

खेलकुद जगत्मा सामान्यतः राजनीतिक, सामाजिक, जातिगत विभेद हुन्न । नेपाली र खेलाडी विशेषण मात्र हुन्छ । विभिन्न जातजातिलाई एउटै गरेर बस्ने थलो खेलकुद जगत्मा रहेकी प्रधान त्यस्तै जाति विभेदका कारण अप्ठ्यारोमा पर्नुभयो । जातिविभेद गरेकी भनेर उजुरी दिएपछि तीन दिन सम्म उहाँ प्रहरीको हिरासतमा रहनुभयो ।

प्रधानसँग खेलकुदमा जोडिएका दलित तथा गैरदलित सदस्यहरूले एउटै टिप्पणी गरेका छन्– को दलित को गैरदलित, को कुन दल र कुन पार्टीको, को मधेसी र पहाडी, कसको जात के केही हेरिएन, सरस्वतीले पनि कहिल्यै कुनै प्रकारको विभेद देखाउनु भएन भनेका छन् । एक पूर्व  खेलाडीले भने, ‘एउटै बोतलबाट कतिपटक पानी खाइयो। एन्फामा विभिन्न जातका व्यक्तिले काम गरिरहेका छन् ।

उहाँले कसैलाई तिमी तल्लो जात म माथिल्लो जात भनेर विभेद गरेको देखिएको छैन । उहाँको बारेमा यस्तो आरोप लाग्नु अचम्मकै कुरा हो’ –एक पुराना कर्मचारीले बताए । नेपाली राष्ट्रिय यु–१६ महिला फुटबल टिमसँग व्यवस्थापन सदस्यका रूपमा केही वर्ष अघि भुटान गएको स्मरण गर्दै नेपाली टिमकी खेलाडी सावित्री किसानले नेपाल समाचारपत्रलाई बताउनुभयो– ‘म्याम एकदमै मित्रभाव राख्ने व्यक्ति हुनुहुन्छ ।

हामीलाई कहिल्यै नराम्रो व्यवहार गर्नुभन । उहाँले हामीलाई धेरै हेरचाह पनि गर्नुभयो । बिरामीपर्दा शरीर छोएरै हेरचाह गर्नुभयो । उहाँले हामीलाई विदेशमा पनि आमाले जस्तै माया दिनुभयो ।’

महिला यु–१६ टिमकै अर्की खेलाडी अस्मिता रामपालको टिप्पणी पनि त्यस्तै थियो– ‘म्यामबारे कुरा सुन्दा म त अचम्मै भएँ । म्यामले हामीलाई धेरै माया गर्नुहुन्छ । उहाँले कतै पनिआभास दिनु भएन कि हामी घर भन्दा टाढा छौं भनेर ।

उहाँ हामीसँगै खानुहुन्छ र एउटै बोतलको पानी समेत शेयर गर्नुहुन्छ । सन्चो नहुँदासमेत हेरचाह गरिदिनुहुन्छ । म्यामले कति पटक घरबाट हामीलाई साधारण खाने कुरासमेत ल्याइदिनु हुन्छ । एकदमै मायालु स्वभावको व्यक्तित्व हुनुहुन्छ ।

 

उहाँले भेदभाव गर्नुहुन्न, मेरो विश्वास छ ।’नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका एक खेलाडीले पनि नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो– ‘उहाँ मैले सानैदेखि चिनेकी दिदी हुनुहुन्छ । उहाँ शालीन व्यक्ति हो । नराम्रो व्यवहार उहाँको छैन । तर, यो कुरा आउँदाम स्तब्ध भएँ । उहाँले सबै खेलाडीलाई माया गर्नु भएको छ । भेदभाव पटक्कै गर्नुभएन ।

 

प्रतिक्रिया दिनुहोस्