भागबण्डामा लागेका प्रतिपक्षसँग सरकारको विरोध गर्ने नैतिक अधिकार छैन : बिजुक्छे



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दलहरु सत्तामा जाने लुछाचँुडी छाडी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । समसामयिक राजनीतिबारे संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले प्रजातन्त्रको एउटा महत्वपूर्ण सर्त निर्वाचन हो भन्दै सर्बोच्च अदालतले २० जना मन्त्रीको नियुक्तिलाई बदर गरेर यही सन्देश दिएको बताउनुभयो । भागबन्डामा लागेका प्रतिपक्षसँग सरकारको विरोध गर्ने नैतिक अधिकार रहँदैन भन्दै उहाँले आफै सरकारमा बसेर चुनाव गराउने स्वार्थकै कारण झगडा भैरहेको बताउनुभयो ।

निर्वाचनबाटै जनताको मत र आदेश लिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै सरकारमा जाने बाटो चुनावपछि पनि हुने भएकाले जनतासँग मत लिन तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो । शासक दलका नेताहरु स्वच्छ मतिले बोलिरहेका छैनन् भन्दै उहाँले संसद् र राजतन्त्र पुनःस्थापना हुन्छ भन्ने अनुमान गर्नु एउटा तर तर्कले पुष्टि गर्नु अर्को कुरा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“आफै प्रधानमन्त्री र मन्त्री बन्नुपर्ने मानसिकता भएकाहरुबाट के आशा गर्नु र उहाँहरुको चालबाट के होला र नहोला भन्न सकिन्न”।ओलीसँग नमिलेको हो भने अलग्ग पार्टी बनाउन माधब नेपाललाई कसले रोकेको छ उहाँले भन्नुभयो ।कम्युनिस्टहरुले पुँजीपति वर्गलाई कहिल्यै शासनमा ल्याउँदैनन् भन्दै नेपाली कांग्रेस या देउवालाई अहिले आएर प्रगतिशील देख्नु पछाडि कि त बुद्घि बिग्रेको वा विदेशीले मिलाइदिएको कारण हुन सक्छ बिजुक्छेको धारणा छ।

उहाँले दुई पार्टी ब्यवस्था नै गलत रहेको र वेस्टमिनिस्टर सिस्टम असफल सिद्घ हुँदै गएको बताउनुभयो । घुमाइफिराइ चीनको राजनीतिक व्यवस्थामा जानुको विकल्प छैन भन्दै विपक्ष मोर्चालाई भारतीय विस्तारवादको दबाब छ भन्ने प्रस्ट बुझ्न सकिने बताउनुभयो । भनेजस्तो नगरे भारतले पुरानो खाता पल्टाउने र सबै खुल्ने डर उनीहरूमा रहेको उहाँले बताउनुभयो ।शासक दलहरू दक्षिणबाट प्रभावित छन् भन्दै अहिले नेपालको सन्दर्भमा भारतको दुबै हातमा लड्डु रहेको अबस्था छ भन्नुभयो । देशमा यदि विदेशी प्रभाव छ भने त्यो दक्षिणको भएको बताउदै अहिले प्रचण्ड प्रायश्चित्त गर्दै छन् भन्ने देखिन्छ भन्नुभयो ।

बिजुक्छेले संसदले गर्ने काम एक एक गरेर अदालतलाई जिम्मा दिनु उपयुक्त नहुने बताउनुभयो । यदि जनता र अदालतले गर्ने काम अदालतलाई जिम्मा दिने हो भने अर्को संबिधानमा सोही अनुसार बन्दोबस्त हुनुपर्ने बताउनुभयो ।
बिपक्षी दलहरु अदालत जानु अनौठो नभएको भन्दै उहाँले यस अघि पनि उनीहरु अदालत गएको उल्लेख गर्नुभयो । नेमकिपाले निर्वाचनलाई उपयुक्त विकल्प भनेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारको समर्थनको नगरेको संकेत गर्दै उहाँले नेमकिपाले निर्वाचनको विरोध र स्वीकारको सर्त आफ्नो दल सरकारमा सहभागी हुने वा नहुने भन्ने दृष्टिले हेर्दैन भन्नुभयो ।

बरु निर्वाचनलाई पनि एक वर्गीय र राजनैतिक संघर्ष तथा आन्दोलनको रूपमा हेरेको बिजुक्छेले बताउनुभयो । अध्यक्ष बिजुक्छेले नेपाली कांग्रेस , एमाले र माओवादी केन्द्रका नाम र रङ फरक भए पनि यि सबै दल वर्गीय रूपमा पुँजीवादी राजनीतिक दल नै भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्