नेपालमा ‘डेल्टा भेरियन्ट प्लस’को पहिचान धुलिखेल अस्पतालले गरेको हो : डा. श्रेष्ठ



भगवती तिमल्सिना, काठमाडौं ।

नेपालमा डेल्टा भेरियन्ट प्लस कोरोना भाइरसको पहिचान धुलिखेल अस्पतालको ल्याबले पत्ता लगाएर स्वास्थ्य मन्त्रीलाई रिपोर्ट उपलब्ध गराए पनि विश्व स्वास्थ्य संगठनले यो रिपोर्टलाई सहजै स्वीकार नगरी हङकङ र भारतमा परिक्षण गराएर नेपालमा नयाँ कोरोना भाईरस डेल्टा प्लस देखिएको सूचना बाहिर ल्यायो । तर हामीले हरेस खाएका छैनौ । विश्व स्वास्थ्य संगठनले हङकङ, भारत जहाँ लगे पनि त्यहि रिपोर्टको आधारमा नेपाल सरकारले नेपालमा कुन कुन प्रकारको भाईरस छ भनेर सार्वजनिक गर्यो ।

धुलिखेल अस्पतालमा कोरोना संक्रमणको शुरुवाती दिन देखिनै कोरोना भाईरसको बिषयमा अध्ययन अनुसन्धानमा जुट्नुभएका डा.राजीव श्रेष्ठले बताउँनुभयो । उहाँले यसमा हामीले हरेस खाएको छैनौ हाम्रो रिपोर्ट स्ट्यानफोर्ड, हार्डवर्ड युनिभर्सिटिले मान्छ भनेपछि अहिलेको अवस्थामा जनचेतना गराउँनु मात्र ठूलो कुरा हो । आम नागरिकलाई त्रसित बनाएर नभै यस्तो छ सचेत हुनुपर्छ है भन्ने जनचेतना जगाउँनु हाम्रो उदेश्य हो । हामी यस्ता बिषयमा सजग हुनुपर्छ । यसै कारणले धुलिखेल अस्पतालको ल्याबमा नेपालमा फैलिएको कोरोना भाईरस पहिला कुन कुन मुलुकमा देखिएको थियो र अहिले हाम्रोमा छ भनेर अध्ययन अनुसन्धान गर्ने काम भैरहेको छ ।

अहिले डेल्टा भेरियन्ट ए वाई प्लस वान भनेर पुन परिभाषित गरेको छ । त्यो रिपोट शुरुमा धुलिखेल अस्पतालले नै अध्ययन अनुसन्धान गरि नेपालको स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनमा रिपोर्ट गरिसकेका थियौ । डेल्टा भेरियन्ट नेपालमा पहिला देखिएकै हैन, नेपालमा देखिनु पहिलानै जापानमा देखिईसकेको थियो । यसलाई नेपाल भेरियन्ट भन्न मिल्दैन । बरु नयाँ खालको म्यूटेसन नेपालमा आएको भन्न मिल्छ भनेर नेपाल सरकारलाई रिपोर्ट गरेकै हो । नेपालमा डेल्टा प्लस भेरियन्ट मात्र नभै अन्य भेरियन्ट पनि आएका छन् । यसको लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँगको सहकार्यमा धुलिखेल अस्पताल काठमाडौ विश्व विद्यालय शिक्षण अस्पतालले काम गर्दैछ ।

डा. श्रेष्ठ भन्नुहुन्छ—यति मात्र नभै नेपालमा खोप लगाउँने काम भैरहेको छ । यो खोपले के कस्तो काम गरे नगरेको बिषयमा पनि थप अनुसन्धान गर्नुपर्ने हुन्छ । कोरोना भाईरस बिरुद्ध दुईपटक खोप लगाएकाहरुमा दुईवटा अनुसन्धान गर्नुपर्ने हुन्छ । कोभिडसँग लड्ने क्षमता कति छ र कति महिना सम्म रहन्छ भनेर प्रत्येक महिनामा फलोअप गर्नुपर्ने हुन्छ । अर्को भनेको यदि कसैले दुईवटा भ्याक्सिन लिएर पनि कोभिड लागेको छ भने त्यो भाईरस पहिलाकै नेपालमै भएको भेरियन्टले गर्दा हो कि ? अझ नयाँ भेरियन्ट आयो भन्ने बिषयमा अनुसन्धान गर्नु जरुरी छ । अहिले पहिलाको जस्तो भाईरसको र कोरोना भाईरसको स्वरुप परिवर्तन शैली नै फरक छ ।

कोरोना भाईरसले चाडै चाडै स्वरुप परिवर्तन गरिरहेको छ । यस्तो हुँदा कति चाडै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने बिषयमा सजग रहनुपर्छ । पहिला डेल्टा भेरियन्ट प्लसमा के फो वान म्यूटेसन भयो त्यतिबेला सम्म यो छिटो छिटो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने हामीलाई थाहै थिएन । तर यो भाईरस छिटो फैलने र संक्रमितलाई छिटो गम्भिर अवस्थामा पुर्याउँने सम्भावना बढी भएको कुरा अहिले पत्ता लाग्यो । यस्तो अनुसन्धानले सुरक्षा अपनाउन र खोपको बिकास गर्नमा ठूलो मदत गर्छ ।

यस बिषयमा सर्वसाधारण व्यक्तिले पनि उत्तिकै थाहा पाउँनुपर्ने हुन्छ । लकडाउँन खोल्ने भनेर फेरि पहिलाकै अवस्थामा पुग्यो भने नियन्त्रण गर्न सकिन्न । यसका लागि आम नागरिक आफै सचेत र सुरक्षित नभएसम्म लकडाउनले मात्र कोरोना भाईरस नियन्त्रण हुनै सक्दैन । यस्तो अवस्थामा सरकारले गर्न सक्ने भनेको लकडाउँन हो । आम नागरिक आफै सचेत र जिम्मेवार नभए सम्म कोरोना भाईरस नियन्त्रण गर्नै सकिन्न ।

अबको तेस्रो लहरमा बच्चाहरुलाई जोगाउन सक्नुपर्छ । पहिलो चरणमा जेष्ठ नागरिकहरु बढी संक्रमित भएका थिए । त्यसपछि जेष्ठ नागरिकलाई लक्षित गरेर खोप आयो । दोस्रो लहर आउँदा जेष्ठ नागरिक धेरैलै एक मात्रा भएपनि खोप लगाईसकेका थिए । युवा पुस्ता खोपबाट बन्चित थिए र उनीहरु बढी मात्रामा फिल्डको काममा खटिएका थिए । त्यसैले उनीहरु बढी संक्रमित तथा मृत्युको मुखमा पुगे । यतिबेला १८ बर्ष माथिका धेरैले एक मात्रा मात्रै भएपनि कुनै न कुनै पेसा, व्यवसायबाट खोप लगाएका छन् ।

दोस्रो चरणको वेभले एक डोज लगाउँदा पनि मान्छेमा कोरोना लागे पनि गम्भिर प्रकृति कमै हुँदो रहेछ भन्ने देखियो । त्यसैले अहिले सबै नागरिकले खोप प्राप्तीका लागि सघर्ष गर्दैछन् ।जो १८ बर्ष मुनीका छन् उनीहरुले कोरोना बिरुद्धको खोप नै पाएका छैनन अबको लहरमा उनीहरु नै बढी प्रभावित हुन्छन् । अब सबै नागरिक सचेत हुनुपर्यो अनि मात्र बच्चाहरुलाई सुरक्षित राख्न सक्छौ ।

अहिले अधिकांस बच्चाहरु घरमै अनलाईन कक्षा लिने, घरमै बस्ने हुन्छन् । जो घरबाहिर काममा जानुपर्ने हुन्छ उनीहरुले बाहिरबाट कोरोना ल्याएर बच्चालाई नसारोस भन्नका लागि सचेत र जिम्मेवार हुनु जरुरी छ । तोकिएको उमेर समूहका व्यक्तिका लागि बनेको खोप पाएसम्म सबैले लगाउँनु । माक्स, व्यक्तिगत दूरी, साबुन पानीले हात धुने, स्थानिटाईजर प्रयोग गर्ने बानीको बिकास गर्नुपर्छ । यति उपाय अपनाएको खण्डमा खोप नपाउँदा सम्म सुरक्षित रहन सकिने डा.श्रेष्ठ बताउँनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्