‘राष्ट्रपतिमा केपी ओली मोह’



काठमाडौं, (नेस) । 

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथि बहस गर्दै वरिष्ठ अधिवक्ताहरूले प्रतिनिधि सभा पुनःस्थपना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विभिन्न आधार भएको दाबी गरेका छन् ।बिहीबार संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपतिमा केपी ओली मोह भएको उल्लेख गर्नुभयो । उहाँले राष्ट्रपतिले केपी ओलीबाहेक अन्य व्यक्तिलाई प्रधानमन्त्री देख्न नचाही ओली मोह भएको उल्लेख गर्नुभएको हो ।

अर्का वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सरकार बनाउनका लागि स्वतन्त्र सांसद भए पनि हुने उल्लेख गर्दै सोबमोजिम पार्टीले ह्विप लगाउन नसक्ने बताउनुभयो ।यसै गरी अर्का वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न उद्दत हुनुभएको बहसका क्रममा बताउनुभएको थियो । वरिष्ठ अधिवक्ताहरू प्रेमबहादुर खड्का र खगेन्द्रप्रसाद अधिकारीले पनि अल्पमतमा परिसकेका प्रधानमन्त्री ओलीले पुनः सरकार बनाउनका लागि दाबी गर्न नसक्ने उल्लेख गर्नुभएको थियो ।

अर्का वरिष्ठ अधिवक्ताहरू मिथिलेश सिंह तथा गान्धी पण्डितले पनि कांग्रेसका सभापति देउवाले स्पष्ट रुपमा बहुमत देखाएको अवस्थामा उहाँले सरकार बनाउन यथेष्ट आधार भएको दाबी गर्नुभएको थियो ।रिट निवेदकहरूलाई शुरूमा छुट्याइएको १२ घण्टामध्ये अव चार घण्टा ३० मिनेट बाँकी रहेको बताइएको छ । सो समय सकिएपछि सरकार पक्षका कानुन व्यवसायीहरूको बहस शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्