बनेपामा १ अर्ब ५५ करोड ६९ लाख, नमोबुद्धको ६५ करोड ५९ लाख बजेट सार्वजनिक, तेमालमा गणपुरक संख्या पुगेन



मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिकाकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्व ५५ करोड ६९ लाख ६८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने नमोबुद्ध नगरपालिकाले ६५ करोड ५९ लाख बजेट सार्वजनिक गरेको छ । जिल्लामा रहेका १३ वटा पालिका मध्ये धुलिखेल र पनौतीले असार ७ गते नै बजेट प्रस्तुत गरिसकेका थिए भने महाभारत गाउँपालिकाले असार ९ गते बजेट सार्वजनिक गरेको छ । पाँचखाल, बनेपा र मण्डनदेउपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छन् । नमोबुद्ध र पाँचखालले प्रस्तुत गरेको बजेटमा अंक मात्रै प्रस्तुत गरिएको छ । बेथान्चोक गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा पनि अंक मात्रै प्रस्तुत गरिएको छ ।

तेमाल गाउँपालिकामा एमाले र माओवादीका जनप्रतिनिधिहरुले गरेको बहिस्कारका कारण बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बेथान्चोक गाउँपालिका, खानिखोला गाउँपालिका, महाभारत गाउँपालिकाले पनि बजेटको अंक मात्रै प्रस्तुत गरेको छ । रोशी, चौरीदेउराली, भुम्लु लगायतका पालिकाहरुले पनि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । अघिल्लो वर्ष ढिलो प्रस्तुत गर्ने पालिकाहरुले यो वर्ष समयमै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । अधिकांश पालिकाहरुले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी बजेट प्रस्तुत गरेका छन् । वितरणमुखी बजेटमा निर्वाचनमुखी कार्यक्रम प्रस्तुत गरिएको छ ।

बनेपा नगरपालिकाले प्रस्तुत गरेको बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ २६ करोड ९ लाख, आर्थिक विकास क्षेत्रतर्फ २ करोड ३२ लाख, सामाजिक विकासतर्फ ५ करोड ५० लाख पूर्वाधार विकासतर्फ १० करोड ६८ लाख लगाएत विभिन्न क्षेत्रमा प्रस्ताव गरिएको छ । नगर सभामा नगर प्रमुख तथा सभा अध्यक्ष लक्ष्मी नरसिं बादेले आर्थिक वर्ष २०७८/७९ निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

बादेले सभामा सबै वडा कार्यलय सम्म पक्की सडकको पहं’Fच पु-याउने, सडकका दायाँबायाँ पदयात्रीका लागी फुटपाथ निमार्ण सहित हरियाली प्रर्बद्धन गर्ने, चण्डेश्वरी मार्गदेखी गोसाईथान सम्म १६ सय सिँढी सम्पन्न गर्ने, नगर भित्रका मठ मन्दिर पाटी पौवा, गुठी पोखरी लगायत पौराणीक, धार्मिक तथा सास्कृतिक सम्पदाहरुको संरक्षणमा जोड दिने, अब्यबस्थित पार्कङ्गिलाई ब्यबस्थित गर्न बहुतल्ले पार्किङ्ग निमार्ण, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन र पर्यटन जस्ता विषयलाई प्राथमिकतामा राखिएको बादेले वताउनु भयो ।

जनतासगं मेयर कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, सार्वजनिक शौचालय, नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा खेलकुद पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्य लगायतका बाजेबज्यै पार्क नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरको आठौ नगर सभामा उप प्रमुख रेखा सापकोटा दाहालले ‘म बनाउँछु मेरो बनेपा’ भन्ने नारा सहित बजेट प्रस्तुत गर्नु भएको थियो । सभामा उपप्रमुख रेखा सापकोटाले आर्थिक वर्ष २०७७÷०७८ को स्थिति समीक्षा प्रस्तुत गर्दै चालु वर्षमा भएका विकास निर्माण तथा कोभिड नियन्त्रणमा नगरपालिकाले गरेका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ आर्थिक विधेयक तथा विनियोजन विधेयक प्रस्तुत गर्नु भएको थियो । बजेटले समग्र क्षेत्रमा नागरिकहरुको अभिभावक नगरपालिका भएको महसुस हुने गरी समेटिएको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले जानकारी दिनु भयो । बजेटको कार्यान्वयनले नगरपालिकाले लिएको आर्थिक समृद्धी हासिल हुने र नगरको दीर्घकालिन सोच पुरा हुने प्रमुख प्रशासकिय अधिकृत उप्रेतिले बताउनु भयो ।
त्यस्तै नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ६५ करोड ५९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको दसौं नगर सभामा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ६५ करोड ५९ लाख ४७ हजार ५ सय ३० रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नु भएको हो । जसमध्ये चालुतर्फ ५० करोड ७७ लाख र पुँजीगततर्फ १४ करोड ८२ लाख ४७ हजार ५ सय ३० रुपैयाँ खर्च प्रस्ताव गरिएको छ । नगरसभा बैठकमा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख तिमल्सिनाले स्थानीय सरकार, उत्तरदायी सरकार, विकाशशील सरकार, जनमुखी सरकार, बलियो सरकार राष्ट्र समृद्धि सरकार हामी सबैको उन्नतिको आधार भन्ने मान्यता सहित आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम तयार पारिएको बताउनु भयो ।

नगरपालिकाले आगामी आर्थिक बर्षमा प्रत्येक वडामा एउटा नगर गौरवको आयोजना सञ्चालन गर्ने नीति तय गरेको छ । समृद्ध नगरको अभियानलाई मुर्तरुप दिने गरी नीति तथा कार्यक्रम तय गरिएको र त्यसको प्रभावकारीरुपमा कार्यान्वयन गर्ने नगर प्रमुख तिमल्सिनाले बताउनु भयो । नमोबुद्धले नगरका प्रत्येक वडामा कृषि औजार बैंक स्थापना गर्ने नीति तय गरेको छ भने किसानका गरा सधैं हराभरा मेरो कृषि मेरो पौरख नारासहित आगामी आर्थिक बर्षमा नमोबुद्ध युवा नवप्रवर्तन कृषि कार्यक्रम सञ्चालन गर्ने नीति तय गरेको छ ।

त्यस्तै सबै वडामा पशु तथा कृषि बिमा कार्यक्रम विस्तार गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने, नगर भित्रै शीत भण्डारको व्यवस्था गर्ने, आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाका लागि पहल गर्ने नगरप्रमुख तिमल्सिनाले बताउनु भयो । डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली कार्यक्रम सञ्चालन गर्ने, नमोबुद्ध सिड बैंक स्थापना गर्ने तथा पाडी संरक्षण कार्यक्रम सञ्चालन गर्ने तिमल्सिनाले बताउनु भयो । पर्यटन उद्यमीको हात नमोबुद्धको साथ नारासहित उद्योग, पर्यटन सहकारी तथा संस्कृति प्रर्वद्धनसम्वन्धी नीति तथा कार्यक्रम तय भएको छ ।

शिक्षा क्षेत्रको विकासका लागि पहिलो अक्षर क लेखौं आफ्नै सामूदायिक विद्यालयबाट कार्यक्रम सञ्चालन गर्दै सामूदायिक विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्दै शिक्षामा गुणस्तर वृद्धि गर्ने नीति तय भएको छ । विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन करार गर्ने, नगरभित्र कानुन तथा सामाजिक विश्वविद्यालय स्थापनाको पहल गर्ने नगर प्रमुख तिमल्सिनाले बताउनु भयो । नगर प्रमुख तिमल्सिनाले कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई नमोबुद्ध कोरोना योद्धा सम्मानको व्यवस्था गर्ने जानकारी पनि दिएका छन् ।

सुत्केरी हुने महिलालाई वडा कार्यालय मार्फत निःशुल्क एम्बुलेन्स वा अन्य यातायातको व्यवस्था गर्ने, एक घर एक आयुर्वेदिक औषधीको विरुवा रोपन कार्यक्रम सञ्चालन गर्ने, सुत्केरीसँग उपमेयर तथा गर्भवती महिला पोषण कार्यक्रम सञ्चालन गर्ने नीति पनि नमोबुद्ध नगरपालिकाले लिएको छ । महिला र बालबालिकामैत्री नीति तथा कार्यक्रमलाई जोड दिँदै नमोबुद्धले दुई छोरी मात्र जन्माएर स्थायी परिवारनियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने घोषणा पनि गरेको छ भने नमोबुद्ध नगरको इच्छा, छोरी बुहारीलाई रोजगारी र उच्च शिक्षा भन्ने नारालाई सार्थक बनाउने तथा किशोरीहरुलाई विभिन्नखाले हिंसाबाट बच्न आत्मरक्षा तालिम सञ्चालन गर्ने तथा बालश्रममुक्त नगर घोषणा गरिने नगर प्रमुख तिमल्सिनाले बताउनु भयो । आगामी आर्थिक बर्षभित्र सबै वडाको आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने तथा २० बर्षे दीर्घकालिन सोचका साथ एकीकृत नगर विकास योजना सञ्चालन गर्ने तिमल्सिनाले जानकारी दिएका छन् ।

नमोबुद्ध नगर चक्रपथ निर्माण, नमोबुद्ध वृहत खानेपानी आयोजनाको कार्यान्वयन, नमोबुद्ध बालमैत्री पार्क निर्माण, सबै स्वास्थ्य संस्थाको भवन निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसमेत लिइएको छ । नगरसभा बैठकमा उपप्रमुख रामदेवी तामाङले चालु आर्थिक बर्षको प्रगति विवरण पेश गर्नु भएको थियो । चालु आर्थिक बर्षमा ७१ करोड ५१ लाख ९९ हजार २ सय ७० रुपैयाँ बिनियोजन भएकोमा हालसम्म ३८ करोड ७७ लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिनु भयो । कारोना भाइरस महामारीका बाबजुद अधिकांश नगरस्तरीय र वडास्तरीय योजनाहरु सम्पन्न हुने चरणमा रहेको र आर्थिक बर्षको अन्त्यसम्ममा अपेक्षाकृत प्रगति हासिल हुने तामाङले बताउनु भयो ।

बैठकमा विधायन समिति संयोजक एवं वडा नम्वर २ का अध्यक्ष सञ्जीव ढकालले विनियोजन विधेयक २०७८, सार्वजनिक लेखा समिति संयोजक एवं वडा नम्वर १० का अध्यक्ष रामकष्ण अधिकारीले आर्थिक विधेयक २०७८ पेश गरेका थिए । बजेट अधिवेशनको दोस्रो बैठक असार २८ गते बस्ने प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्