दोलखामा ११ प्रतिशतभन्दा बढी बालबालिका संक्रमित



चिरञ्जीवी मास्के, दोलखा। 

दोलखा जिल्लामा उल्लेख्य संख्यामा बालबालिका समेत कोरोना महामारी (कोभिड–१९) बाट संक्रमित बनेका छन् । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुई सय २५ बालबालिका रहेका छन् ।
तथ्याङ्कअनुसार दोलखामा कुल संक्रमित संख्याको ११ दशमलव १३ प्रतिशत बालबालिका रहेको देखाएको छ । संक्रमित बालबालिकामध्ये एक जनाको मृत्युसमेत भएको छ । जिल्लामा १० वर्षमुनिका बालक २४ जना र बालिका १८ जना गरी ४२ जना र १० देखि १९ वर्ष उमेरका बालक ८८ जना र बालिका ९५ जना गरी एक सय ८३ जना कोरोना संक्रमित रहेका छन्् ।

जिल्लाको दुई नगरपालिका र सात गाँउपालिकाबाट प्राप्त तथ्याङ्कअनुसार सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा बालबालिकाहरू संक्रमित बनेका छन् । भीमेश्वर नगरपालिकामा पाँच सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७४ जना बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनुभयो । जसमा १० वर्ष मुनिका २० जना र १० देखि १९ वर्ष उमेरका ५४ जना रहेको खड्काले बताउनुभयो ।त्यसै गरी, तामाकोशी गाउँपालिकामा तीन सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७२ जना बालबालिका रहेको स्वास्थ्य शाखा प्रमुख अरूणकुमार मिश्रले बताउनुभयो । जसमा १० वर्षमुनिका बालबालिका ११ जना र १० देखि १९ वर्ष उमेरका ६१ जना रहेको स्वास्थ्य शाखा प्रमुख मिश्रले बताउनुभयो ।जिल्लाको बैतेश्वर गाँउपालिकामा सबैभन्दा कम बालबालिका संक्रमित भएको तथ्याङ्कले देखाएको छ । प्राप्त तथ्याङ्कअनुसार बैतेश्वर गाँउपालिकामा दुई जना बालक र एक जना बालिका गरी तीन जना बालबालिका संक्रमित बनेका छन् ।

तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरूणकुमार मिश्र बालबालिका घरभित्रै बसिरहन नसक्ने, अभिभावक संक्रमित भएको अवस्थामा उनीहरूको सम्पर्कमा पुगिरहने जस्ता कारणले बढी संक्रमित भएको पाइएको बताउनुहुन्छ । १८ वर्ष मुनिका बालबालिकाका लागि खोपको समेत परीक्षण भईनसकेको अवस्थामा अभिभावकले बढी सर्तकता अपनाउनुपर्ने मिश्रको भनाइ छ ।चरिकोट अस्पतालका प्रमुख एमडीजीपी डक्टर विनोद दंगाल कोरोनाको इन्डियन भेरियन्टबाट बढीमात्रामा बालबालिका प्रभावित भएकोले नेपालमा पनि त्यसको प्रभाव देखिएको बताउनुहुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने, संक्रमित अभिभावकको सम्पर्कमा रहनेजस्ता कारणले पनि बालबालिकामा संक्रमण बढी देखिएको डाक्टर दंगाल बताउनुहुन्छ ।अहिलेसम्म १८ वर्ष मुनिका बालबालिकाहरुको लागि खोपको परीक्षण नभएको तथा तेस्रो भेरियन्टबाट बालबालिकाहरू बढी प्रभावित हुने विज्ञहरूको विश्लेषण रहेकाले पनि उनीहरूको स्वास्थ्यको बारेमा बढी सर्तक रहनुपर्ने डाक्टर दंगालको भनाइ छ । बालबालिकाहरूलाई संक्रमणबाट जोगाउन पोषिलो खानेकुरा दिने, संक्रमित अभिभावकको सम्पर्कबाट टाढा राख्ने, नियमितरूपमा साबुनपानीले हात धुन लगाउने जस्ता कार्य गर्नुपर्ने डाक्टर दंगालको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्