दक्षिणकालीमा भेटिएको शवको पहिचान, हत्यारा पत्ता लाग्न बाँकी



नेपाल समाचारपत्र, काठमाडौं ।

दक्षिणकाली मन्दिर परिसरभित्र विभत्स ढंगले हत्या गरिएकी युवतीको पहिचान खुले पनि हत्यारा भने अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । उक्त शव कालोपुलमा बस्दै आएकी सन्तोषी सुब्बाको भएको र उनलाई धनबहादुर तामाङले धर्मछोरी बनाएर राखेको खुले पनि उनलाई त्यहाँ पु-याएर कस्ले हत्या ग-यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले हत्याका विषयमा केही नयाँ तथ्य फेला परेकोले अपराधी छिट्टै पक्राउ पर्ने दाबी गर्नुभएको छ ।

सोमबार मन्दिर परिसर हुँदै जङ्गलमा च्याउ टिप्न गएका दुई महिलाले प्रयोगविहीन अवस्थामा रहेको शौचालयमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले शवको साथबाट बरामद गरेको झोलामा महिलाले प्रयोग गर्ने ऋंगारको सामान र नक्कली सुनका गहनासमेत बरामद गरेकाले ती युवतीलाई बिहे गर्ने बहानामा त्यहाँ पु¥याएर हत्या गरेको जस्तो देखिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।महिलाको झोलामा केही भिजिटिङ कार्डसमेत फेला परेकाले ती भिजिटिङ कार्डबाट अनुसन्धान शुरू भएको र युवतीले प्रयोग गरेको मोवाइल फोन पत्ता लागेकाले कल डिटेल हेरेर अनुसन्धान अगाडि बढाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।

मृत अवस्थामा फेला परेकी युवती गर्भवती भएको आशंका प्रहरीले गरेको छ । हत्याराले सुब्बाको पहिचान नहोस् भनेर हत्यापछि ढुंगाले हानेर अनुहार नचिन्ने बनाएकाले पेशेवर अपराधीले नै उनको हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।प्रहरीले सुब्बाका धर्मबाबु धनबहादुर तामाङसँग सोधपुछ गरेको भए पनि हत्याको सूत्र नभेटिएपछि प्रहरीले मृतक सुब्बाको मोवाइलबाट कल डिटेल निकालेर अनुसन्धान अगाडि बढाएको हो । शुरूमा घाँटीमा सलले कसेर हत्या गरेपछि अनुहार क्षतविक्षत बनाएकाले हत्यामा दुई वा दुईभन्दा बढी व्यक्तिको संलग्नता रहेको प्रहरीले अनुमान गरेको छ ।प्रहरीले तालिम प्राप्त कुकुरलाई समेत उक्त घटनामा प्रयोग गरेको भए पनि कुकुरले घटनाको बारेमा सही सूचना नदिएपछि प्रहरीले उक्त घटनालाई रहस्यको संज्ञासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्