पनौतीमा इन्द्रेश्वर, भैरव र भद्रकालीको जात्रा



प्रेममान डंगोल  ।

हरेक वर्ष ज्येष्ठ शुक्ल पूर्णिमाका दिन पनौतीमा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको जात्रा गरिन्छ । यो जात्रालाई पनौतीको मेला पनि भनिन्छ । नेवारहरुले यो मेलालाई ज्याःपुन्ही मेला पनि भन्छन् । ज्याःको अर्थ काम र पुन्हीको अर्थ पूर्णिमा हो । ज्याःपुन्हीका दिन सबैभन्दा लामो दिन हुने त्यस्तै यःमरि पूर्णिमाको रात सबैभन्दा लामो रात हुन्छ भनिन्छ । ज्याःपुन्हीका दिन दिनभरि काम गरे पनि काम गर्न नपुगेको सम्झिनु र यःमरि पूर्णिमाका दिन रातभर सुतेर पनि निद्रा पुगेन भन्नेहरुलाई सुख, शान्ति र ऐश्वर्य हुँदैन भनिन्छ । यो नेवारी संस्कारअनुसार परम्परागत भनाइ हो ।

पनौती देश थियो पहिला । पनौती देश विभिन्न विशेषताले भरिएको देश हो । पनौती देश एउटै ढुङ्गामा अवस्थित देश हो भनिन्छ । त्यसैले पनौतीमा ठूला–ठूला भूकम्प आए पनि अहिलेसम्म केही प्रभाव पारेको छैन भनिन्छ ।पनौती देशलाई बासुकी नाग जन्म भएको स्थानको रुपमा पनि लिने गरिन्छ । त्रिवेणी घाटमा बासुकी नाग ज्येष्ठ शुक्ल पूर्णिमाको चार दिनअघि आउनाले त्यस दिन धेरै वर्षा हुने हो भन्ने जनविश्वास छ । त्यसो त ज्येष्ठ शुक्ल एकादशीदेखि पूर्णिमासम्म पनौतीमा वर्षा भई नै रहन्छ । हुन त पनौतीलाई नागहरुको देश पनि भन्ने गरिन्छ । पनौती देशको चारैतिर खोला भएकोले नाग र सर्प त त्यहाँ धेरै रहेको पाइन्छ । पनौतीका मानिसहरुले पनि नागलाई नोक्सान हुने काम कहिल्यै गर्दैनन् । नागलाई कुनै किसिमको हानि नोक्सानी नहोस् भनी सबैले चिन्ता लिइरहेका हुन्छन् । यतिसम्म कि पनौतीमा चिउरा कुट्ने र ढिकी चलाउने काम पनि गर्दैनन् । पनौतीका मानिसहरुले घर र खेतमा पनि नाग पूजा गर्दै आइरहेका छन् । नाग पञ्चमीका दिन विशेषरुपमा घरैपिच्छे नागको चित्र भएको तस्वीर टाँसेर पूजा गर्छन् । पनौती देशको सांस्कृतिक सम्पदा र कला हेर्न विदेशी पर्यटकहरु आइरहन्छन् । सांस्कृतिक सम्पदाले भरिएको पनौती देशलाई विश्व सम्पदाको मान्यता दिइएको छ ।

ज्येष्ठ शुक्ल पूर्णिमाका दिन पनौतीमा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको जात्रा गरिन्छ । पूर्णिमाको तीन दिनअघिदेखि शुरु हुने यो जात्रामा पूर्णिमाका दिनलाई मुख्य जात्राको रुपमा मान्ने गरिन्छ । यो दिन राति ब्रह्मायणीको पनि जात्रा गरिन्छ । पनौती जात्राको पहिलो दिन त्रयोदशीका दिन राति बाजागाजासहित ब्रह्मायणीको खट त्रिवेणी घाटमा लगिन्छ । त्यसपछि भद्रकालीको खट पनि लगिन्छ । त्यसपछि दुइँचा न्यायेकेगु भन्दै दुइँचालाई हिँडाउने गरिन्छ । यसरी दुइँचा न्यायेकेगु ब्रह्मायणी पीठमा शिलावती यज्ञका लागि चाहिने पूजा सामग्री लान दिनभर भोकै बसेकी एउटी दुइनीका साथै चारजना गुठियारहरु पनि खर्पनमा पूजा सामग्री बोकी त्रिवेणी घाटको झोलुंगे पुलमा हिँडेरै जान्छन् । यसरी हिँडेर जाँदा २५ मिटर जति लामो पुलमा हिँड्न करिब ४५ मिनेट लगाउँछन् अर्थात् बिस्तारै–बिस्तारै हिँडेर जान्छन् । यस्तो गर्नुपर्नेमा पनि ऐटा किंवदन्ती छ ।परापूर्वकालमा पुण्यमाता नदीमा भयंकर बाढी आएकोले त्रिवेणी घाटपारि ब्रह्मायणी पीठमा गई शिलावती यज्ञ गर्न कसरी नदी तर्ने होला भनेर पीर लिइरहेको अवस्थामा पनौतीमै जन्मेका भनी विश्वास गरिएका बासुकी नागराजाले पुलको काम गरी सहयोग गरेका रहेछन् । माछाजस्तै नागको शरीर पनि चिप्लो हुने र पुच्छरतर्फ सानो आकारको हुने भएकोले दुइँचा हिँडेजस्तै बिस्तारै–बिस्तारै हिँडेका रहेछन् । त्यसैको सम्झनास्वरुप अहिले पनि दुइँनी र गुठियारहरु झोलुंगे पुलमा हिँड्दा बिस्तारै–बिस्तारै हिँड्ने चलन भएको हो भनिन्छ । यस्तो जात्रा कहीँ पनि नभएको र पनौतीमा मात्र भएको हो भनिन्छ ।

पूर्णिमाका दिन दिउँसो मनाइने यो जात्रामा सबैभन्दा पहिला ब्रह्मायणीको खट जात्रा गरेर नगर परिक्रमा गराई दरबारनजिकै रहेको पुलिस पाटीमा पु¥याइन्छ । त्यसपछि इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको खट दरबारको अगाडि पु-याइन्छ । पहिला उन्मत्त भैरव र भद्रकालीको खट तीनपटक जुधाइन्छ, त्यसपछि इन्द्रेश्वर महादेव र भद्रकालीको खट तीनपटक जुधाइन्छ । पहिला–पहिला टाढा–टाढादेखि पनौतीमा जात्रा हेर्न आउने पाहुनाहरु नै हिस्स हुने गरी रात्रिमा नै जात्रा सिध्याइने यो जात्रा पछि आएर दिउँसो मान्ने गरिँदै आएको हो ।पनौतीमा यसरी तीन दिनसम्म मनाइने जात्रामा सुन्नमा आएको किंवदन्तीअनुसार एकपटक ६४ योगिनीहरु एकैपटक यौनचाहनाले कामातुर भएछन् । उनीहरुले महादेवलाई एक्लै देखेर लखेट्न थालेछन् । एक्लो महादेवले यति धेरै योगिनीहरुसँग सहवास गर्न नसिकने ठानी त्रिवेणीमा लुक्न गएछन् । यसरी लुक्न जाँदा पनि केही सिप नलागेपछि महादेवले भयंकर उन्मत्त भैरवको रुप लिएर योगिनीहरुलाई नै लखेट्न थालेछन् । ६४ योगिनीहरु ६४ दिशामा भागिरहँदा पनौतीको दरबारअगाडि पुग्दा भद्रकाली घोप्टो पर्ने गरी लडिन् । उन्मत्त भैरवले भद्रकालीलाई भेट्टाएर पछाडि तीनपटक र अगाडि तीनपटक शारीरिक सम्बन्ध राखेछन् । तीन–तीनपटक देवताको खट जुधाएर जात्रा गर्ने चलन रहेको त्यसैको सम्झनास्वरुप हो ।

त्यस्तै अर्को किंवदन्तीअनुसार एकपटक देवराज इन्द्रले गौतमी ऋषिको रुप लिएर ऋषिको कुटीमा गई ऋषिकी पत्नी अहिल्यासँग शारीरिक सम्बन्ध राखेर सतित्व नाश गरिदिए । यो कुरा थाहा पाई गौतमी ऋषिले इन्द्रलाई शरीरभरि नै योनि प्रकट होस् भनी सराप दिए । ऋषिको सरापका कारण शरीरभरि उत्पन्न भएको योनि नाश गर्न इन्द्रले त्रिवेणी नदीमा १२ वर्षसम्म ध्यान गरिसकेपछि स्नान गरेर ऋषिको सरापबाट मुक्त भएको दिन हरेक वर्ष अष्टमातृका पीठ जगाई भैरव, भद्रकालीको जात्रा मनाउने र १२ वर्षमा एकपटक मकर मेला मनाउने अनि हरेक वर्ष माघे संक्रान्तिका दिन त्रिवेणी घाटमा स्नान गर्ने मेलाको परम्परा भएको हो भनिन्छ । त्रिवेणी घाटमा स्नान गरेमा पुण्य प्राप्त हुने र पापबाट मुक्त होइन्छ भन्ने जनविश्वास छ ।यौनकाण्डपछि उन्मत्त भैरव क्रोधित भई पनौती देश छोडेर जान लागेछन् । यो कुरा तान्त्रिकहरुले थाहा भएछन् । त्यसपछि आठवटा खुट्टा भएको बलि दिन्छौं र ठूलो रोटी पनि चढाउनेछु भनी बाचा गरेर तान्त्रिकहरुले उन्मत्त भैरवलाई रोकिराखेका हुन् भनिन्छ । हरेक वर्ष ज्येष्ठ शुक्ल त्रयोदशीका दिन उन्मत्त भैरवलाई देवघरबाट निकाल्ने र चतुर्दशीका दिन आठवटा खुट्टा भएको गंगटो बलि दिने गरिन्छ भने ठूलो मकैको रोटीसमेत चढाउने गरिन्छ । स्मरण रहोस्, ज्येष्ठ शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमले गृहत्याग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्