मतिभ्रमपूर्ण गल्ती अब नदोहो-याऔँ



कृष्ण श्रेष्ठ

पाल्पा जिल्लाको निस्दी गाउँपालिका–४, मित्यालको रुक्सेभन्ज्याङ बजार क्षेत्रमा एउटै टोलका ४७ जना कोरोना भाइरस सङ्क्रमित भएपछि जेठको अन्तिम साता बजार क्षेत्र नै सिल गरियो । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–१, राँका गाउँमा जेठ अन्तिम सातातिर २५ व्यक्तिको परीक्षण गर्दा २३ जना पोजेटिभ पाइयो । जेठको उत्तराद्र्धमा नै डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकामा एकै दिन ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । सञ्चारमाध्यममा आएका यी प्रतिनिधि घटना मात्र हुन् । सम्प्रेषित नभएका र सतहमा नदेखिएका घटना बग्रेल्ती रहेको अनुमान सहजै गर्न सकिन्छ । कारण, जनसङ्ख्याको ठूलो भाग अझै परीक्षणबाट वञ्चित छ ।

परारको कुरो हो । दुई महिनाको अन्तरालमा स्वदेश फर्केका दुईजना नेपालीमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि नेपाल सरकारले २०७६ चैत ११ गते एक साताका लागि देशलाई पूर्णरूपमा ‘लकडाउन’ ग¥यो । ‘लकडाउन’ लाई कहिले ‘यथास्थिति’ मा राख्दै त कहिले ‘खुकुलो’ पार्दै २०७७ साउन ६ सम्म जारी राख्यो । त्यसपछिका दिनहरूमा पनि पटक–पटक र स्थानविशेष हेरी ‘निषेधाज्ञा’ लागू गर्ने र हटाउने गरियो । कोरोना सङ्क्रमण दर घट्न थालेपछि त्यसलाई कोरोनामाथि विजयको रूपमा व्याख्या–विश्लेषण गरियो । नेपालीलाई कोरोना केही पनि होइन, डराउनै पर्दैन भन्ने भ्रम पनि छरियो ।कहिले सभा-जुलुसका नाममा त कहिले धार्मिक÷सांस्कृतिक शोभायात्राका नाममा जनस्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन हुँदै ग¥यो । २०७७ पुस ५ मा प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले देशव्यापीरूपमा चरणबद्ध आन्दोलन गरिरहेकै थियो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले पनि विभिन्न जिल्लाबाट कार्यकर्ता भेला गराएर काठमाडौं उपत्यकाको यातायात व्यवस्था नै अस्तव्यस्त हुने गरी नारायणहिटीको दक्षिणी आँगनमा ‘शक्ति प्रदर्शन’ ग-यो । सभामा प्रधानमन्त्री मुख्य वक्ता बन्न पुगे । ओली समूहले त्यसअघि धनगढी र चितवनमा पनि त्यस्तै ‘शक्ति प्रदर्शन’ गरिसकेको थियो । देशैभरि कोरोना भाइरस फैलिरहेको बेला नवनिर्मित धरहराको उद्घाटन गरियो ।

यी यावत् गतिविधि भइरहँदा कोरोना भाइरस सङ्क्रमणबारे सत्ताधीश एवं दलाधीशहरूले सम्भवतः सोच्ने आवश्यकता पनि महसुस गरेनन् । नेपाल–भारतबीचको खुला सिमानाका कारण हुने गरेको ओहोरदोहोर, भारतमा कोरोना सङ्क्रमणको तीव्र वृद्धि, देशभित्र जनस्वास्थ्यसम्बन्धी मापदण्डको व्यापक उल्लङ्घन र हेलचेक्याइँका कारण नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्यो र अन्ततः सरकारले निषेधाज्ञा जारी ग¥यो । वैशाख १३ मा बाँकेबाट शुरु भएको निषेधाज्ञाको दायरा फराकिँदै गएर ७५ जिल्लासम्म पुग्यो । अहिले असारको दोस्रो साता चलिरहँदासम्म पनि विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारी नै छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना सङ्क्रमितहरूको सङ्ख्या ओरालो लागेको बताइरहेको छ । मन्त्रालयबाट सार्वजनिक विवरणले पनि सङ्क्रमितहरू घटिरहेको देखाउँछ । प्रधानमन्त्री ओलीले त जेठको अन्तिम साता नै टेलिभिजन च्यानल सीएनबीसीको ‘स्ट्रिट साइन्स एसिया’ सँगको कुराकानीमा कोरोना सङ्क्रमणको दोस्रो लहर नियन्त्रणमा रहेको, त्यो ७५ प्रतिशतले घटेको र सङ्क्रमितहरू घटिरहेको उल्लेख गरेका थिए । तर, नेपालमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको मान्न सकिने अवस्था सरकारी तथ्य र तथ्याङ्कले पनि देखाउँदैन । कोरोनाको फैलावट रोकिएर सुरक्षित हुने अवस्था र विश्वास गर्ने आधार तयार भएको छैन ।

भाइरस समुदाय स्तरमा फैलिसकेको छ तर परीक्षण एकदमै सङ्कुचित र सीमित छ । अहिलेसम्म देशको कुल जनसङ्ख्याको झन्डै ११ प्रतिशतको मात्र कोरोना परीक्षण भएको छ । यस्तो स्थितिमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको निष्कर्ष निकालेर हौसिन सकिँदैन । गतवर्ष नै कोरोना महामारीमाथि विजय प्राप्त भएको ‘उदघोष’ गरिएको थियो । विजयको त्यो मतिभ्रम लामो समय टिक्न सकेन । विज्ञहरूले सचेत गराउँदै रहे तर सत्ताधीशहरू राजनीतिक दाउपेचमा अल्झिरहे । परिणाम, पहिलोभन्दा निकै आक्रामक र खतरनाक दोस्रो लहर आयो । सिङ्गो परिवार र सिङ्गो टोल नै कोरोना सङ्क्रमित भएका, एउटै परिवारका दुई वा सोभन्दा बढीको मृत्यु भएका जस्ता घटना सार्वजनिक हुन थाले र भइरहेकै छन् । ७५ जिल्लामा लगाइएको निषेधाज्ञाका कारण पछिल्ला दिनहरूमा सङ्क्रमणको साङ्लो टुट्न गई सङ्क्रमितहरूको सङ्ख्या घटेको देखिएको छ । निषेधाज्ञाको अन्त्यपछि सङ्क्रमण दर बढ्ने सम्भावना पनि ज्युँका त्युँ छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू बिरामीको पीसीआर परीक्षण निःशुल्क गर्ने गरिए पनि कुल परीक्षण क्षमताको आधा जति मात्र परीक्षण भइरहेको स्वीकार गर्दछन् । देशभरका प्रयोगशालाहरूबाट गरी दैनिक ३० हजार पीसीआर परीक्षण गर्न सकिने तथा २० लाखभन्दा बढी एन्टिजेन टेस्ट किट रहेको उनीहरूको दाबी छ । व्यापक परीक्षणको आवश्यकता अनुभव त गरिएको छ तर तदनुरूप काम भइरहेको छैन । वैशाख १६ देखि जेठ ३१ सम्म दैनिक औसत १८ हजारभन्दा बढीले परीक्षण गराएका थिए । पछिल्ला दिनहरूमा त्यो सङ्ख्या दैनिक १२–१३ हजारमा झरेको छ ।

असार ५ मा त त्यो सङ्ख्या १२ हजार पनि पुगेन । दैनिक परीक्षणको सङ्ख्या घटेपछि यसै पनि सङ्क्रमितहरूको सङ्ख्या घट्नै नै भयो । वैशाख र जेठमा गरिएका परीक्षणहरूबाट सय जनामा ३४ जनाभन्दा बढी कोरोना सङ्क्रमण पोजेटिभ रहेको पाइएको थियो । असारको शुरुका दिनहरूमा पनि सङ्क्रमितहरूको दर २० प्रतिशतभन्दा माथि नै छ । समुदायमा लक्षण नदेखिएका कोरोना सङ्क्रमितहरू पनि रहेका हुन्छन् । व्यापक परीक्षणबाट मात्र सही स्थितिबारे जानकार हुन सकिन्छ । किन कम मात्र परीक्षण भइरहेको छ, त्यसको कारण र निदान आवश्यक छ ।पर्याप्त मात्रामा खोपकरण गर्न नसक्नु अर्को कमजोरी छ । २०७७ माघ १४ मा कोरोनाविरुद्धको खोप अभियान प्रारम्भ गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराइने आश्वासन दिएका थिए । केही दिनमै पाँच महिना पूरा हुँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले २०७८ असार ५ सम्ममा पहिलो मात्रा खोप लगाउनेहरूको सङ्ख्या २५ लाख १९६ र दोस्रो मात्रा लगाउनेहरूको सङ्ख्या ७ लाख ३१ हजार ६५३ पुगेको देखाउँछ । नेपालमा उपयोगमा ल्याइएको खोप दुई मात्रै हो । युनिसेफ भन्छ, पूर्ण सुरक्षित हुन दोस्रो मात्रा पनि लगाउनै पर्छ । विडम्बना, २०७७ फागुन–चैतमा कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकहरूसमेतले दोस्रो मात्रा पाएका छैनन् । खोपको दुवै मात्रा लगाउन पाएकाहरू सयमा तीनजना पनि छैनन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले अत्यधिक सरुवा कोरोना भाइरस सङ्क्रमणको साङ्लो तोड्न जनसङ्ख्याको कम्तीमा ६० देखि ७० प्रतिशतमा प्रतिरोधात्मक क्षमता हुन आवश्यक भएको औंल्याएकी छिन् । प्राकृतिकरूपमा प्रतिरोधात्मक क्षमता विकास हुन दिने हो भने त्यसले धेरै समय त लिने छ नै, त्यसबीचमा निकै ठूलो क्षति पनि हुने गर्छ । सङ्क्रमणलाई फुकाफाल छाड्ने र धेरै मानिसलाई सङ्क्रमित गरेर समूह वा समुदाय वा जनसङ्ख्या प्रतिरोध शक्ति प्राप्त गर्ने कोसिस गर्नु राम्रो विचार नभएको उनी बताउँछिन् । यसैले खोपको माध्यमबाट समूह, समुदाय र जनसङ्ख्या प्रतिरोधक क्षमता हासिल गर्नुपर्ने हुन्छ । नेपाल खोपको मामिलामा नराम्रोसँग चुकेको छ । स्वास्थ्य पत्रकार मञ्चले जेठ १४ मा आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग ५० लाख र अमेरिकासँग ५० लाख डोज खोप खरिदको योजना रहेको र खरिद प्रक्रियामा एक हप्तादेखि १० दिनभित्रै ‘ब्रेक थ्रु’ हुने बताएका थिए । प्रधानमन्त्री ओलीको जस्तै ज्ञवालीको कथन पनि सत्य साबित हुन सकेन । पछिल्लो चरणमा चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप किन्ने सरकारको निर्णय सार्वजनिक भएको छ । यो पनि ‘आश गर्नू, भर नपर्नू’ हुने हो कि ? कारण, ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ बाट गरिन लागेको यो खरिदबारे गम्भीर आशङ्का उब्जिसकेको छ ।

सरकार निषेधाज्ञालाई थप खुकुलो पार्ने तयारीमा ‘स्मार्ट’ हुन खोज्दै छ । सरकारको लागि कर र जनताका लागि रोजीरोटीका कारण पनि निषेधाज्ञा खुकुलो पार्ने स्वार्थ मिलेको छ । यसबीचमा स्वास्थ्यविद्हरूले निकट भविष्यमा नै नेपालमा पनि कोरोना सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिइरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी मात्र दिएको छैन, देशभरका अस्पताललाई २० प्रतिशत बेड बालबालिकाको उपचारका लागि छुट्याउन निर्देशन पनि दिएको छ । स्वास्थ्यविद्हरूले तेस्रो लहर छिट्टै आउन सक्ने र त्यसबाट खोप नलगाएका व्यक्ति र बालबालिका बढी प्रभावित हुने बताउँदै त्यसका लागि अहिलेदेखि तयारी थाल्नुपर्ने बताइरहेका छन् । आगामी अक्टोबर–नोभेम्बरमा तेस्रो लहर आउने निश्चितप्रायः रहेको पनि उनीहरूले बताएका छन् । पहिलो लहरमा कुल सङ्क्रमितमध्ये बालबालिका दुई प्रतिशतभन्दा कम रहेकोमा दोस्रो लहरमा करिब १० प्रतिशत रहेको बताइन्छ । बालबालिकाका लागि उपयुक्त खोप तयार भइसकेको छैन । अमेरिकामा फाइजरको खोप १२ देखि १५ वर्षका बालबालिकाका लागि उपयुक्त मानिएको छ तर त्यो खोप नेपालमा आइहाल्ने सम्भावना तत्कालका लागि छैन ।

पहिलो लहरपछिको मतिभ्रमपूर्ण गल्ती दोहो-याउने काम तेस्रो लहरमा हुनुहुँदैन । २०७६ चैतदेखि २०७७ चैत मसान्तसम्ममा जे–जति सङ्क्रमित ‘रिकर्डेड’ भए, २०७८ को दुई महिनामा नै त्योभन्दा सवा दुई गुणाले वृद्धि भएको तथ्याङ्कले देखाउँछ । सरकारको गैरजिम्मेवारी र सर्वसाधारणको लापरबाहीले धेरैको ज्यान गुमिसकेको पछिल्लो करिब डेढ वर्षको भोगाइ अविस्मरणीय छ । यसबाट पाठ सिकेर सङ्क्रमणका सम्भाव्य लहर साम्य पार्ने रणनीति तथा कार्यनीति स्थानीय, प्रदेश र केन्द्र सरकारहरूले बनाउनै पर्छ । सङ्क्रमित निको हुनु सुखद पाटो हो तर यस क्रममा सङ्क्रमित व्यक्ति÷परिवार र राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । पोस्ट र लङ कोभिडको भार थपिन्छ । यसैले ‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा’ हुने कुनै पनि टिप्पणी, सुझाव, ज्ञान प्रदर्शन र ‘क्वाक’ विश्लेषणको महामारीबाट जोगिनु र जोगाउनु बुद्धिमानी हुनेछ ।
(लेखक श्रेष्ठ स्वतन्त्र पत्रकार हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्