कांग्रेसमा क्रियाशील सदस्यताको किचलो कायमै



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाली कांग्रेसले आगामी भदौमा १४औं महाधिवेशन गर्ने संशोधित कार्यतालिका सार्वजनिक गरेसँगै शीर्ष नेताहरू नेतृत्वको दौडधुपमा लागेका छन् । आगामी महाधिवेशनमा सभापतिका आकांक्षीहरू धेरै भएकाले शीर्ष तहमा दौडधुप बढेको छ ।शीर्ष नेता नेतृत्वका लागि भेटघाट बढाएपछि पार्टीको क्रियाशील सदस्यताको टुंगो भने अझै लाग्न सकेको छैन् । आगामी महाधिवेशनका लागि कांग्रेसले १० लाख क्रियाशील सदस्यता वितरण गरेको थियो । महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि हालसम्म आठ लाख तीन सय १४ जनाको मात्र क्रियाशील सदस्यतको टुंगो लागेको छ । बाँकी दुई लाखको अझै नामावली केन्द्रीय कार्यालयमा आएको छैन । पटक–पटक क्रियाशील सदस्यताको टुंगो लगाउन पार्टीले निर्देशन दिएपछि शीर्ष नेताको टकरावले जिल्लास्तरमा विवाद समाधान हुन सकिरहेको छैन ।

पार्टीले वैशाख १५ गतेसम्म क्रियाशील सदस्यता वितरण गरेर त्यसको विवरण सफ्टवेरमा इन्ट्री गरिसक्न निर्देशन दिएको छ । तर, विवाद भएको चारवटा जिल्लामा बल्ल क्रियाशील सदस्यता वितरण गरिएको छ । क्रियाशील सदस्यता वितरणसँग अधिवेशनमा चुनिनेहरूले केन्द्रीय नेतृत्व चयन गर्ने भएकाले क्रियाशील सदस्यता विरतरणलाई नेताहरूले महत्वको साथ लिएका छन् । बारा, बर्दिया, सिन्धुपाल्चोक र सप्तरीमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम महाधिवशेनको कार्यपालिका सार्वजनिक गरेपछि शुरू भएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका सदस्यसमेत रहेका कांग्रेसका नेता प्रदीप पौडेलले बुधबारसम्म आठ लाख तीन सय १४ जनाको क्रियाशील सदस्यको विवरण इन्ट्री भइसकेको बताउनुभयो । उहाँले नेपाल समाचारसँग भन्नुभयो– ‘दश लाख सदस्यता वितरण गरिएकोमा आठ लाखको इन्ट्री भईसकेको छ, बाँकी दुई लाखमा एक लाखभन्दाको बढी आउन बाँकी छ ।’कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या १० लाख कटाउने भनेको छ ।

२०७२ सालमा १३औं महाधिवेशन हुँदा चार लाख ८० हजार हाराहारीमा कांग्रेस क्रियाशील सदस्य रहेको थियो । नेता पौडेलका अनुसार करिब एक लाखभन्दा सदस्यताको विवरण आउने आँकलन गरिएको छ ।क्रियाशील सदस्यताको वितरणसँगै केन्द्रमा उजुरीको चाङ लाग्ने क्रम पनि शुरू भएको छ । पौडेलले क्रियाशील सदस्यता वितरणसँगै उजुरीको पनि चाङ लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘असार २० गतेभित्र सभापतिलाई क्रियाशील सदस्यतको नामावली बुझाउनुपर्ने समयसीमा तोकिएको छ, तर तोकिएको मितिमा नामावली बुझाउन कठिन छ ।’

प्रतिक्रिया दिनुहोस्