अस्मिता हत्या प्रकरण: शव भेटिएको स्थानदेखि १५० मिटरको दुरीमा मोबाईल भेटियो

प्रहरीले समूह बनाएर अनुसन्धान थाल्यो



राम धामी , डडेल्धुरा । 

डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपाल र संघीय प्रहरीबाट खटाइएका अनुसन्धान अधिकृत डीएसपी लक्ष्मण शाही इलाका प्रहरी कार्यालय जोगबुडाको प्राङ्गणमा रहेको प्रतिक्षालयमा बसेर अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई कमाण्ड गरिरहनु भएको छ । डीएसपीद्वय अनिवार्यवाहेक कसैको फोन उठाउनु हुन्न् । कसैसँग भेटघाट पनि निषेध गरिएको छ ।

मंगलबार आफन्तले शव बुझेर हिन्दु धार्मिक परम्परा अनुसार अन्तेष्टी गरेपछि प्रहरीले बल्ल २६ बर्षीया अस्मिता धामी हत्या प्रकरणको अनुसन्धान शुरु गरेको हो । असार २ गते कोरोना बिरुद्धको खोप बोकेर घरबाट हिडेकी अस्मिताको चारदिनपछि गत शनिबार विभत्स ढंगले हत्या गरेको अवस्थामा जंगलमा शव भेटिएपछि संघीय प्रहरी, सुदूरपश्चिम प्रदेश प्रहरीको अनुन्धान टोली जोगबुडा पुगेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट डीएसपी नेपाल नेतृत्वको टोली पनि सोहि दिन जोगबुडा पुगेपनि चारदिनपछि मात्रै प्रहरीले मंगलबारदेखि घटनाको सुक्ष्म अनुसन्धान शुरु गरेको हो ।आफन्तहरुले शब नबुझुन्जेलसम्म दिनहुजसो कार्यालय घेराउ र आन्दोलनका कार्यक्रमहरु भइरहेकाले हामील अनुसन्धान शुरु गर्न सकेनौ,’ संघीय प्रहरी इकाई कार्यालय महेन्द्रनगरबाट अनुसन्धान टोलीको नेतृत्व गरिरहेका डीएसपी शाहीले भन्नुभयो,‘पोष्टमार्टपछि शव अन्त्येष्टी भएकाले मंगलबारदेखि बिभिन्न समुहमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालनी गरेका छौ ।

पहिलो दिनको अनुसन्धानका क्रममा प्रहरीले मृतक अस्मिता धामीले प्रयोग गरिरहेको मोबाईल भेटाएको छ । शव भेटिएको स्थानबाट झण्डै एकसय ५० मिटरको दुरीमा अस्मिताको मोबाईल भेटिएपछि कलडिटेलका आधारमा अनुसन्धान प्रकृया अघि बढाउन सहज हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउछन् ।अस्मिताको बलात्कारपछि हत्या भएको आशंकामा गरिएको अवस्थामा पोष्टमार्टम रिपोर्टले त्यस्तो नदेखाएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । ‘तर, पोष्टमार्टम रिर्पोटका सबै कुरा हामीले बताउन मिल्दैन,’अस्मिता हत्या प्रकरणको अनुसन्धानका क्रममा अनुसन्धान टोलीका तर्फबाट प्रवत्ता तोकिएका इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक रमेश अवस्थीले भन्नुभयो,‘मृतक अस्मिताको भिसेरा परिक्षणका लागि केन्द्रमा पठाएका छौ ।’प्रहरीले घटनास्थल र आसपासका बस्तीहरुमा दर्जनौ समुह बनाएर अनुसन्धान टोली खटाएको छ ।

यसक्रममा सयौं स्थानीयसँग घटनाका बिषयमा सोधपुछ गरिसकेको प्रहरीले जनाएको छ । अस्मिताको विभत्स हत्या भएको घटनास्थल परशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायीक वन क्षेत्र र आसपासका सबै बस्तीमा छुट्टाछुट्टै टोली बनाएर व्यापक प्रहरी परिचालन गरिएको छ ।परशुराम नगरपालिकाले मृतकका परिवारलाई १० लाख नगद क्षतिपुर्ती दिने, मृतकका दुई छोरीहरुलाई मासिक एक हजारका दरले पढाई खर्च ब्योहर्ने र मृतक परिवारका एकजनालाई जागिर लगाईदिने सहमति भएपछि मंगलबार आफन्तले शव बुझेर दाहसंस्कार गरिएको हो । चाँडै घटनाको वास्तविकता ल्याउने गरि अनुसन्धान तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी नेपालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्