पनौतीमा ५,५११ परिवारलाई निशुल्क विजुली

१ हजार घर परिवारको निशुल्क स्वास्थ्य विमा



मोतीराम तिमल्सिना, काभ्रे ।

पनौती नगरपालिकाले चालु आर्थिक वर्षको योजनाहरुको समिक्षा गर्दै आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । १ अर्ब ६६ करोडको बजेट विनियोजन गरेको नगरपालिकाले नगर भित्र रहेका न्यूनतम ८० रुपैया महिनामा विजुलीको रकम बुझाउने परिवारको एक वर्षको रकम तिरिदिने घोषणा गरेको छ । नगरपालिका भित्र ५५११ घर परिवारले मासिक ८० रुपैयाका दरले रकम बुझाउँदै आएका छन् ।

आगामी आर्थिक वर्षको साउन महिनामा ५५११ घर परिवारको मासिक ८० रुपैयाका दरले एक वर्षको रकम नगरपालिकाले भुक्तानी गरिदिने छ’–नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो–‘विजुलीको अलावा विपन्न घर परिवारको उपचारका लागि नगरपालिकाले ६ सय घर परिवार र सहकारी तथा अन्य संघ संस्थाको समन्वयमा १ हजार भन्दा धेरै घर परिवारको स्वास्थ्य विमा गराईनेछ ।’ बजेटमा
कोभिडबाट निधन हुने परिवारका सदस्यहरुको हकमा दुख सुखमा साथमै रहने उदेश्यले संस्कार खर्च बापत २५ हजार उपलब्ध गराउने निर्णय भएको प्रमुख न्यौपानेले बताउनु भयो । निरन्तर स्वास्थ्यकर्मीको सम्पर्कमा विरामीहरुलाई राख्ने, निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र उपचारमा सहुलियत गरेको छ । विगतका योजनाहरुको निरन्तरता र नयाँ केहि कार्यक्रमहरुलाई आगामी वर्षमा समावेश गरिएको नगर प्रमुख न्यौपानेले बताउनु भयो ।नगरका मुख्य सडकहरु बनेपा–पनौती सडक, ललितपुर लाकुरी भन्ज्याङ्ग शंखु कटुञ्जे सडक, पनौती खोपासी सडक निर्माणको कार्य दु्रत गतिमा अगाडी बढाएको जानकारी गराएको छ । खोपासी कामिँडाडा ताल्ढुङ्गा सडकको लागि १० करोड रकम विनियोजन भएको छ ।

काभ्रे एकिकृत खानेपानी आयोजना दशै भित्रै सम्पन्न भई घर घरमा खानेपानी पुग्ने नगर प्रमुख भिम न्यौपानेले बताउनु भयो । बनेपा, पनौती, धुलिखेल नगरपालिकाको अर्काे महत्वपूर्ण योजना स्मार्ट सिटी योजना हो । आगामी वर्षका लागि १ अर्ब बजेट विनियोजन भएको छ । बनेपा पनौती धुलिखेलको पुण्यमाता करिडोर निर्माणको कार्य शुरु भएको छ । पनौती नगरपालिकाले बैकल्पिक मार्गका रुपमा ढलमलेबाट त्रिवेणी घाटको झोलुङ्गे पुलसम्म निर्माण कार्य सम्पन्न भएको छ । अर्काे खण्ड निर्माणको कार्य पनि शुरु भएको छ । पनौती रंगशालाको जग्गा ब्यवस्थापन गरी बजेट विनियोजन भएको छ । सम्पदा सूचीमा समावेश गर्ने कार्य मन्त्रीपरिषद् बैठकमा पेश गर्ने गरी तयारी गरिएको छ । नियमित कार्यहरुको अलावा ठुला ठुला देखि साना साना योजनासम्म सम्पन्न भएका छन् ।२८ वटा गौरवका आयोजना समावेश भएका छन् । १३ वटा भन्दा धेरै सडक कालोपत्रेका लागि तयारी गरी शुरुवात गर्ने गरी बजेट विनियोजन भएको छ । वडा कार्यालय निर्माण, स्वास्थ्य चौकीहरुको निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार लगायतका क्षेत्रमा पनि काम भएको छ । वडा नम्वर ९ मा १ करोड ६५ लाखको जग्गा खरिद गरी भवन निर्माणका लागि तयारी अवस्थामा राखिएको छ । कोभिडका कारण नियमित योजना संचालनमा कठिनाई छ ।

पनौती नगरपालिकामा ५५ प्रतिशत योजना चालु वर्षमा सम्पन्न भईसकेका छन् । ७५ प्रतिशत कार्य सम्पन्न हुने विश्वास लिईएको नगर प्रमुख न्यौपानेले बताउनु भयो । भैसी प्रर्वद्धन कार्यक्रमको निरन्तरता भएको छ । ८०६ वटा पाडी वितरण गरिसकिएको छ । तरकारी खेति, बाख्रा पालन, गाई पालन, भैसी पालन, कृषि सामाग्री हस्तान्तरण, बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई रोजगार, भैसी सुत्केरी भत्ता वितरणलाई निरन्तरता दिईएको छ ।असार १० गते सबै पालिकाहरुले बजेट प्रस्तुत गर्नु पर्ने संवैधानिक ब्यवस्था अनुसार जिल्लाका अधिकांश पालिकाहरुले बजेटको तयारी गरेका छन् । अधिकांश पालिकाहरुले आज बजेट, नीति तथा कार्यक्रमको तयारी गरेका छन् । धुलिखेल नगरपालिकाले असार ७ गते नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्