बौद्धिकता बन्दी हुँदाको पीडा



केशव अधिकारी

बुद्धि भएको मान्छेलाई बौद्धिक मान्छे र ऊभित्रको बुद्धि देखिएको वा सकारात्मक कार्यरुपमा प्रकट भएको अवस्थामा त्यही बुद्धिलाई बौद्धिकता भनिएला । यो संसारकै मान्छेहरुमध्ये कसलाई बौद्धिक क्षमता भएको मान्छे भनेर मान्ने त ? भन्ने सन्दर्भमा हेर्ने हो भने, कसैले पत्रिकाका पानामा आफ्नो फोटोसहितको लेख छपाउने मान्छेलाई बौद्धिक मानेका होलान् । कसैले ठूला किताब लेख्ने मान्छेलाई बौद्धिक मान्छे ठानेका होलान् । कोही हरेक परीक्षामा अब्बल स्तर कायम राख्न सफल भएका बौद्धिक व्यक्ति होलान् ।

त्यस्तै व्यक्तिपिच्छेमा फलाना व्यक्तिको कुनचाहिँ प्रभावले कसैको मानसिकतामा महान् ठानेर छाप बसालेको होला । यो संसारमा बौद्धिक व्यक्तित्व भनेर चिनिएकामध्ये धेरैजसोलाई त उनीहरुका समर्थक वा अन्धभक्तहरुले महान् बौद्धिकता भएको व्यक्ति मानेर महान् बनाएका पनि होलान् । हामीकहाँ अलि पुरानो समयमा वा भनौँ राणा शासनकालतिर वनारस गएर पाँच कक्षा पास गरी आएको मान्छे बौद्धिक वर्गको मान्छेमा गनिन्थ्यो । अहिले आएर नामको अगाडि डा. झुन्ड्याउनेलाई पनि त्यति मतलब गरिँदैन वा बौद्धिक स्तरको नमानिन सक्छ ।वास्तवमा शिक्षा हासिल गरेर मात्र मान्छे बौद्धिक हुने होइन । व्यक्तिले इतिहासका, विज्ञानका, गणितका अथाह ज्ञानहरु एकपछि अर्को गर्दै आर्जन गर्दै जाला र ऊ स्वयंमा आफू बौद्धिक भएको अहङ्कारमा डुब्ला तर उसको कर्मले ऊ बौद्धिक व्यक्ति हो कि होइन भन्ने कुराको निर्धारण गरेको हुन्छ । अनि पत्रिकाका पानामा लेख छपाउने व्यक्ति, ठूला किताव लेख्ने र अरुलाई तिनका माध्यमबाट उपदेश पस्कन खोज्ने व्यक्तिहरुमध्ये शायद कोही पनि बौद्धिक वर्गमा पर्न सकोइनन् । शिक्षाले मानिसलाई बौद्धिक बनाउने होइन । कुनै दर्शनशास्त्र होस् कि धर्मशास्त्र होस्, तिनले मानिसको बौद्धिक क्षमता बढाउनुको साटो स्वयंलाई नै मूर्ख बनाइरहेका हुन्छन् ।

आखिर बौद्धिक व्यक्ति को हो त ? भनेर प्रश्न गर्दा, जसले आजका मानवले भोग्नुपरेका विभिन्न क्षेत्रका असह्य पीडालाई आफ्नो मानसपटलदेखि नै अनुभूत गरेर तिनको निराकरणका उपाय खोज्न तल्लीन रहँदै अन्त्यमा सफल बन्छ उही नै बौद्धिक व्यक्तित्व हो भन्दा फरक नपर्ला । हुन त कहिलेकाहीँ हामी पनि केही समयका लागि बौद्धिक व्यक्ति बन्न खोज्छौँ र बाटोमा बसेर माग्ने मान्छेको पीडालाई हटाउन दुई–चार पैसा दिएर हिँड्छौँ । तर हामीले उसलाई दुई–चार पैसा दिँदा हामी पैसा दिनेजति सबैले भित्रै मानसदेखिको माग्नेका पीडाको अनुभूत गरेका हुँदैनौँ । हामीले दिएको दुई–चार पैसाले माग्ने मान्छेका सम्पूर्ण पीडा नाश भएर जाँदा पनि जाँदैनन् । यदि गएका भए उसले भोलिदेखि माग्नै पर्ने थिएन । माग्नेलाई दुई–चार पैसा फाल्ने धेरैजसोले माग्नेको पीडा हटाउनभन्दा पनि आफ्नो प्रभाव वा धाक जमाउनको लागि फलिदिएका हुन्छन् ।मान्छेले मनमा सोच्ने गर्छन् कि यो संसारकै मान्छेलाई पढाएर शिक्षित बनाउने शिक्षकचाहिँ बौद्धिक मान्छे नै हो । तर होइन, शिक्षकले आफूले हासिल गरेको पुरानो र अहिले पूरै बासी बनेको विगतलाई थोपरेर स्वतन्त्रताको आकाशमा उड्न खोज्ने विद्यार्थीका पखेटा काटी ढिलो र लोसे बनाउँछन् । त्यति मात्र होइन, आफूले भोग्नुपरेका मानसिक कुण्ठालाई विद्यार्थीका सामु पोखेर आफू हलुका बन्दै उनीहरुलाई भारी बोकाउने काम गर्छन् । तर शतप्रतिशत शिक्षकलाई यो दोष दिनु उपयुक्त नहोला । तैपनि करिब ९८ प्रतिशत शिक्षकलाई यो दोष दिन मिल्छ । केवल २ प्रतिशत शिक्षक मात्र बौद्धिकता भएका बौद्धिक वर्गका हुन सक्लान् । सरकारी कर्मचारीको हकमा भन्ने हो भने, शिक्षकभन्दा पनि थोरै प्रतिशत मात्र बौद्धिक वर्गका कर्मचारी होलान् । यसको मतलब कुल कर्मचारीमध्ये ९९ प्रतिशत अबौद्धिक र बाँकी १ प्रतिशत मात्र बौद्धिक क्षमता भएका होलान् । यति थोरै भनेको चामलको बियाँभन्दा पनि कम जनसङ्ख्या हुन्छ ।

शासक, सेना, प्रहरी आदि बौद्धिक वर्गमा पर्दैनन् र पर्ने होइनन् पनि । तर यिनले आफूलाई बौद्धिक वर्गको मान्छे भनेर देखाउन र आममानिसलाई विश्वास दिलाउनको लागि देखावटीरुपमै भए पनि पत्रपत्रिकामा लेख–रचना लेख्न र स्तम्भकार बन्न खोज्ने गर्दछन् । जसको उदाहरण हाम्रै प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखापत्र दैनिकको विचार स्तम्भमा निकै लामा लेखहरु लेखेका पाइन्छन् । यी लेखमा धेरैजसो आफ्नै आत्म प्रशंसा गरेका र नराम्रा कामलाई लुकाएर राम्रा काम यति गरेँ र उति गरेँ भन्ने फेहरिस्त रहेका हुन्छन् । प्रशासकलाई लेखको माध्यमबाट भन्दा उनले गरेका महत्वपूर्ण कामको माध्यमबाट मूल्याङ्कन गरेका हुन्छन् जनमानसले ।
यदि देशको प्रशासकले पत्रिकाका लेख, रचना स्तम्भ लेखेर पाना भर्न थाल्यो भने ती नाम कहलिएका, रहरले लेख्ने, कर लगाएर लेखाइएका स्तम्भकारचाहिँ के गरेर बस्नु नि ? प्रशासकले इतिहासमा आफ्नो नाम लेखाउनको लागि लेख–रचना होइन, जनपक्षीय काम गरेर देखाउन सक्नुपर्छ । बौद्धिक वर्गको भनिएको वा ठानिएको मान्छेको मूल्याङ्कन भनेको उसका लेख–रचना र उसको व्यवहारलाई हेरेर गरिने हुन्छ । यसैले राजा जयस्थिति मल्लको शासनकालमा कामका आधारमा वर्ण विभाजन गरिएको थियो भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ ।यो संसारका अर्बौं मानिसमध्ये ज्यादै थोरै प्रतिशत मानिस मात्र बौद्धिक चेतनाका धनी हुन्छन् । त्यति थोरै बौद्धिक चेत भएका मान्छेहरुमध्ये पनि करिब ८० प्रतिशत बौद्धिकताहरु परोक्षरुपमा बन्दी अवस्थामा रहेका हुन्छन् । यसको मतलब के भने, उनीहरुलाई आफ्नो बौद्धिकता प्रदर्शन गर्ने मौका नै दिइँदैन वा पाउँदैनन् । यसमा राज्य नै बाधक बन्न सक्छ ।

उदाहरणका लागि आजभन्दा १०–१२ वर्षअगाडिको कुरा हो, काठमाडौंको पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्दै गरेका दुईजना विद्यार्थीले मिलेर आफ्नै खर्चमा सानो डाँफे नामको हवाईजहाज बनाएका थिए । उनीहरुले नेपाल सरकारसँग परीक्षण उडान गर्ने अनुमति दिन अनुरोध गरे । तर सरकारले अनुमति दिएन । पछि एकजना विदेशी पाइलटको सहयोगमा उक्त विमान उडाउन सरकारले बल्ल अनुमति दियो र सफल उडान परीक्षण गरेका थिए ।अमेरिकामा बसोबास गर्ने एकजना नेपालीले त हवाईजहाज बनाएर आफैँले उडाए पनि । उनले जहाजमा महावीर पुनलाई पनि राखेर उडाएका थिए । उनी अहिले पनि भन्दै छन् कि नेपाल सरकारले अनुमति दिए आफू नेपालमा आएर देशमै हवाईजहाज निर्माण गर्ने काममा लाग्छु । तर सरकारले अनुमति दिन मान्दैन । किनभने नेपालमै हवाईजहाज बनियो भने त बाइडबडीजस्ता हवाईजहाजको खरिद गरेबापतको कमिसन आउन बन्द हुन्छ भन्ने डर रहेको छ । अहिले ती दुई गुमनाम प्रतिभाहरु कतै सरकारी जागिर खाएर दिन कटाउँदा होलान् कि विदेशीको नोकर बन्न पुगिसके, पत्तो छैन ।संसारमा छरिएर रहेका थोरै सङ्ख्याका बौद्धिक व्यक्तित्वहरुले उनीहरुको बौद्धिकताको भरपूर उपयोग गरेर संसारका मान्छेका पीडा हटाउने काममा लागिपर्ने हो वा लागिपर्न पाउने हो भने अहिलेका मानिसले भोग्दै गरेका पीडाको तुलनामा कम्तीमा मान्छेको आउँदो तेस्रो पुस्ताले मान्छेले १० प्रतिशत वा त्योभन्दा पनि कम पीडा मात्र भोग्नुपर्ने अवस्था सिर्जना गर्न सक्नेछन् ।

तर विडम्बना के छ भने, त्यो छरिएर रहेको संसारको बौद्धिक मानसिकताको कुनै सङ्गठन बन्न र प्रयासमा लाग्न सकेको छैन । यो सम्भव नहुने त होइन तर आवश्यक पहल थाल्ने काम हुन सकेको छैन । धेरैजसो बौद्धिकता भोकसँग लड्दै र भिड्दै छ । संसारको राजनीतिक उथलपुथलका क्रियाकलापले पनि उसलाई बाधा हालेको हुन्छ । मन नलागेर पनि राजनीतिमा लाग्न बाध्य भएका हुन्छन् कैयौँ बौद्धिक क्षमताहरु । यसरी विविध कारणले प्रतिबन्धित बन्न पुगेका बौद्धिक क्षमताका कारणले गर्दा नै संसारका मानवले यति धेरै असह्य पीडाहरु भोग्न विवश हुनुपरेको हो ।मानवले आन्तरिक बौद्धिक क्षमताको प्रयोग गरेर मङ्गल ग्रहमा यान पठाउन सफल भइसकेको छ । त्यसै अनुसार संसारको समाजलाई गहिरोसँग नियालेर त्यहाँका पीडा र मर्मलाई आत्मसात् गरेका बौद्धिकहरुले साङ्गठनिकरुपमा लागेर प्रयास गर्नु र मानवीय पीडा हटाउन प्रयास गर्ने बेला आइसकेको छ । यी पीडा एउटा गाउँ र एउटा देशको सीमामा मात्र सीमित नभएर संसारकै मानवका पीडा हुन् । आजको मानव मूलतः पूँजीवादी अर्थ व्यवस्थाको थिचानमा परेर चिच्याइरहेको छ ।

पूँजीवादको युद्ध लड्न नसकेर कैयौँ मानवले आत्महत्याको बाटो समाउन विवश बन्नुपरेको छ । पूँजीवादी अर्थ व्यवस्थाबाट सिर्जना हुने तडकभडकले वाक्क लाउँदै छ । त्यो युद्धमा जित्ने त विजेता बनेर घमण्ड गर्ने नै भयो, हार्नेको हविगतले अरु धेरैलाई प्रभावित बनाएको छ । हातहतियारको उछिनपाछिन र त्यसबाट भयभित बन्नुपर्ने अवस्थाले सताएको छ आजको मानवलाई । आजको मानवका यी तमाम समस्यालाई आत्मसात् गरेर समाधानको बाटो खोज्न र पत्ता लगाउनको लागि निरन्तर क्रियाशील बन्ने बौद्धिकाताको खाँचो पूरा गर्नको लागि संसारकै बौद्धिक वर्गले एकजुट हुने यो सुनौलो अवसर गुमाउनु बुद्धिमानी काम होइन ।

प्रतिक्रिया दिनुहोस्