पराजित भएपनि वेल्स अन्तिम १६ मा



लन्डन, (एजेन्सी) । 

शानदार लयमा रहेको इटालीसँग १–० गोलअन्तरले पराजित भएपनि वेल्स जारी युरो कप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ ।
वेल्स सन् २०१६ मा सेमिफाइनलसम्म पुगेको टोली हो । इटाली भने वेल्सविरुद्धको खेलअघि नै नकआउट चरणमा पुगिसकेको थियो । वेल्सलाई हराएपछि इटाली जारी युरो कप फुटबलमा समूह चरणमा शतप्रतिशत जित निकालेर अन्तिम १६ मा पुगेको छ ।
आइतबार राति समूह ‘ए’ को अन्तिम खेलमा इटालीले आफ्नो घरेलु मैदानमा पाहुना टोली वेल्सलाई हराउँदै लगातार तेस्रो जित निकाल्यो । यसअघि, लगातार दुई खेलमा जित निकाल्दै इटाली अन्तिम खेल बाँकी छँदा नै अन्तिम १६ मा प्रवेश गरिसकेको थियो । वेल्ससँगको खेल इटालीका लागि समूह विजेता बन्नका लागि थियो ।

यस संस्करणमा इटालीले समूह चरणका तीन वटै खेलमा एक गोल पनि नबेहोरी अन्तिम १६ मा पुग्ने पहिलो र एक्लो टिम पनि बनेको छ । यसअघि, इटालीले पहिलो खेलमा टर्की र स्वीट्जरल्यान्डलाई समान ३–० ले हरायोे भने तेस्रो खेलमा वेल्सलाई १–० ले हरायो । यससँगै इटालीले आफ्ना पछिल्ला ११ खेलमा लगातार क्लिन सिट राखेको छ ।यतिमात्र होइन, इटालीले पछिल्ला ३० खेलसम्म लगातार अपराजित यात्रालाई निरन्तरता समेत दिन सफल भएको छ । पछिल्लोपटक इटालीले सन् २०१८ को नेसन्स लिगको खेलमा पोर्चुगलसँग पराजय बेहोरेको थियो । त्यसयता टोलीले ३० खेल जितेको छ । अझ पछिल्ला ११ खेलमा टोलीले गोल पनि आत्मसात गरेको छैन र विपक्षीविरुद्ध ३२ गोल गरेको छ ।रोम सहरमा भएको खेलमा वेल्सविरुद्ध इटालीलाई जिताउन एकमात्रै गोल खेलको ३९औं मिनेटमा माटेओ पेसिनाले गरेका थिए । यता, वेल्स भने खेलको ५५औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । डिफेन्डर इथान अमपाडुले सोझै रातो कार्ड पाएर मैदान छाडेका थिए । उक्त रातो कार्ड बेहोरेका २० वर्षीय डिफेन्डर इथान एम्पाडु युरोकपको इतिहासमा सिधै रातो कार्ड पाउने सबैभन्दा कान्छो खेलाडीसमेत बनेका छन् । उनले २० वर्ष दुई सय ७९ दिनको उमेरमा रातोकार्ड बेहोरेका हुन् ।सो खेलमा वेल्स फराकिलो अन्तरमा पराजित भएको भए स्वीट्जरल्यान्डले गोलअन्तरमा वेल्सलाई पछि पार्दै सोझै अर्को चरणमा जाने थियो । तर, वेल्स र स्वीट्जरल्यान्डको समान ४–४ अंक भए पनि वेल्सले स्वीट्जरल्यान्डलाई गोलअन्तरमा पछि पारेर समूहको उपविजेता बन्दै अर्को चरणमा पुग्यो ।

स्विट्जरल्यान्डको आस बाँकी

यही समूहको अर्को खेलमा जित निकाल्दै स्वीट्जरल्यान्डले पनि युरो कप फुटबलको अन्तिम १६ को ढोकालाई खुल्लै राखेको छ । आइतबार राति नै भएको समूह चरणको अन्तिम खेलमा स्वीट्जरल्याण्डले टर्कीलाई ३–१ गोलअन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई जीवितै राखेको हो ।समूह विजेता र उपविजेताबाहेक पनि ६ वटा समूहकोे तेस्रो स्थानमा रहनेमध्ये टप–४ टिम अर्को चरणमा जाने भएकाले स्वीट्जरल्यान्डका लागि सो ढोका खुलै भएको हो । तर, यसका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ । यसअघि, स्वीट्जरल्यान्डले एक खेल हारेर एक बराबरी गरेको थियो ।

समूहको अन्तिम खेलमा स्वीट्जरल्यान्डलाई जिताउन जर्डन शाकिरी नायक बने । उनले टिमका लागि दुई गोल गर्दै ‘स्टार अफ द म्याच’ अवार्ड पनि जिते । स्वीट्जरल्यान्डका लागि खेलको छैटौं मिनेटमा सेफेरोभिभचले पहिलो गोल गरेका थिए । त्यसपछि, २६औं मिनेटमा शाकिरीले गोल गरेर खेल २–० बनाए ।त्यसपछि, खेलको ६२औं मिनेटमा टर्कीका लागि इर्फान कहाभेचीले गोल गरेर खेललाई २–१ मा झारे पनि खेलको ६८औं मिनेटमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गरेपछि स्वीट्जरल्यान्डले खेल ३–१ ले जित्यो । यो हारसँगै टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ ।अब समूह ‘ए’ बाट इटाली तीनवटै खेल जितेर नौ अंकसहित शीर्ष स्थानमा छ भने वेल्स चार अंकसहित दोस्रोमा छ । चार अंक नै भएको स्वीट्जरल्यान्ड भने तेस्रोमा छ ।

प्रतिक्रिया दिनुहोस्