आँप दिने प्रलोभन देखाएर बालिकालाई बलात्कारपछि घाँटी रेटी हत्या



न्युज अफ नेपाल, काठमाडौं ।

सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको बलात्कारपछि घाँटी रेटी हत्या भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ की ९ वर्षीया शिवानी यादवको बलात्कार गरेको पोल खुल्ने डरले हत्या गरिएको तथ्य खुलेको छ।

गत शुक्रबार ४ गते स्थानीय शिवनाथ यादवको आँप बगैंचामा घाँटी रेटिएको अवस्थामा शिवानीको शव फेला परेको थियो। अनुसन्धान क्रममा उनको बलात्कारपछि हत्या गरिएको पत्ता लागेको हो।

हत्या आरोपमा आइतबार साँझ पक्राउ परेका स्थानीय १९ वर्षीय रोहित यादवले आँप टिप्न गएकी शिवानीलाई एक्लै भएको मौकाछोपी बलात्कार गरेको र शिवानीले आमालाई भनिदिने बताएपछि उनकै हातमा रहेको हँसियाले घाँटी रेटी हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटनापछि भारततर्फ भाग्न लागेको अवस्थामा उनलाई आइतबार साँझ सीमानजिकबाट आइतबार साँझ साढे ७ बजे पक्राउ गरिएको हो। उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्