अस्मिता हत्या प्रकरण : भित्री मधेस क्षेत्र तनावग्रस्त, तीन दिनपछि शवको पोष्टमार्टम



राम धामी, डडेल्धुरा ।

कोरोना बिरुद्धको खोप बोकेर जोगबुडा अस्पताल आएकी परशुराम नगरपालिका–८ स्थित जमेरानी आधारभुत स्वास्थ्य सेवा केन्द्रकी कार्यालय सहयोगी अस्मिता धामीको हत्या भएको भन्दै स्थानीयले परशुराम नगरपालिका घेराउ गरेका छन् । २६ वर्षीया कार्यालय सहयोगी अस्मिताको घरबाट हिडेको चारदिन पश्चात विभत्स अवस्थामा जंगलमा शनिबार शव भेटिएको थियो । शब भेटिएको तीन दिनपछि सोमबार जोगबुडा अस्पतालमा शव परीक्षण गरिएको छ ।

शवको पोष्टमार्टम रिर्पोटमा उनको बलात्कार र हत्या भएको भन्ने विषयमा कुनै तथ्य फेला नपरेको अनुसन्धानमा संलग्न उच्च पदस्थ प्रहरी अधिकारीले जानकारी दिएका छन् । अब उनको भिसेरा परीक्षण गरिने जनाएको छ । असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनि निस्केकी अस्मिताको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो ।

जोगबुडा अस्पतालमा विज्ञ चिकित्सक नभएको भन्दै शवको पोष्टमार्टममा ढिलाई भएको हो । पोष्टमार्टममा ढिलाई भएपछि सोमबार ठुलो संख्यामा आएका स्थानीयले परशुराम नगरपालिकाको कार्यालय घेराउगर्दै नगरप्रमुख भिमबहादुर साँउदलाई ज्ञापन पत्र बुझाएका थिए । अस्मितको हत्यारा पत्ता लगाई निष्पक्ष छानबिन गरेर हदै सम्मको कारवाही गरिनु पर्ने पीडित पक्षको माग छ ।

पीडित परिवारलाइ उचित राहतको व्यवस्था गरिनु पर्ने, पीडित परिवारका एक जना सदस्यलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने, परशुराबम–८ को जमरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रको नाम परिवर्तन गरेर अस्मिता स्मृति आधारभुत स्वास्थ्य ईकाई केन्द्र नामाकरण गरिनु पर्ने, मृतक अस्मिताका दुई छोरीको माध्यामिक तह सम्मको पठन–पाठनका लागि छात्रवृत्तिको ग्यारेन्टी गरिनु पर्ने र उनीहरुको उच्च शिक्षा निःशुल्क गरिनुपर्ने लगायतका माग पिडीत पक्षले अघि सारेका छन् ।

अस्मितालाई न्यायका लागि राखेको मागसहितको ज्ञापनपत्र बुझ्दै नगरप्रमुख साउँदले मृतकको शबको पोष्टर्माटम भईसकेको र संघीय र प्रदेश प्रहरीको उच्च स्तरीय अनुसन्धान टोलीले घटनास्थलाको अनुसन्धान अघि बढाईसकेकाले दोषी उम्किन नसक्ने जिकिर गरे । पीडित पक्षबाट अघि सारिएका अन्य मागहरु सम्बोधनका लागि नगरपालिका र आफुले व्यक्तिगत रुपमा पनि कुनै कसर बाकी नराख्ने नगरप्रमुख साउँदले बताए ।

सो प्रकरणको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले दुई वटा टोली परीचालन गरेको छ । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिए । शव भेटिए लगत्तै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी महेन्द्र नेपालसहितको प्रहरी टोलीसमेत घटनास्थलमै अनुसन्धानमा संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्