कहाँ भासिए होलान् हौसिएका ती सम्बन्धहरु ?



मनोज रेग्मी

सम्बन्ध शब्द आफैँमा सुमधुर छ । कति आत्मीय छ । सम्बन्ध बन्नलाई एक व्यक्ति मात्रै भएर पुग्दैन । एक शब्द बोल्दैमा सम्बन्ध बन्दैन । काम, क्रोध, लोभ, मोह, अहंकारजस्ता थुप्रै रङ्गले बनाएको एक पेन्टिङ त हो, सम्बन्ध । कति बृहत् र फरक छ सम्बन्धको सँगालो । आमा–बाबुसँग गरिने सम्बन्ध, दिदी, भाइ, बहिनीसँग गरिने सम्बन्ध, साथीभाइ, इष्टमित्रसँग गरिने सम्बन्ध, प्रेम र प्रणयको सम्बन्ध कति फरक र कति अच्चमका । वास्तवमा मनले मनसँग गरेको सम्बन्ध नै पवित्र सम्बन्ध हो ।

सम्बन्धको डोरी मनसँग जोडिएको हुन्छ । जब सम्बन्ध टुट्छ तब मन टुट्छ । हामी सबैजना आफ्नो सम्बन्धबाट केही अपेक्षा र आशा राख्छौं । जब यी आशा–अपेक्षा टुट्छन् तब पीडा हुन्छ । सम्बन्धहरु लामो समयसम्म टिक्न सके जीवन सहज बन्ने पक्का हुन्छ । कहिलेकाहीँ सानो कुराले पनि सम्बन्ध टुट्न सक्छ । कहिले एक–अर्कालाई कुरा बुझाउन नसक्दा सम्बन्ध टुुट्न सक्छ । हो, यही टुटफुटको जिन्दगीसँग रुमल्लिएका हुन्छन् सम्बन्धहरु ।

सम्बन्धहरु राम्रा र नरामा पक्षहरुसँग गाँसिएका हुन्छन् । निच शब्दहरु, होच्याएर बोल्ने वाक्यहरु, समाज र परिवारमा एक–अर्कामा गिराउने प्रवृत्तिले सम्बन्ध बलियो बन्न सक्दैन । हो, झगडा गर्दै, लड्दै–उठ्दै गर्दा सम्बन्धहरु कहिले हौसिन्छन् त कहिले टुट्छन् । मान्छेको जीवनमा खुशी धेरै स–साना कुराहरुमा मिल्छ । न्याना सम्बन्धहरुको बीचमा बाँच्नुको पनि बेग्लै मज्जा हुन्छ । धेरै बोल्नु नपर्ने, आफ्नो कुरा राख्यो कुरा बुझायो । न तारन्तार बोलिरहनु जरुरी हुन्छ, न मनमा कुरा खेलाएर बस्नु नै पर्छ । जिन्दगीको गाडी धिप–धिप बलिरहन्छ, जिन्दगी आफ्नै गतिमा चलिरहन्छ । स्वार्थले भरिएको सम्बन्ध, दम्भले भरिएको सम्बन्ध, मनमा इगो राखेर हिँड्ने बानी भएको सम्बन्ध नहुने हो भने न अरु कुराको लेप लगाउनु जरुरी हुन्छ, न सम्बन्धमा तितोपना आऊला भन्ने तनाव हुन्छ । फेरि निभाउन नसकेका नाता–सम्बन्धहरुले पिरोलिरहन सक्छन् । राम्रा र कुशल शब्द प्रयोग गरी ललीपपे बोलीले जोडजोडले कराउँदैमा सम्बन्ध गाँस्न र निभाउन सकिँदैन । नाता जोड्दैमा अपनत्वको आभास हुँदैन । बनेका सम्बन्धहरु तोडिँदा पनि हृदयले शान्तिको आभास पाउन सक्दैन, शायद । एकान्तसँग गाँसेका सम्बन्धहरु केवल मनको चञ्चलतालाई मत्थर पार्नका लागि मात्र जोडेको आभास हुँदो रहेछ । यसरी समय र परिस्थितिले हाम्रो सोचाइ र बुझाइमा अज्ञानताका ज्वारभाटाहरु पैदा गर्दा हाम्रा सुमधुर नाता–सम्बन्धमा पनि उतारचढाव ल्याइदिन सक्छ ।

हामी सामाजिक प्राणी हौं । यही समाजमा रहँदा–बस्दा यहाँको सामाजिक परिवेश, वातावरण, जन्माइ–हुर्काइ, संस्कार, पढाइ–लेखाइ, बुझाइअनुसार नै हाम्रा आचरण, व्यवहार, सोच र प्रवृत्तिले फल्ने, फुल्ने र विकसित हुने अवसर पाइरहेको हुन्छ । यही सामाजिक परिवेश र वातावरणमा नै हाम्रा पारिवारिक सम्बन्ध, गाउँ–टोल, छिमेक, साथीभाइ, इष्टमित्रसँग भ्रातृत्व, अपनत्व, आफन्त, परायाजस्ता सम्बन्धका डोरीहरु हौसिएका हुन्छन् । यसरी सम्बन्धका डोरी बाट्दा र फुकाउँदै गर्दा सुख–दुःखमा सहयोग गर्ने, आत्मीयता साट्नेदेखि प्रगति र खुशीमा खुट्टा तान्ने प्रवृत्ति पनि सँगसँगै अगाडि बढिरहेको छ ।समयको बदलावसँगै मानिसहरुको शैलीमा पनि परिवर्तन आएको छ । बोलिने भाषा र परम्परामा व्यापक परिवर्तन आएको छ । गाउँमा पैंचो चल्न छाडेको छ । शहरमा वल्लो कोठाकोले पल्लो कोठाकोलाई चिन्दैन । डेटिङ र सेटिङलाई सम्बन्ध मान्नेहरुको जमात तीव्र गतिमा फैलिएको छ । लिभिङ टुगेदरलाई सम्बन्ध भन्ने र बस्दा थाकेपछि उठेर हिँड्ने कथित संस्कार सिर्जना भएको छ ।

सम्बन्धहरु, मानिसको बीचमा यसै जोडिन्छन् र यसै तोडिन्छन् । कुनै सम्बन्ध यसै सकिन्छन्, कारण केही चाहिँदैन । बस, एउटा बोल्न छोड्यो, अर्को उसले झर्को नमानोस् भनेर बोलाउन छोड्यो । समाज त्यस्तै चलिरहेछ । वल्लो घर, पल्लो घर हुँदै आमा–बाबुको कुराले छोराछोरीको बोलचाल बन्द, आवतजावत बन्द, व्यवहार बन्द । जब मानिस यथार्थको धरातलमा बुझ्छ एक–अर्कालाई । धेरै बुझाउनु जरुरी नै हुँदैन । न खहरे खोलाको जस्तो चढाव आउँछ, न सुक्खा हुन्छ सम्बन्ध । यस्ता सम्बन्ध पनि कैयौं समयसम्म एकनासको गतिमा कुदिरहेका हुन्छन् । साँच्चै मनमा कुनै घमण्ड नभएर होला, ती सम्बन्धप्रति न कुनै गुनासो हुन्छ जिन्दगीको, न कुनै उत्तेजना हुन्छ । रुपियाँको भोकले मानिसहरु प्यासी भइरहेका छन् । जीवन पैसाविना चल्दैन, प्रेमबाट पेट भरिँदैन । रुपियाँ नै गुलियोजस्तै बन्दो रहेछ । सम्बन्ध बिग्रियो भने कसलाई कसको बाल ! भन्ने सोचले सम्बन्धहरु भासिएका छन् । तर थाहा छैन कसलाई, कहाँबाट, कहिलेबाट, कसरी भासिए ती हौसिएका सम्बन्धहरु ?

हामी सबैको जीवनमा आ–आफ्नै सगरमाथा छन् । आफ्नै लक्ष्य प्राप्तिका भोकहरु छन् । आफ्नै टुनामुना छन् । त्यसैले आ–आफ्ना भागका सगरमाथा शिखर चुमे भैगो नि ! किन रिस राग ? किन एक–अर्काको खेलो पखालो ? किन ईष्र्या, डाहा गर्ने ? किन झगडा गर्ने ? सम्बन्धका पानाहरुमा माया, मोह, ममताजस्ता शब्दहरु पनि त कोर्न सकिन्छ ।हिजोआज सामाजिक सञ्जाल मानिसहरुको विश्वासिलो र भपरर्दो साथी बनेको छ । मानिसले मानिसलाई गर्ने विश्वास घटेको छ । कसैलाई भन्न नसक्ने र भन्न मन नलागेका आन्तरिक कुराहरु पनि फेसबुकलगायतमा शेयर गर्छन् । आफ्ना अन्तरमनका भावना सामाजिक सञ्जालमा पोख्छन् । एक्लै हुँदा पनि फेसबुकले एक्लोपनको आभास हुन दिँदैन आजकाल । जीवनका सुखद क्षण या दुःखद पल । ती सबै साथी बनेर बाँड्ने ठाउँ बनेको छ सामाजिक सञ्जाल । त्यसैले मानिसहरुबीचको हौसिएको सम्बन्ध पनि यिनै समाजिक सञ्जालले कम गराएको त होइन ? कतै त्यो हौसिएको सम्बन्ध यस्तै उपकरणले बिगारेको त होइन ? यति बेला यो सोचको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्