मौद्रिक नीतिमा उद्योग क्षेत्रका समस्या सम्बोधन गर्न नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र



यमलाल भुसाल, बुटवल ।

नेपाल राष्ट्र बैंकले ल्याउँदै गरेको मौद्रिक नीतिमा उद्योग क्षेत्रका समस्याहरुलाई सम्वोधन गर्न अनुरोध गर्दै रुपन्देही जिल्लाका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघले ज्ञापन पत्र बुझाएको छ । नेपाल राष्ट्र बैंक भैरहवा शाखामार्फत गभर्नर महाप्रसाद अधिकारीलाई संघले ज्ञापन पत्र बुझाएको हो ।

संघले नेपाल राष्ट्र बैंक भैरहवा शाखाका उपनिर्देशक खगराज सापकोटा एवं गुलाव धबलसँग भेट गरी संस्थागत सुझाव सहितको ज्ञापन पत्र बुझाएको हो । संघले लामो समयदेखि कोभिडको प्रभावले उद्योग क्षेत्र धाराशाही बन्दै गएकाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत राहत प्रदान गर्न अनुरोध गरेको छ । संघले निषेधाज्ञा अवधिको ब्याजमा विशेष छुट दिनुपर्ने, कर्जा समयावधी थप गर्नुपर्ने, साँवा किस्ता र ब्याजलाई पूँजीकरण गरी पुर्नताजकीकरण गरिनुपर्ने, पूनकर्जा कोषलाई थप बृद्धि गरी लचिलो कार्यविधि अपनाउनु पर्ने, उत्पादन मूलक उद्योगलाई विशेष प्राथमिकता र ऋण लगानी न्यून ब्याजदरमा गरिनुपर्ने, बैंकहरुले लिने सेवाशुल्कहरुमा थप सहुलियत दिनुपर्ने र उद्योगहरु बचाई राख्न उद्योग मैत्री मौद्रिक नीति अवलम्बन गर्नुपर्ने लगायतका सुझावरु समेटिएको ज्ञापन पत्र बुझाइएको जानकारी गराउँदै संघका अध्यक्ष बाबुराम बोहोराले संस्थागत सुझावहरु सम्बोधन हुनेमा विश्वास रहेको बताउनु भएको छ ।

ज्ञापन पत्र बुझ्नु हुँदै भैरहवा शाखाका निमित्त प्रमुख एवं उपनिर्देशक सापकोटाले संस्थाले पेश गरेका सुझावहरु समय सापेक्ष र मननयोग्य रहेको बताउदै हाल पेश हुनआएका सुझावहरु तत्काल सम्बन्धित तहमा पेश गरिने आश्वासन समेत दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्