संविधान र लोकतन्त्रको संरक्षणका लागि संयुक्त आन्दोलन: वरिष्ठ नेता पौडेल



मिला दरै, तनहुँ । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको संरक्षणका लागि संयुक्त आन्दोलन गरेका बताउनुभएको छ । तनहुँका स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै शनिबार नेता पौडेलले राष्ट्र बचाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभएको छ ।

‘राष्ट्र र संविधानलाई बचाउन कांग्रेसले जुनसुकै पार्टीसँग सहकार्य गरी साथमा लिएर अगाडि बढ्न तयार छौं’, उहाँले भन्नुभयो, ‘मुलुक दुई ध्रुवमा विभाजित भएको छ, लोकतान्त्रिक पक्षधर एकजुट भएर अगाडि बढ्नुपर्छ ।’ अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै उहाँले संविधान र प्रजातन्त्रलाई बचाउने विषयमा पार्टीको सीमा मिचेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट भएका सबै पार्टीसँग कांग्रेसको सहकार्य हुने पौडेलको भनाइ छ । राजनीति अहिले अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको भन्दै वरिष्ठ नेता पौडेलले परिवर्तनका लागि संयुक्तरूपमा मिल्नुको विकल्प नभएको बताउनुभयो । संयुक्त आन्दोलनबाट नै देशको परिवर्तन भएको उहाँको दाबी छ ।

उहाँले कम्युनिष्टको ‘क’सँग नभई अधिनायकवाद र अन्यायको ‘अ’ विरुद्ध लोकतान्त्रिक पार्टी संयुक्त भएको समेत स्पष्ट पार्नुभयो । ‘यो विपत्तिको सामना गर्न पार्टी पार्टी बीच समन्वय आवश्यक छ, हामीले त्यो आधारलाई समेटेर अगाडि बढिरहेका छौं’ उहाँले भन्नुभयो । उहाँले संकटको सामना गर्न सक्ने क्षमतावान नेतृत्व गर्न सक्ने पार्टीलाई आवश्यक भएको बताउनुभयो ।तनहुँका स्थानीय तह र अस्पताललाई ३५ लाखको स्वास्थ्य सामग्री कोभिड १९ संक्रमणको जोखिमसँग लड्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ३५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । नेता पौडेलले गृहजिल्लाका १० वटै स्थानीय तह र तीन अस्पताल तथा लमजुङको एक स्थानीय तहलाई गरी ३५ लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।अक्सिजन कन्सन्टे«टर, मास्क, पीपीई, सेनिटाइजर, फेससिल्ड प्रदान गरिएको छ । कोभिडको चपेटामा परेको जिल्लावासीलाई बचाउन स्वास्थ्य सामग्री प्रदान गरिएको नेता पौडेलले बताउनुभयो । व्यास नगरपालिकालाई एक अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, ४० थान पीपीई, २४ थान सेनिटाइजर, शुक्लागण्डकी नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, ३४ थान पीपीई, २४ थान सेनिटाइजर, भिमाद नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, ३० थान पीपीई, २४ थान सेनिटाइजर, भानु नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, ५० थान पीपीई, २४ थान सेनिटाइजर प्रदान गरिएको छ ।

त्यस्तै म्याग्दे गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, २० थान पीपीई, २४ थान सेनिटाइजर, घिरिङ गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, २२ थान पीपीई, २४ थान सेनिटाइजर, ऋषिङ गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, २२ थान पीपीई, २४ थान सेनिटाइजर, आँबुखैरेनी गाउँपालिकाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, २० थान पीपीई, २४ थान सेनिटाइजर, बन्दीपुर गाउँपालिकाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, २२ थान पीपीई, २४ थान सेनिटाइजर र देवघाट गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, २० थान पीपीई, २४ थान सेनिटाइजर प्रदान गरिएको छ ।

त्यस्तै, लमजुङको मधयनेपाल नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, एक हजार थान मास्क, ३० थान पीपीई, २४ थान सेनिटाइजर प्रदान गरिएको छ । दमौली अस्पताल, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताल र नेपाल पत्रकार महासंघ तनहुँलाई समेत मास्क, सेनिटाइजर, पीपीई, फेससिल्ड लगायतका सामग्री सहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्