स्कटल्यान्डसँग इङ्ग्ल्यान्डले अंक बाँड्यो



लन्डन, (एजेन्सी )  । 

युरो कप फुटबल प्रतियोगितामा प्रमुख उपाधि दावेदारमध्येको एक इङ्ग्ल्यान्ड समूह चरणको दोस्रो खेलमा स्कटल्यान्डसँग बराबरीमा रोकिएको छ ।शुक्रबार राति भएको खेलमा इङ्ग्ल्यान्ड तुलनात्मकरूपमा कमजोर मानिएको स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।

आफ्नो घरेलु मैदान वेम्बली रंगशालामा भएको खेलमा इङ्ग्ल्यान्डले ह्यारी केन, फिल फोडेन, रहिम स्टर्लिङ, मासोन मोउन्टसहितका खेलाडी लिएर उत्रिए पनि स्कटिस टिमको डिफेन्स सामु कुनै जादु चलाउन सकेन ।यता, पाहुना टोली स्कटल्यान्डले खेलभरिमा बल ३९ प्रतिशत मात्रै आफ्नो पकडमा राख्न सके पनि घरेलु टोलीमाथि लगातार आक्रामक खेल खेलेको थियो । स्टकल्यान्ड हाल फिफा वरीयतामा २३औं स्थानमा भएको टोली हो भने इङ्ग्ल्यान्ड चौथो स्थानमा छ ।यसै समूहको अर्को खेलमा क्रोएसिया लगातार दोस्रो खेलमा पनि जितविहीन बन्यो । शुक्रबार राति नै भएको समूह चरणको दोस्रो खेलमा क्रोएसिया चेक रिपब्लिकसँग १–१ गोलको बराबरमा रोकिन बाध्य भयो । क्रोएसियाले पछि परेको स्थितिमा पुनरागमन गरे पनि जितको नतिजा भने आत्मसात गर्न सकेन ।

यसअघि, क्रोएसिया पहिलो खेलमा इङ्ग्ल्यान्डसँग १–० ले पराजित भएको थियो । दोस्रो खेलमा एक गोलले पछि परेको अवस्थामा बराबरी गोल गरेर एक अंक जोड्न सके पनि अन्तिम १६ मा प्रवेशका लागि भने क्रोएसियालाई अब अन्तिम खेलसम्म पर्खिनुपर्नेछ । अन्तिम खेलमा स्कटल्यान्डलाई राम्रो अन्तरमा जितेमात्र क्रोएसिया तेस्रो स्थान रहनेमध्ये उत्कृष्ट बन्दै अन्तिम १६ मा जान सक्नेछ ।स्कटल्यान्डको ह्यान्पडेन रंगशालामा भएको उक्त खेलमा चेकले खेलको ३७औं मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिएको थियो । डिबक्समा क्रोएसियन खेलाडीले चेकका प्याट्रिक स्चिकलाई हेडिङ गर्नेक्रममा फाउल गरेपछि रेफ्रीले भिएआरमार्फत् रिभ्यु गरेर पेनाल्टी दिने निर्णय गरेका थिए । जसमा प्याट्रिक आफैंले पेनाल्टी प्रहार गर्दै गोल गर्न सफल भए ।

यता, क्रोएसियाले दोस्रो हाफ शुरू हुनासाथ बराबरी गोल फर्कायो । दोस्रो हाफ शुरू भएको मात्रै दुई मिनेटमा इभान पेरिसचले शानदार प्रहारमा गोल गर्दै खेल १–१ बनाएका थिए । तर, त्यसपछि बाँकी समयमा दुवै टोलीले गोल गर्न सकेन ।यो बराबरीपछि क्रोएसिया दुई खेल सकिँदा मात्रै एक अंकका साथ समूह ‘डी’ को तेस्रो स्थानमा छ । चेक चार अंकसहित शीर्ष स्थानमा छ । यस समूहमा इङ्ग्ल्यान्ड दुई खेलपछि ४ अंकका साथ दोस्रो स्थानमा छ । समान चार अंक नै भएको चेक रिपब्लिक शीर्ष स्थानमा छ । त्यस्तै, स्कटल्यान्ड पनि एक अंकका साथ चौथो स्थानमा छ ।

अब अन्तिम खेल बाँकी छँदासम्म यस समूहबाट अन्तिम १६ मा जाने सम्भावना सबैका लागि खुला छ । अन्तिम खेलमा इङ्ग्ल्यान्ड र चेक रिपब्लिकको खेल हुनेछ भने अर्को खेलमा क्रोएसियासँग स्कटल्यान्डले खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्