अर्जेन्टिनाको पहिलो जित



रियो दि जेनेरियो, (एजेन्सी) । 

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १–० गोलअन्तरको संघर्षपूर्ण जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । समूहचरणअन्तर्गत यसअघि भएको पहिलो खेलमा अर्जेन्टिना चिलीविरुद्ध खेलमा १–१ गोलको बराबरीमा रोकिएको थियो । अर्जेन्टिनाको लागि खेलको १३औं मिनेटमा गरेको एक मात्रै गोल जितको निम्ति पर्याप्त बन्यो । सो गोल मिडफिल्डर गुइडो रोड्रिग्वेजले गरेका थिए ।

कप्तान लिओनल मेसीको पासमा उनले गरेको हेडिङ प्रहार पोस्टको पोलमा लागेर गोलमा परिणत भएको थियो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हो । त्यसपछि, बाँकी समयभरि दुवै तर्फबाट दोस्रो गोल हुन नसक्दा खेल अर्जेन्टिनाले १–० ले जित्यो । लुइस स्वारेज र एडिन्सन काभानीसहितको उरुग्वेले अर्जेन्टिनाविरुद्ध कुनै जादु चलाउन सकेन । पहिलो हाफमा उरुग्वेले एक पेनाल्टीका लागि अपिल गरे पनि रेफ्रीले त्यसमा कुनै चासो देखाएनन् ।कोपा अमेरिकाअन्तर्गत शनिबार बिहान नै भएको अर्को खेलमा चिलीले पनि पहिलो जित दर्ता ग¥यो । समूह चरणको दोस्रो खेलमा चिलीले बोलिभियामाथि १–० को जित हात पार्न सफल भएको हो । जारी प्रतियोगितामा चिलीको यो पहिलो जित हो । चिली यसअघि पहिलो खेलमा अर्जेन्टिनासँग १–१ को बराबरी रोकिएको थियो ।

बोलिभियाविरुद्ध चिलीले खेलमा बलियो पकड बनाएर खेलेको थियो । चिलीका लागि खेल शुरू भएको १०औं मिनेटमै फरवार्ड बेन ब्रेरेरेटनले गोल गरेका थिए । सो गोलमा इडुआर्डो भर्गासले असिस्ट गरे । त्यसपछि, खेलभरिमै दुवै तर्फबाट थप गोल नभएपछि खेल चिलीले १–० ले जित्यो ।यो जितपछि समूह ‘बी’ मा अर्जेन्टिना दुई खेलपछि चार अंकका साथ शीर्ष स्थानमा छ । समान चार नै अंक भएको चिली दोस्रो स्थानमा छ भने तीन अंक भएको पाराग्वे तेस्रो स्थानमा छ । पराजित उरुग्वे र बोलिभिया भने अंकविहीन हुँदै चौथो र पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्