संसद् पुनःस्थापना भएमात्र कांग्रेसको महाधिवेशन



काठमाडौं, (नेस)।

नेपाली कांग्रेसले भदौमा १४औं महाधिवशेन गर्न संशोधित कार्य तालिका पारित गरेको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै पार्टीभित्र नेतृत्वको दौडधूप पनि अगाडि बढाएको छ । सभापति शेरबहादुर देउवाले पुनः एक कार्यकाल सभापतिमा दोहोरिने चाहना व्यक्त गर्नु भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भित्र पनि नेतृत्वको बारेमा परामर्श तीव्र बनाएको छ ।

कानुनी बाध्यात्मक परिस्थिति अनुसार कांग्रेसले भदौमा महाधिवेशन गर्ने मिति नै तय गरेको छ । कांग्रेसको महाधिवेशनको टुंगो भने संसद्पुनःस्थापना हुन्छ कि हुँदैन भन्ने विषयसँग जोडिएको बताइएको छ । कांग्रेसका नेता राजन केसीले सर्वोच्च अदालतमा विचाराधीन संसद् पुनःस्थापनाको फैसालसँग पार्टीको महाधिवेशनको विषय टुंगो लाग्ने बताउनुभयो ।उहाँले नेपाल समाचारपत्र सँग भन्नुभयो– ‘महाधिवेशन गर्नु पर्ने अवस्था छ, तर सर्वोच्च अदालतले संसद् विघटनको मुद्दालाई सदर गरेको अवस्थामा पार्टी महाधिवेशनमा जान सक्दैन । यदि, संसद् पुनःस्थापना नभएको अवस्थामा पार्टीको महाधिवेशन भएको अवस्थामा नेता कार्यकर्ता विभाजित अवस्था बन्ने हुँदा पार्टीलाई घाटा हुने भएकाले निर्वाचनपछि मात्र  महाधिवेशन हुन सक्छ ।’

कांग्रेले संसद्पुनःस्थापना भएको अवस्थामा मात्र कांग्रेसको महाधिवेशन हुने अवस्था सृजना हुने बताइएको छ । पार्टी सभापति देउवा प्रधानमन्त्री हुने अवस्था आएको र हालकै प्रधानमन्त्री ओलीले नै निरन्तरता पाएको अवस्थामामात्र कांग्रेसको महाधिवेशन सम्भव छ, सभापति देउवा निकट एक नेताले बताए । उनका अनुसार देशभित्र कोभिड–१९ को जोखिम पनि कायमै रहेकाले कोरोनाको अवस्थाले मात्र महाधिवेशन हुने-नहुने तय गर्छ ।

प्रतिक्रिया दिनुहोस्