फेरि सभापतिमा उठ्ने देउवाको घोषणा



काठमाडौं, (नेस)। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पार्टीले आगामी भदौमा १४औं महाधिवशेन गर्ने संशोधन कार्यपालिका पारित गरेसँगै उहाँले सभापतिमा दोहोरिने चाहना रहेको बताउनु भएको हो । सभापतिमा उम्मेदवारी दिने तयारी सहित देउवाले आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफल अगाडि बढाउनु भएको छ ।

शनिबार उहाँले प्रदेश १ का आफू पक्षीय केन्द्रीय सदस्यसँग परामर्श गर्नु भएको छ । परामर्शका क्रममा उहाँले १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने जानकारी गराउनुभएको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले बताए । देउवाले पार्टीलाई देशकै ठूलो पार्टी बनाएर १५औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने समेत चाहना व्यक्त गर्नुभएको छ । कांग्रेसको विधान अनुसार दुई कार्यकाल सभापति हुन पाउने व्यवस्था रहेको छ ।बिहीबार र शुक्रबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकबाट भदौ १६–१९ महाधिवेशनको कार्यतालिका पारित भएपछि देउवा आन्तरिक छलफलमा जुट्नु भएको हो । सभापति देउवाका स्वकीय सचिवभानु देउवाले महाधिवशेनको माहोल बनाउन सातवटै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

शनिबार सभापति देउवाले उपसभापति विजय कुमार गच्छदार, सह–महामन्त्री सुनिलथापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की, भीष्म राज आङदम्बे, डा. डीला संग्रौला, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, सुजाता परियारलगायतका नेताहरूसँग परामर्श गर्नु भएको थियो । शनिवार नै सभापति देउवाले प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग पनि छलफल गर्नुभएको थियो । त्यसैगरी, यसअघि नै सभापतिमा आकांक्षा देखाउनुभएका उपसभापति विमलेन्द्र निधि सँग पनि देउवाले छलफल गर्नुभएको छ । स्वकीय सचिवभानु देउवाका अनुसार सोमबार  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्