रयालेको संसारी डाँडामा ‘शहिद पार्क’



मोतीराम तिमल्सिना, काभ्रे ।

साविकको रयाले गाउँ विकास समितिका अध्यक्ष थिए कृष्णप्रसाद सापकोटा । विकास निर्माणमा देखिएको नेतृत्वदायी भूमिकाबाट आत्तिएका थिए तत्कालिन अवस्थाका राजनीतिक दल । माओवादी शशस्त्र द्वन्द्वको समयमा घरमा सुतिरहेको अवस्थामा मध्यराती केहि कुराकानी गर्नु छ भन्दै ओछ्यानबाट निकालेर कुशादेवी स्थित सडक छेउको जंगलमा ल्याई टाउको र शरिर अलग बनाउने क्रुर हत्याको विरुद्ध रयाले अझै पनि एक छ । उनै सापकोटाको गुरुयोजना साकार पार्न रयालेको संसारी डाँडामा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले निर्माण शुरु गरिएको छ ‘शहिद पार्क’ ।

‘माओवादी कार्यकर्ताहरुले कसैको उक्साहटमा कृष्णप्रसाद सापकोटाको हत्या गरेका थिए । राजनीतिक आस्था र विचारमा बहस समेत गर्न दिएनन’–कृष्णप्रसाद सापकोटाका भाई एवं नेकपा एमाले रयाले गाउँ कमिटीका अध्यक्ष रामचन्द्र सापकोटाले भन्नुभयो–‘हत्यारालाई कारवाही गर्न, पार्टी र जनताका लागि गरेको योगदानका आधारमा शहिद घोषणा गर्न सरकार र पार्टीलाई अनुरोध गर्दछु ।’ माओवादीले हत्या गरेका नेकपा एमालेका कार्यकर्ताहरु अझैसम्म शहिद घोषणा भएका छैनन । गाविस अध्यक्ष भएको बखत रयालेका कृष्णप्रसाद सापकोटा, पाँचखालका उपाध्यक्ष बलराम सापकोटालाई माओवादीले अपहरण गरी क्रुरता पूर्वक हत्या गरेका थिए ।

रयालेका सिंहविर तामाङ पनि नेकपा एमालेका कार्यकर्ता थिए । केहि दिनको अघि पछि सापकोटा र तामाङ दुबैको माओवादीले हत्या गरेका थिए । उनलाई हत्या गर्ने माओवादी कार्यकर्ता खुलेआम हिडिरहेका छन् । ‘हत्यारा खुलमखुला हिडिरहँदा सहन कठिन हुन्छ, सम्हालिनुको विकल्प छैन’–भाई रामचन्द्रले भन्नुभयो–‘परिवार तथा रयालेबासीको भावनालाई कदर गर्दै तत्काल हत्यारालाई कारवाही र मृतकलाई शहिद घोषणाको माग गर्दर्छाै ।’

पार्क निर्माणका लागि पनौती नगरपालिकाले संसारी डाँडालाई विशेष प्राथमिकतामा राखेको छ । पहिलो वर्ष २० लाख रकम विनियोजन गरेको नगरपालिकाले दोश्रो वर्ष पनि प्राथमिकतामा राख्यो । आगामी वर्ष पनि प्राथमिकतामा राख्ने गरी सुझाव दिएको शहिद पार्कका अध्यक्ष राजकुमार सापकोटाले बताउनु भयो । पार्क निर्माणमा २ करोड रकम खर्च भईसकेको छ ।

भिरालो परेको जमिनलाई सम्याउँदै पर्यटकहरुका लागि आर्कषक केन्द्रका रुपमा पार्कलाई विकास गर्न लागिएको छ । पार्कको गुरुयोजना तयार गरी निर्माण कार्य शुरु गरिएको अध्यक्ष राजकुमार सापकोटाले बताउनु भयो । पहिलो चरणमा संसारी डाँडामा संसारी देवीको मन्दिर निर्माण गरिएको छ । भिरालो जमिनलाई रिटेनिङ्ग वाल मार्फत सम्म बनाईएको छ । मन्दिर निर्माण सँगै शौचालय, पाले घर निर्माण कार्य सम्पन्न गरिएको छ । दुई वटा वनभोज स्थल निर्माण गरी बुद्ध मुर्ति, शहिदहरुको प्रतिमा निर्माण गरिएको छ ।

पार्कमा १५ लाख रुपैयाको बुद्ध मुर्ति राखिएको छ । जसको अनावरण बाँकी छ । शहिदहरुको प्रतिमा पुर्व मन्त्री गोकुल बास्कोटाले गरेका छन् । जसमा मदन भण्डारी, कृष्णप्रसाद सापकोटा र सिंहविर तामाङको प्रतिमा राखिएको छ । अझै केहि राजनीतिज्ञहरुको प्रतिमा राख्ने तयारी गरिएको छ । शहिद पार्कका सचिव रामचन्द्र सापकोटाका अनुसार पार्कमा जाने सडक निर्माणका लागि अघिल्लो आर्थिक वर्ष प्रदेश सरकार मार्फत रयालेको पर्खालचौरबाट ढाँडाचौरसम्म १ करोड ५० लाख रुपैया खर्च गरिएको छ । आगामी आर्थिक वर्षका लागि पर्खालचौर रानिकोट सुर्यविनायक सडकका लागि १४ करोड रकम विनियोजन गरिएको छ ।

रयाले र रानिकोट दुई जिल्लाको संगम स्थल पर्यटकहरुका लागि आर्कषक स्थान हो । वातावरण तथा उचाईका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आर्कषक बन्न सक्ने रानिकोटको थप विकाससँगै शहिद पार्क निर्माण कार्यको शुरुवात गरिएको हो । शहिदहरुको परिचय, तामाङ, नेवार, ब्रम्हाण क्षेत्रीहरुको संस्कृति समेट्ने सामाग्रीहरु संग्राहलयमा राखिने सचिव रामचन्द्र सापकोटाले बताउनु भयो । ६३ रोपनी जमिन सार्वजनिक छ । सोहि जग्गाको ब्यवस्थापन सहित पार्कमा आर्कषक रेस्टुरेन्ट सहितका संरचना निर्माणको योजना अघि सारिएको छ । पार्क निर्माणमा सिंगो रयाले र पनौती नगरपालिकाको सक्रियता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्