रामोसको रियल छाड्ने घोषणा



मेड्रिड, (एजेन्सी) । 

स्पेनिस क्लब रियल मेड्रिडका चर्चित डिफेन्डर सर्जियो रामोसले क्लब छाड्ने घोषणा गरेका छन् ।बुधबार राति रियलले आधिकारिकरूपमा प्रेस विज्ञप्ति जारी गर्दा आफ्ना कप्तानले क्लब छाड्ने घोषणा गरेको हो । यससँगै उनको रियलसँगको १६ वर्षको सहयात्रा पनि यहीँ टुङ्गिएको छ ।

सिजन २०२०–२१ को अन्त्यसँगै रामोसको सम्झौता सकिएको थियो । रामोस र रियलबीच पछिल्लो समय नयाँ सम्झौता हुन नसकेपछि रामोसले रियल छाड्ने निर्णय गरेका हुन् । उनले रियलसँग थप दुई वा तीन वर्षका लागि सम्झौता साविककै तलब–सुविधामा गर्न चाहेका थिए । तर, रियलले उनीसँग २० प्रतिशत तलब कटौती गरेर थप एक सिजनका लागि मात्रै सम्झौता गर्न तयार हुँदा सहमति बन्न नसकेपछि रामोसको बिदाइ तय भएको हो ।

रामोस सन् २००५ मा ला लिगाकै क्लब सेभियाबाट रियलमा अनुबन्ध भएका थिए । त्यस दौरान रामोस सधैं टोलीमा मुख्य खेलाडी बने । उनी सन् २०१६ देखि टोलीको कप्तान बनेका थिए । गोलकिपर इकर कासिलासले क्लब छाडेपछि रामोसले कप्तानको जिम्मेवारी पाएका थिए । रामोसले १६ वर्ष रियलमा बिताउनेक्रममा कुल ६ सय एक म्याच खेलेका छन् ।

सोहीक्रममा उनले एक सय एक गोल पनि गरेका छन् । एक डिफेन्डरका लागि एक सय एक गोलको रेकर्ड चमत्कारिक नै हो । कतिपय फरवार्डले करिअरभरिमा एक सय गोल कटाउन मुस्किल हुन्छ । रियलको जर्सीमा उनले चार ला लिगा र चार च्याम्पियन्स लिग गरी कुल २२ उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्