पलेशा पाराल्याम्पिकका लागि छनोट



नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन जापानमा हुने टोकियो पाराल्याम्पिक गेम्स २०२० मा छनोट भएकी छन् । नेपाल तेक्वान्दो संघले विज्ञप्ति जारी गर्दै पलेशा वाइल्ड कार्डमार्फत पाराल्याम्पिकका छनोट भएकी हुन् । आगामी भाद्र १७ देखि १९ गतेसम्म हुने पाराल्याम्पिकमा उनले ४४, ५८ केजीमुनिको प्रतिस्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् ।

६ जना नेपाली पारातेक्वान्दो खेलाडीले गत जेठ ७ गते जोर्डनको अम्मान शहरमा पाराल्याम्पिकको लागि छनोट प्रतियोगिता खेल्नु पर्ने थियो । तर, कोरोना महामारीको कारण छनोट प्रतियोगिता स्थलमा पुग्न नसकेपछि उनीहरूले छनोट प्रतियोगिताबाट वञ्चित हुनु परेको थियोे । उक्त छनोट खेलबाट वञ्चित भएपश्चात् नेपाल तेक्वान्दो संघले पलेशा र रञ्जना धामी (के.४४, ४९ केजी) को नाम राष्ट्रिय पारालम्पिक कमिटिको समन्वयमा वाइल्ड कार्डको लागि पहल गरेको थियो । पलेशा विश्व तेक्वान्दो महासंघको १३ औं वरीयतामा रहेकी र विश्व तेक्वान्दो महासंघ एवं अन्तर्राष्ट्रिय पाराल्याम्पिक कमिटिबाट नेपाललाई एउटा मात्रै कोटा दिने व्यवस्था भएकोले उनले वाइल्ड कार्ड प्राप्त गर्न सफल भइन् ।

पलेशाले संघअन्तर्गत रहेको पारा राष्ट्रिय टिममा २०७२ सालदेखि नियमित तालिम तथा प्रशिक्षण लिईरहेकी छिन् । उनले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा पहिलोपटक के४४, ५८ केजीमाथि तेस्रो स्थान प्राप्त गर्न सफल भई नेपाललाई कास्य पदक दिलाएकी थिइन् । यस्तै, उनले पहिलोपटक कोरियामा आयोजना भएको तेस्रो एशियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगिता २०१७ मा के४४, ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्दै पाँचौं स्थान प्राप्त गरेकी थिइन् ।

पलेशाले २०१७ मा लन्डनमा आयोजित सातौं विश्व पारा तेक्वान्दो प्रतियोगितामा पनि पाँचौं स्थान हासिल गरेकी थिइन् । जोर्डनमा भएको पाँचौं एशियन पारा तेक्वान्दो प्रतियोगितामा उनले के.४४, ५८ केजीमाथिको स्पर्धामासमेत पाँचाै स्थान प्राप्त गरेकी थिइन् । उनले टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दो प्रतियोगितामा के.४४, ५८ केजीमाथि तौल समूहमा निकै राम्रो प्रदर्शनका बावजुद पाँचाै स्थानमै सीमित हुन पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्