इटाली अन्तिम १६ मा प्रवेश



लन्डन, (एजेन्सी)
इटाली जारी युरो कप २०२१ को अन्तिम १६ मा प्रवेश गरेको छ ।प्रतियोगिताको समूहचरणअन्तर्गत इटालीले लगातार दोस्रो खेलमा पनि शानदार जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बिहीबार बिहान भएको समूह चरणको दोस्रो खेलमा इटालीले स्वीट्जरल्यान्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोलमा इटालीले ३–० को जित दर्ता गरेको हो ।

खेलको २६औं मिनेटमा इटालीले अग्रता लिएको थियो । डोमेनिको बेरार्डीको कटब्याकमा म्यानुएल लोकाटेलीले ६ यार्ड डीबक्सभित्र अनमार्क रहेको अवस्थामा गोल गरेका थिए । लोकाटेली आफैंले मिडफिल्डबाट लामो पास निकाल्दै सासुओलोबाट खेल्दै आएका बेरार्डीलाई बायाँ विंगमा कुदाएका थिए । बेरार्डीले विंगमा मुभमा पेनाल्टी क्षेत्रभित्र पुगेका लोकाटेलीले सहजै गोल गरेका थिए । खेलको ५२औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारमा स्वीट्जरल्यान्डका गोलरक्षक यान सोमरले कुनै प्रतिक्रिया नै दिन सकेनन् । लोकाटेलीले आफ्नो व्यावसायिक करिअरमा एकै खेलमा दुई गोल गरेको यो पहिलो अवसर हो ।खेलको ८९औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३–० को जित पक्का गरे । उनले राफाएल टोलोइको पासमा लामो दुरीबाट गरेको प्रहार गोल भएको थियो । इटालीले पछिल्लो १० खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने सिलसिलालाई कायम नै राख्यो ।

यस जितसँगै इटालीको अपराजित यात्रा २९ खेलसम्म लम्बिएको छ । इटालीले पछिल्लो १० खेलमा गोलसमेत बेहोरेको छैन । यस जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको दुई खेलमा ६ अंक रहेको छ । इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ । यसअघि, पनि समूहको पहिलो खेलमा शानदार शुरूवात गरेको इटालीले लगातार दुवै खेलमा क्लिन सिटसहित जित निकालेको हो । इटालीले यसअघि भएको पहिलो खेलमा पनि टर्कीलाई ३–० ले नै हराएको थियो ।यसै समूहको अर्को खेलमा वेल्सले पनि पहिलो जित दर्ता गरेको छ । बुधबार राति भएको समूहको दोस्रो खेलमा वेल्सले टर्कीलाई २–० ले पराजित गरेको हो । यससँगै टर्की लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । अजरबैजानको बाकु सहरस्थित बाकु ओलम्पिक रंगशालामा भएको खेलमा वेल्सका प्रमुख खेलाडी तथा ग्यारेथ बेलले एउटा पेनाल्टीलाई खेर फाले पनि उनी नायक बने । उनले टिमका दुवै गोलमा अवसर सिर्जना गरेर जितको हकदार बनाए । यो जितको बलमा वेल्स अन्तिम १६ नजिक पुगेको छ । वेल्सले यसअघि पहिलो खेल बराबरी गरेको थियो ।वेल्सका लागि खेलको ४२औं मिनेटमा आरोन राम्सेले डीबक्स अघिबाट कडा प्रहारमा गोल गर्दै टर्कीलाई पछि पारेका थिए । सो गोलमा कप्तान बेलले निकै बुद्धिमानी असिस्ट प्रदान गरेका थिए । बेलको असिस्टमा राम्सेले यसपटक कुनै गल्ती गरेनन् । त्यसपछि वेल्सले खेलको ६१औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, कप्तान बेलको पेनाल्टी प्रहार पोस्टभन्दा निकै माथिबाट हावामा उडेको थियो । त्यसपछि, वेल्सका लागि खेलको इन्ज्युरी समयको पाँचांै मिनेटमा युवा खेलाडी कोनोर रोबर्ट्सले गोल गरेपछि खेल वेल्सले २–० ले जित्यो । सो गोलमा कप्तान बेलले नै निकै चलाखीपूर्वक असिस्ट प्रदान गरेका थिए ।

यो जितपछि दुई खेल सकिँदा चार अंक बनाएर वेल्स ‘समूह ए’ को शीर्ष स्थानमा रहेको छ । वेल्सले पहिलो खेल स्वीट्जरल्यान्डसँग बराबरी खेल्दा दोस्रो खेल जितेको हो । एक खेल बराबरी गरेको स्वीट्जरल्यान्ड एक अंकसहित तेस्रो स्थानमा छ । दुवै खेल हारेको टर्की अंकविहीन हुँदै पुछारमा छ । समूहको शीर्ष स्थानमा रहेको इटालीले अन्तिम खेल वेल्ससँग खेल्नेछ भने टर्कीको खेल स्वीट्जरल्यान्डसँग हुनेछ ।युरो कपअन्तर्गत बुधबार राति नै भएको अर्को खेलमा रसियाले पनि पहिलो जित निकालेको छ । रसियाले समूह चरणको दोस्रो खेलमा पहिलोपटक युरो कप खेलिरहेको फिनल्यान्डलाई १–० गोलअन्तरले हराएको हो । यसअघि, रसिया पहिलो खेलमा बेल्जियमसँग पराजित भएको थियो भने फिनल्यान्डले डेनमार्कलाई १–० ले हराएको थियो ।रसियाको सेन्ट पिटर्सवर्गमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफको इन्ज्युरी समयमा गरेको एक मात्रै गोलको मद्दतमा खेल जित्न सफल भयो । सो गोल ४७औं मिनेटमा एलेक्सेई मिरानचुकले गोल गरेका थिए । समूह ‘बी’ मा बेल्जियम शीर्ष स्थानमा रहँदा रसिया दुई खेलपछि एक जितका साथ दोस्रो स्थानमा छ । एक जित र एक हार बेहोरेको फिनल्यान्ड भने तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्