ब्राजिलको सहज जित



एजेन्सी ।

जारी ४७औं कोपा अमेरिका फुटबलका आयोजक ब्राजिलले लगातार दोस्रो खेलमा सहज जित निकालेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको समूह चरणको दोस्रो खेलमा ब्राजिलले पेरुमाथि ४-० गोलअन्तरको एकपक्षीय जित निकालेको हो । यसअघि ब्राजिलले प्रतियोगिताको उद्घघाटन खेलमा पनि भेनेजुएलाविरुद्ध ३-० को जित निकालेको थियो । आज पेरुविरुद्ध ब्राजिलको जितमा चार जना फरक–फरक खेलाडीले गोल गरे । दोस्रो हाफमा ब्राजिलले पाएको एक पेनाल्टी अवसर भने भिएआरको जाँचपछि रेफ्रीले रद्द गरिदिएका थिए ।

ब्राजिलका लागि पहिलो गोल खेलको १२औं मिनेटमा डिफेन्डर एलेक्स सान्ड्रोले गरेका थिए । उनको गोलमा ग्याब्रिएल जेससले असिस्ट गरेका थिए । त्यसपछि ब्राजिललाई दोस्रो गोल गर्न खेलको ६८औं मिनेटसम्म कुर्नु परेको थियो । यसपटक नेयमारले डीबक्स बाहिरबाट निकै शानदार गोल गरेर टिमको अग्रता दोब्बर पारेका थिए । त्यसअघि उनी पेनाल्टी प्रहार गर्न ठिक्क पर्दा भिएआरले पेनाल्टी रद्द गरिदिएको थियो ।

त्यसपछि ब्राजिलका लागि तेस्रो गोल खेलको ८९औं मिनेटमा युवा खेलाडी एभर्टन रिबेइरोले गरे । उक्त गोलमा युवा खेलाडी रिचार्लिसनले असिस्ट गरेका थिए । त्यस्तै, खेलको ईन्ज्युरी समयको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गरेपछि खेल ब्राजिलले ४–० ले जित्यो ।ब्राजिल र पेरु यसअघि २०१९ को फाइनलमा भिडेका थिए । त्यसबेला ब्राजिलले पेरुलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । अब यो जितसँगै ब्राजिलले दुई खेलपछि ६ अंक बनाएर समूह ‘ए’ को शीर्ष स्थान ओगटेको छ । यसै समूहमा दुई खेलबाट ४ अंक बनाएको कोलम्बिया दोस्रो स्थानमा छ भने दुई खेलमध्ये एक खेलमा हार र एक खेल बराबरी गरेको भेनेजुएला १ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्