निषेधाज्ञामै सल्बलाए तस्कर



न्युज अफ नेपाल, हेटौंडा ।

कोरोना महामारी फैलने चिन्तामा स्थानीय प्रशासनले मकवानपुरमा निषेधाज्ञा असार ७ गतेसम्मका कायम राखेको छ । पछिल्लो पटक निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तर, खुकुलो बनाइएको मौका पारेर लागुऔषध र काठ तस्कर भने सल्बलाएका छन् । प्रहरीले बिहीबार ठूलो परिमाणमा लागुऔषध गाँजा र काठसहित तस्करहरुलाई नियन्त्रणमा लिएको हो । बुधबार पनि प्रहरीले एक कन्टेनरबाट ९६ केजी गाँजा बरामद गरेको थियो । बिहीबार एकाविहानै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षकसमेतको टोलीले गाँजा बरामद गरेको थियो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना. १ ख ९९१० नम्बर कन्टेनरबाट प्रहरीले १२ वटा पोकामा लागुऔषध गाँजा १ सय ४३ किलो ३ सय ग्राम फेला पारेको हो । कन्टेनरचालक सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका वडा–५, सिगार्से बस्ने वर्ष २८ का सनकबहादुर तामाङ, सहचालक सोही नगरपालिका वडा–८, मानेश्वमरा बस्ने वर्ष २४ का सोमे तामाङ र कन्टेनरमा यात्रीका रुपमा रहेका मकवानपुरको राक्सिराङ गापा वडा–१, गल्छराङ्ग बस्ने वर्ष १८ का सबिन तामाङलाई गाँजा र कन्टेनरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । हेटौंडा–११, थानाभ¥याङस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा कन्टेनर चेक गर्दा चालक बस्ने सिटपछाडि फल्स बटम बनाएर लुकाइएको गाँजा बरामद गरिएको थियो ।

राति करिब सवा १२ बजे प्रहरीले सालको अवैध २७ वटा फेन्टा (५४ क्युफिट) फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–११, तीनताप्केस्थित सडकखण्डमा बसामाडीबाट पदमपोखरीतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१३२ नम्बर मिनी टाटा चेक गर्दा गाडीमा लुकाइल्याएको काठ बरामद गरेको थियो । गाडीचालक हेटौंडा–११, स्मारक बस्ने वर्ष २३ का सुखराम रुम्बा र काठ ओसारपसारमा संलग्न उक्त गाडीको पछिपछि आउ“दै गरेको ना. ५२ प ८८०९ नम्बर मोटरसाइकल चालक हेटौंडा–१३ बस्ने वर्ष २४ का दिपेश लामालाई काठ, गाडी र मोटरसाइकलसहित नियन्त्रणमा लिएर कारबाहीका लागि डिभिजन बन कार्यालय राप्ती, मनहरी पठाइएको छ ।

प्रहरीले केही दिनअघि एक क्वीन्टल गाँजासहित हेटौंडा–१ बाट तीन जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार भीमफेदी गाउँपालिकाको नामटारबाट हेटौंडातर्फ आउँदै गरेको ना.२ ख ९८६२ नम्बर ट्रकबाट गा“जा बरामद गरिएको थियो ।

ट्रक जाँच गर्दा हुटमा फल्स बटम बनाएर लुकाइएको अवस्थामा गाँजा बरामद भएको थियो । पक्राउ पर्नेमा ट्रकचालक काभ्रेको महाभारत गाउ“पालिका–५ का ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ४१ वर्षीय राजकुमार तामाङ र मकवानपुरको कैलाश गाउँपालिका–१० का ३६ वर्षीय सुबिन रुम्बा छन् । जेठ ३० गते अवैध लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । हेटौंडा उपमहानगरपालिका–१०, राममन्दिर मोडनजिकबाट अवैध लागुऔषध र नगदसहित पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१० राममन्दिर मोड डेरा गरी बस्ने ३१ वर्षीय हेमजंग बानियाँ र बडा–१ बस्ने ३४ वर्षीय सुरेश परियार छन् ।

लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले बानियाँको साथबाट १४ ग्राम ब्राउनसुगर र नगद ३ लाख ६६ हजार २ सय ५० रुपियाँ तथा परियारको साथबाट नगद २ हजार रुपियाँ फेला पारी पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता रिमालका अनुसार त्यस्ता व्यक्तिको पेशा नै त्यही भएका कारण जुनसुकै अवस्थामा पनि लागुऔषध कसरी लैजाने भन्नेमात्र सोच भएकाले यस्ता गतिविधि नरोकिएको हो । ठूला गाडी खाद्यान्न बोकेर काठमाडौं जाने हुँदा प्रहरीले त्यति ध्यान दिँदैनन् जस्तो सोचर पनि उनीहरुले लागुऔषध बोकेर हिँड्ने गरेको बुझिएको रिमाल बताउनुहुन्छ । ‘हामीलाई चेक गर्दैनन् भन्ने ठानेर झुक्याउन खोज्छन्,’ उहाँ भन्नुहुन्छ–ठूला गाडीमै अचेल लागुऔषधको बिगबिगी छ ।

गाँजा गाडीमा ल्याउँदै गरेको अवस्थादेखि बिक्री गरिरहेको अवस्थासम्म प्रहरीले पक्राउ गरेको छ । अन्य समयमा भन्दा पनि यस समयमा झन् ठूलै परिमाणमा लागुऔषध भेटिन थालेका छन् । निषेधाज्ञा अवधिमा लागुऔषध ओसारपसारमा कमी आउन सकेन । आपराधिक मनसाय भएका मानिसको पेशा नै यही भएका कारण उनीहरुलाई निषेधाज्ञाले पनि अवैध कार्य गर्न असर पारेन । प्रहरीलाई यो समयमा झुक्याउन सकिन्छ कि भन्ने मनसायले उनीहरु यस्ता क्रियाकलापमा लागिरहेका छन् ।

कोरोनाको दोस्रो लहर पहिलो लहरभन्दा निकै भयानक भएको पुष्टि कोरोना संक्रमतिको बढ्दो संख्याले देखाएपछि अन्य भने डरले घरमै थन्केर बसेको समयमा आपराधिक मनोवृत्तिका मानिसहरु भने यही मौका छोप्दै चलायमान बनेका यस्ता गतिविधिले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्