जापानको शानदार जित



लन्डन, (एजेन्सी) । 

आगामी वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसिया महादेशमा जारी छनोट खेलमा जापानले शानदार जित निकालेको छ ।

मंगलबार राति भएको दोस्रो चरणअन्तर्गत आठौं खेलमा जापानले किर्गिस्तनामाथि ५–१ को फराकिलो गोलअन्तरको जित निकालेको हो । जापानको सुइटा सिटी स्टेडियममा भएको खेलमा जापानलाई शानदार जित दिलाउन एडु ओनाइउले ह्याट्रिक गरेका थिए । उनले मात्रै सात मिनेटभित्र एक पेनाल्टीसहित तीन गोल गरेर ह्याट्रिक पूरा गरे । उनले विश्वकप छनोटमा एसिया महादेशमा सबैभन्दा चाँडो ह्याट्रिक गोल गर्ने कीर्तिमानीसमेत बनाएका छन् ।

जापानका लागि ओनाइउले खेलको २७औं मिनेटमा पहिलो गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत् गरेका थिए । त्यसपछि, उनले ३१औं मिनटमै व्यक्तिगत दोस्रो गोल गरे भने ३३औं मिनेटमा अर्को गोल थप्दै रोमाञ्चक ह्याट्रिक पूरा गरे । यता, पहिलो हाफको इन्ज्युरी समयमा किर्गिस्तानका लागि मिर्लान मुर्जाभले पेनाल्टीमार्फत् गोल गरेपछि पहिलो हाफ खेलस्थिति ३–१ मा टुङ्गिएको थियो । तर, दोस्रो हाफमा जापानले दुई गोल थप्दै फराकिलो जित निकाल्यो । जापानका लागि खेलको ७३औं मिनेटमा शो शासकीले गोल गरे भने ७८औं मिनेटमा ताकुमी असानोले गोल गरेपछि जापानले खेल ५–१ ले जित्यो ।

यससँगै जापानले विश्वकप छनोटको दोस्रो चरणमा शतप्रतिशत जित निकाल्न सफल भएको छ । जापान विश्वकप छनोटको तेस्रोचरण प्रवेश गरेको छ भने सन् २०२३ मा हुने एसियन कपमा सोझै छनोट भएको छ । जापानले हालसम्मका आठ वटा सबै खेल जितेको छ । जापान अब समूह ‘एफ’ मा २४ अंकका साथ शीर्ष स्थानमा छ । जापानले आठ खेल जित्ने क्रममा ४४ गोल गरे भने दुई गोल मात्रै बेहोरेको छ । यता, समूहको दोस्रो स्थानमा ताजकिस्तान १३ अंकको साथ रहँदा किर्गिस्तान १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्