बाढी, पहिरो र डुबानमा परी ४ जनाको मृत्यु, ६९ जनाको उद्धार



न्युज अफ नेपाल, काठमाडौं ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ६९ जनाको प्रहरीले उद्दार गरेको छ ।

बाढी, पहिरो र डुबानमा परी पाल्पामा १ जना, कास्कीमा १ जना, सिन्धुपाल्चोक १ जना र डोटीमा १ जना गरी जम्मा ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना पुरुष र १ जना महिला छन् । बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जना र जाजरकोटमा ७ जना गरी १४ जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १० जना पुरुष र ४ जना महिला छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

साथै सिन्धुपाल्चोकमा ४ जना, डोटीमा २ जना, कास्कीमा १ जना र स्याङजा १ जना गरी जम्मा ८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ पुरुष र २ किशोरी रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवरलपरासी (पश्चिम) लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ । बाढीको कारण १ सय ६५ वटा घर डुबानमा परेका छन् । ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६२ वटा घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायको मृत्यु भएको छ ।

अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका छन् । उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्