सिन्धुपाल्चोकको बाढीले काभ्रेमा पनि असर, इन्द्रावतीमा फेला परेको शव सिन्धुपाल्चोकलाई हस्तान्तरण



मोतीराम तिमल्सिना, काभ्रे ।

सिन्धुपाल्चोकको मेलम्ची लगायतका स्थान बगाउने गरी आएको बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाका केहि स्थानमा क्षति पुगेको छ । सिन्धुपाल्चोकबाट बगाएर ल्याएका दुई शव मध्ये काभ्रेको प्रहरीले एकलाई सिन्धुपाल्चोक हस्तान्तारण गरेको छ भने अर्काे एक जनालाई उद्दार गर्न नसकेका कारण खोलाले बगाएर लगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी एवं प्रवक्ता हरि खतिवडाका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सिमानामा पर्ने सडक, स्थानीयहरुका खेत तथा बारीहरुमा क्षति पु-याएको छ । ‘हिगुवापाटी तथा सिमाना क्षेत्रमा स्थानीयहरुले लगाएका धान, मकै तथा अन्य बालीहरु नष्ट गरेको छ, मेलम्ची पुग्ने सडक पनि पानीको वहावले छिनालेको अवस्थामा छ’ –  प्रवक्ता डिएस्पी हरि खतिवडाले भन्नुभयो – ‘प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल सहितको सुरक्षा समितिको टोलीले उक्त स्थानहरुको अवलोकन गरी स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन सचेत गराएर फर्किएको छ ।’

बाढीका कारण दुरसञ्चारका सबै नेटवर्क अवरुद्ध छन् । विद्युत्त सेवा बन्द छ । स्थानीयहरुले आफन्तसँग सम्पर्क गर्न तथा भएको सूचना प्रवाह गर्न र कस्तो अवस्थामा रहेको जानकारी गराउन समेत सकिरहेका छैनन । सिन्धुपाल्चोकको घटनाबाट कति क्षति भयो भन्ने यकिन तथ्याङ्ग अझै प्राप्त हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको भुम्लु गाउँपालिका स्थित फलाँटेमा बगाउँदै आएको शवको उद्धार गर्न प्रहरीले गरेको प्रयास सफल हुन सकेन । हिगुवापाटीमा निर्वस्त्र फेला परेको शवलाई सिन्धुपाल्चोक प्रहरीलाई बुझाएको छ । शवको पहिचान गर्न कठिन भए पछि हातमा रहेको औठीका आधारमा पहिचान गर्न सहज हुने अपेक्षा सहित सिन्धुपाल्चोक हस्तान्तरण गरिएको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले बताउनु भयो ।

इन्द्रावती खोलामा सिन्धुपाल्चोकबाट बगाएर ल्याएका सर्वसाधारणका घरायसी सामानहरु देखिन थालेका छन् । ति सामाग्रीका कारण खोला फेरी थुनिन गई काभ्रेको सिपाघाट, हिगुवापाटी, फलाँटे, दोलालघाट तथा इन्द्रावती र सुनकोशी किनारमा हुन सक्ने सम्भावित जोखिमलाई प्रहरीले माईकिङ्ग मार्फत सचेत गराएको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रिले जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरलले जिल्लाका हरेक बस्तिहरुमा नागरिकहरुलाई सचेत रहन अनुरोध गरिएको छ । सम्र्पक विच्छेद भएका पालिकाहरुमा समेत प्रहरीको सेट मार्फत खवर गर्न र नागरिकहरुलाई सतर्क रहन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो । सिन्धुपाल्चोकमा गएको बाढीका कारण जिल्लाका विभिन्न स्थानमा हुन सक्ने क्षतिका बारेमा पुर्व तयारी तथा अन्य ब्यवस्थापनमा ध्यान दिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो ।

अलपत्र परेकाहरुको उद्धार

नेपाली सेनाले मेलम्चीबाट बाढीका कारण अलपत्र परेकाहरुको उद्धार गरेको छ । उद्धार गरी धुलिखेल अस्पताल ल्याई काठमाडौ पठाएको छ । साँझसम्म ७२ जनालाई हेलिकप्टर मार्फत धुलिखेल अस्पताल ल्याईएको थियो । ति मध्ये एक जनालाई अस्पतालको इमरजेन्सी विभागमा भर्ना गरी विएण्डवि रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्